शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वते ठिटोको सफलता : वेटरदेखि कफीघरको मालिकसम्म

आइतबार, ३१ असोज २०७८, ११ : ०१
आइतबार, ३१ असोज २०७८

एसएलसी पास गरेपछि सुनौलो भविष्यको कल्पनासहित पर्वतबाट २०६५ सालमा पोखरा झरेका थिए शोभित ठकुरी । पर्वते ठिटोलाई पोखरा नयाँ ठाउँ थिएन । गाउँमा मध्यम वर्गीय परिवारमा जन्मिएका उनलाई पढाइसँगै काम गर्नुपर्ने बाध्यता थियो ।

मामाघर पोखरामै भएकाले पहिले पनि उनी बेलाबखत आउने–जाने गर्थे । उच्च शिक्षाका लागि पोखरा झरेपछि उनलाई खान–लाउन त समस्या भएन तर, महिनैपिच्छे अभिभावकसँग कति पैसा मागिरहने भन्ने लागेर उनी जागिरको खोजीमा लागे ।

शोभितले एउटा रेस्टुरेन्टमा वेटरको जागिर पाए । त्यतिबेला वेटरको काम अहिलेको जस्तो थिएन । अवस्थाअनुसार भाँडा माझ्ने, ट्वाइलेट सफा गर्ने र ग्राहकको सेवा गर्ने कामसमेत भ्याउनु पर्थ्यो । महिनाभरि काम गर्दा खानलाउन मात्रै ठिक्क हुन्थ्यो ।

घरमा छोराले जागिर खाएकोमा बढ्दो आशसँगै शोभितको काँधमा जिम्मेवारी पनि थपिएको थियो । आफूलाई नपुग्ने तलबले परिवारको खुसी कसरी समेट्न सकिन्थ्यो ? त्यसैले शोभितलाई चिन्ताले पिरोलिरहन्थ्यो ।

उनले पोखराको सानो रेस्टुरेन्टको वेटरदेखि ठुला रेस्टुरेन्ट र  होटलमा वेटर हुँदै म्यानेजर पदमा रहेर काम गरे । फरक फिल्ड, फरक काम गर्न मन पराउने शोभितले होटल लाइनबाट पोखरा एयरपोर्टमासमेत आबद्ध रहेर ‘हेली एयर नेपाल’को म्यानेजरका रूपमा दुई वर्ष काम गर्ने अवसर पाए । तर, १० वर्षे जागिरे जीवनबाट उनलाई सन्तुष्टि मिल्न सकेन । कामको दौरान उनी केही समय त डिप्रेसनमै परे ।

व्यवसायपछि बदलिएको संसार

एक दशक लामो जागिरे जीवनले थकित रहेका शोभित सानो लगानीमा व्यावसायिक यात्राको खोजीमा भौँतारिँदै गर्दा कफीको व्यावसायिक यात्रामा जोडिन पुगे । जागिर नै होटल क्षेत्रमा भएकाले कफीको बारेमा जानकारी नै नभएको होइन । तर, दैनिकरुपमा कफी पिएपछि भने यसको महत्त्वका बारेमा थप जानकारी पाएको उनी बताउँछन् । उनी भन्छन्, ‘बेलुका हुने बित्तिकै मदिराको खोजीमा रेस्टुरेन्ट धाउने म अहिले परिवर्तन भएर व्यावसायिक यात्रामा छु । कफीले मेरो संसार बदलियो ।’

शोभितमा व्यवसाय गर्ने हुटहुटी पहिलेदेखि नै थियो । तर, लगानी जुटाउनुपर्ने समस्या पनि उत्तिकै थियो । अहिलेको जस्तो सहजै लगानी गर्ने वातावरण त्यतिबेला थिएन । ऋण–धन गरेर व्यवसाय सुरु गर्न पनि डर थियो । तर, पनि आफूले दुःख गरेर जम्मा गरेको सानोतिनो रकम र इष्टमित्रको सहयोगबाट उनले कफी व्यवसाय सुरु गरेका थिए ।

साथीसँग मिलेर गरेको व्यवसायमा घाटा भयो । त्यसपछि उनले सन् २०१९ मा करिब १२ लाखको लगानीमा कफी घर स्थापना गरे । कफी घर सञ्चालनमा आएसँगै कोभिडको महामारीले फेरि व्यवसायमा धक्का दियो । व्यवसायले राम्रैसँग लय समातिरहेका बेला लकडाउनका कारण व्यवसाय नै बन्द गर्नुपर्ने बाध्यता आइलाग्यो । बन्दाबन्दीले सबैजना घरमा थुनिएका बेला सधैँभरि कोरोनाले कति रोक्ला भन्दै उनले कफी घरलाई अझै वृहत् बनाउने योजना बनाए ।

लगानी बढाउँदै

शोभितले कफीलाई व्यावसायिकरुपमा अँगालेपछि यसका बारेमा धेरै अध्ययन गरेका छन् । सोही अनुरूप उनले कफी घरलाई नयाँ डिजाइन दिएका छन् । लकडाउनकै समय करिब एक करोड लागतमा पोखरा न्यूरोडमा कफी घरलाई फेरि नयाँ स्वरूप दिएका छन् ।

शोभितको कफी घर आकर्षक शैलीको छ । उनी भन्छन्, ‘कफी घरको बाहिरी आवरणसमेत नयाँ बनाउने प्रयत्न गरेको छु । न्यूरोड जस्तो ठाउँमा पुरानो घर खोजेर त्यसलाई नै कफी सपको रूपमा सञ्चालन गर्ने प्रयास गरिरहेको छु ।’

कफी घर पोखरा क्षेत्रकै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको उनको दाबी छ । कफी गार्डन, हल र इन्डोर, उत्कृष्ट सिटीङ्ग एरेन्जका साथ मस्त कफी पिउँदै पुस्तकहरू पढ्ने व्यवस्था र अफिसजस्तै काम गर्दै कफीको चुस्कीसँगै साथीभाइसँग गफिने व्यवस्था समेत मिलाइएको उनी बताउँछन् ।

उनले कफी घरको आफ्नै बेकरी फ्याक्ट्री सञ्चालन गरी सबै प्रकारका बेकरी प्रोडक्टलाई घरघरमा पु–याउने योजना बनाए । उनले बारिस्टा र बेकरी तालिम दिएर दक्ष जनशक्ति उत्पादनमा समेत जोड दिएको बताए । सम्पूर्ण कफीसपलाई आवश्यक पर्ने कफी बिन्स, मेसिन, सप इन्टरियर डिजाइन लगायतका सर्भिससमेत कफी घरबाट उपलब्ध गराइने व्यवस्था गरिएको उनको भनाइ छ । भविष्यमा आफ्ना लागि आवश्यक कफी आफैँ उत्पादन गर्ने योजनामा रहेको उनले बताए । उनले व्यावसायिक रूपमा कफी उत्पादन गरेर बजारीकरणमा लाग्ने योजना रहेको सुनाए ।

शोभितको कफी घरमा प्रायः सबै उमेर समूहका व्यक्तिको जमघट हुने गर्दछ । सीप सिकेर र बजारलाई बुझेर मात्र व्यवसाय गरेको अवस्थामा मात्र सफलता प्राप्त गर्न सकिने उनको ठम्याइ छ ।  उनी भन्छन्, ‘कफी घर अहिले सबैका लागि प्रिय बन्दै गएको छ । पोखराका प्रतिष्ठित व्यक्तिहरूको समेत जमघट हुने थलो बनेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप