शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय सदस्य छनोटप्रति माधव नेपालको पार्टीमा असन्तुष्टि

आइतबार, ३१ असोज २०७८, १० : ०८
आइतबार, ३१ असोज २०७८

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् ।

‘कुन विधि, कसको लागि, मापदण्ड एउटा पात्र छनोट अनेक खल्तीबाट आफू अनुकूल आफ्नो त्यो पनि निजी । सङ्कीर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने’, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले असन्तुष्टि जनाउँदै भनेका छन्, ‘अहिलेदेखि नै गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटीबाट असल/सकारात्मक  अभ्यास गर्ने नयाँ संकल्प चाहिँ भन्ने मात्रको नारा होला होइन कमरेड ?’ 

त्यस्तै उनले केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका नेताहरूलाई आफ्नै अनुहार हेर्न भनेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजवादी) केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका कमरेडले विधि/मापदण्डको मुहार र आफ्नो मुहार एकचोटी हेर्न अनुरोध गर्दछु’, पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएका छन् । ‘प्रचारमा युवा मैत्री तर पार्टी संरचना/व्यवहारमा शून्यता म, मेरो, निजीलाई प्राथमिकता । कुण्ठाले मात्र पार्टी संरचनाको नेता हुन्छु भन्ने कलिलो सोच नदेख्दा नै राम्रो हुन्छ,’ पराजुलीले भनेका छन् । 

सो पार्टीका महासचिव डा. बेदुराम भुसाललगायतका नेताको टोलीले निर्वाचन आयोगमा सनाखत गरेबाहेक दुई सय केन्द्रीय सदस्य थप गरेको हो ।  पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी विस्तार र नेताहरूको कार्य विभाजनमा नपरेकाहरूले असन्तुष्टि जनाएको आफूले पनि सुनेको भन्दै आगामी दिनमा त्यसलाई सच्याउँदै जाने बताए । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक र स्थायी समिति बैठकले गरेका निर्णयसहित केन्द्रीय कमिटी विस्तार र नेताहरूको कार्य विभाजनसहितको अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप