शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

विदेश मोह त्यागेर स्वदेशमै कालिज पालन

आइतबार, ३१ असोज २०७८, ०६ : २१
आइतबार, ३१ असोज २०७८

लामो समय विदेशमा बसेकाहरू नेपाल फर्केर अलि भिन्नै पेसा गर्न रुचाउँछन् । कतिपय आफ्नै पुर्खाले गरेको व्यापार गर्ने त कतिपयले अलि नयाँ ढङ्गले चलिरहेका व्यापार विस्तार गर्ने काम गरेको पाइन्छ । रुपन्देहीमा चाहिँ विदेशबाट फर्केपछि कृषि फर्मअन्तर्गत जमेर कालिज पालन व्यवसाय गर्नेहरू पनि भेटिन थालेका छन् ।

कालिज पालन आफैँमा नयाँ व्यवसाय हो । नेपालका जङ्गलहरूमा पाइने कालिजको  व्यावसायिक पालनका लागि सरकारले हालसम्म स्वीकृति दिएको छैन । स्वीकृति दिने अन्तिम चरणमा रहेको बताइन्छ । तर, पनि विदेशबाट आयात गरिएका विभिन्न प्रजातिका कालिजको व्यावसायिक पालन भने पछिल्लो समयमा फस्टाएको छ । दसैँमा कालिज पालक किसान उत्साहित देखिए । पछिल्ला वर्षमा दसैँ र जाडोको मौसममा कालिजका ग्राहक बढेको पाइन्छ । कालिजको कारोबार धेरै हुने समय नजिकिँदा व्यवसायीहरू उत्साही भएका हुन् । रुपन्देहीलगायत देशका विभिन्न स्थानमा व्यावसायिक रूपमा कालिज पालन गरिएको छ । दसैँपछिको मौसमलाई चिसो मौसमको रूपमा समेत लिने गरिन्छ । जाडो मौसममा मासु तथा सुपको रूपमा प्रयोग गर्न सकिने कालिज स्वास्थ्यका लागि समेत उत्तम मानिन्छ ।

दसैँपछिको मौसमका लागि पनि व्यवसायीहरूले कालिज अहिले हुर्काइरहेका छन् । कालिज पालन व्यवसायमा जमेका एक व्यवसायी हुन् बुटवलका बाबुराम श्रेष्ठ । उनी १८ वर्ष इटाली बसेपछि नेपाल फर्किएर कालिज पालन गर्दैछन् । सुरुमा उनले काठमाडौँमै कालिज पालन गरेका थिए । उनले नेपालमा व्यावसायिक रूपमा कालिज पालन गर्ने आफू नै पहिलो भएको दाबी गर्दछन् । अहिले बुटवलमा पनि उनले कालिज फर्म विस्तार गरेका छन् ।  

बुटवलका स्थायी बासिन्दा श्रेष्ठ बुटवल उपमहानगरपालिका वडा नम्बर १७ हरिहरपुरमा बस्न थालेका छन् । यहाँ उनले ४६ सय कालिज पालेका छन् । ती कालिजको पालनपोषण गर्नमै उनको दिन बित्छ । इटालीबाट ४ वर्ष पहिले फर्किएका उनले नेपालमै पहिलो पटक काठमाडौँमा व्यावसायिक रूपमा कालिज पालन गरेका थिए । त्यसपछि फ्रान्समा ९ महिना कालिजसम्बन्धी तालिम लिएर आएका उनले काठमाडौँमा वाइल्डलाईफ एग्रो प्रालि स्थापना गरेर व्यावसायिक कालिज पालन थाले ।

काठमाडौँको बसाइपछि उनले अहिले आफ्नै गृहनगर बुटवलमा व्यावसायिक कालिज पालन सुरु गरेका हुन् । उनले श्रीमती कविता श्रेष्ठको नाममा बाक्स वाईल्ड पार्क प्रालि, लुम्बिनी एबीआई क्लोनी एण्ड रिसर्च सेन्टर प्रालि नामक फर्म स्थापना गरी व्यावसायिक कालिज पालन सुरु गरेका हुन् ।

५१ वर्षीय श्रेष्ठले निकट भविष्यमा फर्मलाई अझ विस्तार गर्ने योजना बनाएका छन् । उनले भने, ‘फर्ममा भालेपोथी गरी ४६ सय बढी कालिज छन् । अब त्यसलाई विस्तार गर्ने सोचमा छु ।’

२०७८ साल वैशाख महिनामा सुरुवात भएको उनको फर्ममा अहिले रिङनेङ्ग मंगोलियन क्रस, अमेरिकन क्रस लगायतका कालिज पालन गरेका छन् । एक बिघा ५ कट्ठा क्षेत्रफल रहेको उनको फर्ममा जग्गाबाहेक चल्ला र संरचनामा करिब डेढ करोड बढी लगानी छ ।

श्रेष्ठले कालिजलाई चाहिने दाना आफ्नै सूत्रअनुसार लुम्बिनी दाना उद्योग प्रालिबाट उत्पादन गर्दै आएका छन् । चल्ला हालेपछि ५ महिनामा बिक्री गर्न सकिन्छ । एउटा भाले ५ महिनामा डेढ किलोसम्म हुने र यसलाई प्रतिभाले ३ हजार ५ सय रुपैयाँमा बिक्री गरिँदै आएको सञ्चालक श्रेष्ठको भनाइ छ । फर्ममा ४ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा करिब ५० भन्दा बढीले रोजगारी प्राप्त गरेका छन् ।

चल्ला उत्पादनका लागि हाल विभिन्न ह्याचरिङ्ग उद्योग प्रयोग गरेका उनले आफ्नै ह्याचिङ्ग ब्रुडर स्थापना गर्ने योजनासमेत बनाएका छन् ।

श्रेष्ठजस्तै बाग्लुङका सुरेश केसी ५ वर्ष कोरियामा बसे । उता अलिअलि कमाएको पैसा र केही सिप लिएर बुटवलमा व्यवसाय गर्न थालेका उनले मिलनचोकमा ‘आमाको भान्सा घर’ चलाएका छन् ।

उनले आमाको भान्सा घरसँगै बुटवल उपमहानगरपालिका–१९ रानीबारीमा कृषक एकीकृत वाइल्डलाइफ एण्ड एग्रो फर्म प्रालि सञ्चालन गरेका छन् । जहाँ विभिन्न जातका कालिज पालन गरिएको छ । केसीले अहिले आफ्नो फर्ममा ८ सय कालिज रहेको बताए ।

कालिज पालन आफैँमा रमाइलो पेसा भएको र मासु खानका लागि स्वास्थ्यकर हुने भएकाले आफू आकर्षित भएको उनले बताए ।

बुटवलका साथै अहिले सबैभन्दा बढी कालिजको माग काठमाडौँमा छ । एउटा पोथी कालिजले एक सिजनमा ४० देखि ६० वटा अण्डा पार्दछ भने अण्डा ह्याचरिङ्गका लागि राखेको २६ देखि २७ दिनमा चल्ला निस्कन्छ । 

दानाको माग पनि बढ्दो

कालिजको दाना उत्पादन बुटवलको लुम्बिनी एग्रो इन्डष्ट्री प्रालिले गर्दै आएको छ, जुन यस क्षेत्रको पुरानो कम्पनी मानिन्छ । यहाँ लामो समयदेखि कालिजको दाना उत्पादन हुँदै आएको छ ।

प्रालिका सञ्चालक भानु केसीले विगतमा भन्दा कालिजको दानाको माग धेरै हुने भएका कारणले एग्रो कम्पनीहरूले कालिजको दाना उत्पादनमा हात हालेको बताए । ‘हामीले अहिले पनि देशमा ४५ जिल्लामा कालिजको दाना पठाउने काम गरेका छौँ’, उनले  भने, ‘दाना उत्पादन गर्दा रुपन्देहीबाहेक विभिन्न ठाउँबाट माग आउने  गरेको छ । सोहीअनुसार नै हामीले पनि उत्पादन गर्नु परेको छ ।’

रुपन्देही आसपासमा पनि धेरै कालिज फर्म खुलेको उनको भनाइ छ । खास गरी विदेश बसेका, अलि बुझेका र यहाँ पनि व्यावसायिक कृषि फर्मको अनुभव भएकाहरूले कालिज पालन गरेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप