बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोल्यान समूह हाँक्ने तरखरमा तेस्रो पुस्ताका अक्षय

शनिबार, ३० असोज २०७८, १४ : २६
शनिबार, ३० असोज २०७८

नेपालमा गोल्यान समूहले आफ्नो व्यवसायको जग हालेको करिब ६० वर्ष भइसक्यो । टेक्सटायल (कपडा उद्योग) बाट व्यवसाय थालेको यो समूहको व्यवसाय जग रियलान्यस स्पिनिङ मिल्स हो । अहिले ऊर्जा, कृषि, बैंक/वित्त, घरजग्गा र आतिथ्यता (हस्पिटालिटी) क्षेत्रसम्म गोल्यान समूहले लगानी विस्तार गरिसकेको छ । 

सोहनलाल गोल्यानले जग हालेको गोल्यान समूहलाई पवन गोल्यानले साम्राज्यका रूपमा विस्तार गरेका हुन् । उनका छोरा अक्षय गोल्यानले हाल प्रबन्ध निर्देशकको भूमिकामा रहेर समूहलाई अघि बढाउँदैछन् । गोल्यान समूहको श्रीवृद्धि जिम्मेवारी अहिले सोहनलालका नाती अक्षय गोल्यानको काँधमा आइपुगेको हो ।

विदेशमा उच्च शिक्षा

वि.सं. २०४५ सालमा जन्मिएका अक्षय गोल्यानले लिंकन स्कूलबाट ‘प्लस टू’ उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षा पढ्न अमेरिकाको विश्वविद्यालयतर्फ हानिए । तर, उनले त्यहाँ खासै शैक्षिक उन्नयन गर्न सकेनन् । दुई वर्ष अमेरिका बसेपछि संयुक्त अरब इमिरेट्स (यूएई) स्थित दुबईको एक विश्वविद्यालयमा ट्रान्सफर भए । सन् २०११ मा अण्डरग्य्राजुयट ब्याचलर गर्दा ‘उत्कृष्ट पाँच’ मै परे ।

त्यसपछि केही समय बस्नेगरी नेपाल फर्किएका उनी गोल्यान समूहले बालकुमारीमा सञ्चालन गरिरहेको रियलस्टेट परियोजनामा सामेल भए । एक वर्ष नेपाल बसेपछि विजनेश स्टडिजमा स्नातकोत्तर गर्न स्पेनको बार्सिलोना गए । त्यहाँ दुई वर्षको पढाइ सकेर सन् २०१७ को अन्त्यतिर नेपाल फर्किए ।

रिलायन्सबाट करियर सुरु

नेपाल फर्किएदेखि उनी आफ्नै बाबुबाजेले सुरु गरेको गोल्यान समूहमा संलग्न भए । उनी सन् २०१७ मा रिलायन्स स्पिनिङ मिल्समा जोडिए ।

अक्षय भन्छन्, ‘काम सुरु गर्न केही ज्ञान थिएन । उद्योग कसरी चल्छ, कसरी सामान उत्पादन हुन्छ भन्ने पनि थाहा थिएन ।’ त्यसैले उनले रिलायन्स स्पिनिङ मिल्समा धागो बन्ने र प्रशोधन हुने तरिका तथा बजार लगायतबारे बुझ्न एक वर्ष अध्ययन गरे ।

त्यसक्रमममा गोल्यानले स्वदेशी र विदेशी बजारमा भ्रमण गरे । रिलायन्स मिल्समा आफ्नो करियर सुरु गर्दै गर्दा भारत र टर्कीसम्म पुगेर बजारबारे बुझे । धागो उत्पादन प्रक्रियादेखि बजारसम्मको ज्ञान लिएपछि सन् २०१८ मा रियलायन्सको सम्पूर्ण जिम्मेवारी उनैले लिए ।

रियलायन्सको जिम्मेवारी लिएपछि उद्योगमा धेरै सुधार गरे । सोही वर्ष सरकारले कर्मचारीको न्यूनतम तलब वृद्धि ग¥यो । जसकारण, उद्योगको खर्च २० करोड रुपैयाँसम्म बढ्यो । त्यसलाई पनि विस्तारै अक्षयले समाधान गर्दै लगे । गत आर्थिक वर्ष २०७७/७८ मा उद्योगले नेपालबाट करिब ८ अर्ब रुपैयाँ बराबरको धागो निकासी ग¥यो ।

हाल उद्योगले आफ्नो उत्पादन प्लान्ट ७ वटा पु¥याएको छ । १ अर्ब ४० करोड रुपैयाँ लगानी गरी खोलिएको नयाँ प्लान्ट पूर्ण स्वचालित उद्योग हो । उद्योग सुविधासम्पन्न छ । त्यहाँ काम गर्ने कर्मचारी र कामदारको सुविधा निम्ति एयर कन्डिसनर समेत जडान गरिएको छ । 

रिलायन्सलले २०७९ सालको साउनभित्र आफ्नो ८ औं प्लान्ट स्थापना गर्ने लक्ष्य राखेको छ । १ अर्ब ८० करोड रुपैयाँ लगानीमा खुल्ने उक्त प्लान्टले दैनिक २५ टन धागो उत्पादन गर्नेछ । उत्पादितमध्ये अधिकांश धागो विदेशतर्फ निकासी हुने अक्षयले बताए ।

भन्छन्, ‘मैले रिलायन्सको जिम्मेवारी सम्हाल्दा उद्योगले तेस्रो मुलुकमा निकासी नै गर्दैनथ्यो । गरेपनि थोरै र कम मात्रामा गथ्र्यो ।’ 

उद्योगको जिम्मेवारी सम्हाले लगत्तै उनले आफ्नै शैलीमा काम अघि बढाए । उद्योगबारे बुझ्दै गर्दादेखि जिम्मेवारी लिएसम्ममा उनी ५ पटकसम्म टर्की भ्रमण गर्न गए र त्यहाँका धागो खरिदकर्तासँग निरन्तर भेटघाट गरे । जसको परिणाम अहिले देखिन थालेको छ ।

विदेशमा सैद्धान्तिक, नेपालमा व्यवहारिक ज्ञान

विदेशका प्रख्यात विश्वविद्यालयमा आर्जन गरेको व्यवसायिक क्षेत्रसम्बन्धी ज्ञान अक्षयले यतिबेला नेपालमा प्रयोग गरिहेका छन् । भन्छन्, ‘विदेशी विद्यालयमा हुने पढाइ एकदमै माथिल्लो तहको हुन्छ । काम गर्ने नयाँ–नयाँ तरिका सिकिन्छ । पढाइमा एकदमै मेहनेत गर्नुपर्छ ।’ तर, पढाइ र गराइमा हुने फरक भने नेपाल आएपछि नै उनलाई थाहा भयो ।

विदेशमा पढेको सैद्धान्तिक ज्ञान नेपालजस्तो विकासशील मुलुकमा लागू नहुन पनि सक्छ । पश्चिमा मुलुक र नेपालको काम गर्ने शैली पूरै फरक छ । व्यवहारिक रूपमा सहयोगी नभएपनि सैद्धान्तिक रूपमा लिएको ज्ञानको केही हिस्सा लागू गर्दा पनि सफलता हासिल गर्न सकिने अक्षयको अनुुभव छ । 

पढाइ सकेपछि गोल्यानलाई स्पेनकै एउटा रियलस्टेट कम्पनीले राम्रो जागिरको आफर गरेको थियो । तर, त्यो अफरलाई छाडेर आफ्नै देशमा बाबु/बाजेले सुरु गरेको व्यवसायिक साम्राज्य सम्हाल्न नेपाल आएको उनी बताउँछन् । भन्छन्, ‘मलाई नेपाल आउनभन्दा उतै बस्न मन थियो । तर, बुबा (पवन गोल्यान) को सुझावमा नेपाल आएर रिलायन्स मिल्सको जिम्मेवारी सम्हालेँ ।’

समूहको सम्पूर्ण जिम्मेवारी 

सन् २०१८ देखि रिलायन्सको जिम्मेवारी सम्हालेका अक्षयले अहिले सिंगो गोल्यान समूहको जिम्मेवारी हेर्न थालेका छन् । उनी अहिले प्रबन्ध निर्देशकका रूपमा समूहका सबै क्षेत्र सम्हाल्न थालेका छन् । गोल्यान समूहको उत्पादनमूलक उद्योग, बैंक/वित्त, उर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा लगानी गरिरहेको छ । यी सबै क्षेत्र अहिले अक्षयले नै हेर्छन् । यी उद्योगसँग सम्बन्धित ठूला निर्णय गर्न भने समूहका अध्यक्ष पवन गोल्यान आफैँ गर्छन् 

नयाँ कामको थालनी गर्न लाग्दा समूहको बोर्ड सदस्यहरूको बैठक हुन्छ । यसबाहेक दैनिक रूपमा हुने सम्पूर्ण गतिविधि सञ्चालन गर्ने जिम्मेवारी अक्षयको काँधमा आइसकेको छ । उनले कम्पनीको स्थिति, नाफा/घाटा र भावी योजना तथा कर्मचारी परिचालन समेत गर्छन् ।

भावी योजना

गोल्यान समूह अहिले कृषि र पर्यटन क्षेत्रमा लगानी सुरु गरेको छ । यो बाहेक अन्य क्षेत्रमा लगानी गर्ने योजना समूहले बनाएको छैन । एउटा समूहले धेरै वटा व्यवसायमा हात हाल्दा त्यसलाई व्यवस्थापन गर्न समस्या हुने अक्षयको भनाइ छ । त्यसैले अहिले चलिरहेका कम्पनीहरूलाई थप व्यवस्थित रूपमा अघि बढाउने र त्यसैमा उत्कृष्ट गर्ने योजना रहेको अक्षयले सुनाए । बरु, उत्पादनमूलक क्षेत्रमै थप नयाँ उद्योग स्थापना गर्ने योजना समूहले बनाएको छ ।

यस्तै, कुलेश्वर–टेकुको बीचमा १५० वटा इकाइ रहने रेसिडेन्सियल अपार्टमेन्ट बनाउँदैछ । करिब ४ अर्ब रुपैयाँ लगानीमा ८ रोपनी क्षेत्रमा बन्ने उक्त परियोजना निर्माण अबको ४ महिनापछि थालिनेछ । यसैगरी, अबको केही समयमा कपास खेती गर्ने योजना समेत समूहले तय गरेको छ ।

समूहले व्यवसायिक खेतीसम्बन्धी नयाँ योजनाहरू समेत अगाडी बढाउँदैछ । ‘माटो’ नामक कृषि सामाग्री उत्पादन र बजारीकरण गर्दै आएको समूहले यसलाई थप विस्तार गर्ने योजना बनाएको छ ।

उत्पादनमूलक उद्योगमा रमाएको समूह

नेपालका व्यवसायिक समूहमध्ये गोल्यान समूह मात्रै विदेशबाट सामान आयात  र व्यापार नगर्नेमा पर्छ । अहिलेसम्म गोल्यान समूहले विदेशी सामान आयात गरेर बिक्री/वितरण गरेको छैन । न त यो समूह विदेशी कम्पनीको डिलर नै बनेको छ । यही यात्रालाई भावी दिनसम्म लैजाने समूहको योजना छ । 

‘हामीले अहिलेसम्म कुनै पनि विदेशी कम्पनीको उत्पादन बिक्री वितरण गरेका छैनौँ । यसको अर्थ हामीले अहिलेसम्म विदेशी सामानको व्यापार गरिरहेका छैनौँ र आगामी दिनमा पनि यस्तो हुनेछैन,’ अक्षयले भने ।

अक्षयको फरक शैली

सबै उद्योगको साना–साना काम पवन गोल्यान आफैँले पनि गर्छन् । साना–साना निर्णय लगायत सबै काममा आफैँ संलग्न हुन्छन् । आफूले भने त्यसो गर्न नभ्याउने अक्षयको भनाइ छ । धेरै कम्पनीलाई आफैँले व्यवस्थापन गर्न गाह्रो हुने भएकाले आफूले माथिबाट ती कम्पनीहरूलाई हेर्ने अक्षय बताउँछन् । कम्पनीमा आउने समस्या समाधानतर्फ, नाफाको योजना र नाफा/घाटाको अवस्था समीक्षा आफूले गर्ने उनले जानकारी दिए ।

यसो गर्दा कम्पनीको टीममाथि पनि विश्वास बढ्ने र उनीहरूले राम्रो प्रतिफल दिन आफ्नो शतप्रतिशत क्षमता लगाउने अक्षयको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप