शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

शनिबार, ३० असोज २०७८, २१ : ३६
शनिबार, ३० असोज २०७८

नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म स्कोर गोलरहित बराबरीमा रहेको छ ।

आजको खेलमा वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाइरहे पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् । पहिलो हाफमा नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाए । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रो प्रदर्शन गरिरहेका छन् ।

नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ । तर यसपटक प्रतियोगितामा भारतले निकै खराब सुरुवात गरेको थियो । पहिलो खेलमा १० खेलाडीमा सीमित बंगलादेशसँग १–१ को बराबरी खेलेको भारत दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकियो । प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको भारतले त्यसपछि भने नेपाल र माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनायो । सन् २००३ बाहेक भारत सधैँ प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतका लागि कप्तान सुनिल क्षेत्रीले प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका छन् ।

हेड टु हेड रेकर्डमा पल्ला भारतकै पक्षमा देखिन्छ । दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको छ भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको छ । ५ खेल बराबरीमा सकिएका छन् । तर, यो प्रतियोगितामा नेपालले ६ गोल गरिसकेको छ भने भारतले मात्र ५ गोल गर्न सकेको छ । आजको खेलमा भारतका लागि अञ्जन विष्ट, सुमन लामा, आयुष घलान र मनिस डांगी टाउको दुखाई बन्न सक्छन् । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो । आजको खेल जिते नेपालले नयाँ इतिहास रच्ने छ भने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको सुखद् बिदाइ हुनेछ । अलमुताइरीले फाइनल नै नेपालका लागि उनको अन्तिम खेल हुने बताइसकेका छन् । बंगलादेशको खेलपछि उनले नेपाल नफर्कने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप