बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल  ?

सोमबार, ०१ कात्तिक २०७८, ०९ : १५
सोमबार, ०१ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी  जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी  आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि बैंकले गत असोज २५ गते रु १३ अर्ब २५ करोड बराबरको ट्रेजरी  जारी गरेको थियो । 

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई  बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

के हो ट्रेजरी बिल ?

मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ ।

अठ्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको टे«जरी बिल केन्द्रीय बैंकले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी  बिल प्रचलनमा आएको देखिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप