शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

शनिबार, ३० असोज २०७८, १६ : ०३
शनिबार, ३० असोज २०७८

धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो । 

कालोपत्रका लागि खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का सम्झौता लिएको जनाइएको छ । धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा माथिसम्मको १३.४ किलोमिटर सडक कालोपत्र गर्नका लागि काम सुरु भएको धनगढी–दिपायल द्रुत मार्ग सडक आयोजना कार्यालयले जनाएको छ ।

धनगढी–दिपायल द्रुत मार्ग आयोजना कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार चालु आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता भएको छ । स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नालीसमेत निर्माण भइरहेको उनको भनाइ छ । 
ठेक्का सम्झौताअनुसार ३० महिनामा सो सडक खण्ड कालोपत्र गरिसक्ने भन्नेछ । सडकको नाली बनाउने काम सुरु गरिएको बताउँदै ठेकेदार कम्पनीका इन्जिनियर सचिन थापाले भने, “अब सडक निर्माणले तीव्र गति पाउनेछ ।  २०६४ सालमा खुटिया–दिपायल द्रुत मार्गको औपचारिक रुपमा सर्भे गरी ट्र्याक खोल्ने काम भएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भेको बताउँदै आयोजनाका सबइन्जिनियर रानाले स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुत मार्ग बनाउने निर्णय भएको बताए ।

सडकको कूल चौडाइमध्ये नौ किलोमिटरमा ग्राभेल हुनेछ भने त्यसमध्ये पनि ५.५ मिटरमा कालोपत्र गरिने जनाइएको छ । १३.४ किलोमिटर सडकमा तीनवटा कल्भर्ट निर्माण गरिनाका साथै १६ वटा ह्युमपाइप राखिने ठेकेदार कम्पनीका इन्जिनियर थापाले जानकारी दिए ।

आयोजना कार्यालयका अनुसार डोटी खण्डमा ट्र्याक खोल्ने काम सकिएको छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्र्याक खोल्न बाँकी रहेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहिलो मन्त्रिपरिषद्को बैठकले धनगढी–दिपायल द्रुतमार्ग, सेती लोकमार्ग र महाकाली करिडोरलाई सामरिक महत्वका सडक भन्दै तीनैलाई निर्माणको प्राथमिकतामा राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप