बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको चुरेमा पहिरो : बस्ती जोखिममा, विकास निर्माणमा पनि असर

शनिबार, ३० असोज २०७८, ११ : ०८
शनिबार, ३० असोज २०७८

बुटवल । गत भदौ १३ गते बुटवल उपहानगरपालिका–३, ज्योतिनगर बस्ने रमा पुन घरायसी काममा व्यस्त थिइन् । रातभर पानी परेको थियो । तर, खासै डर थिएन उनलाई । अचानक लेदोसहितको भेल आउन थाल्यो । सुरुमा सानो भेल भए पनि बिस्तारै बढ्दै जाँदा ठुला ठुला ढुङ्गा बगाउँदै ल्याउन थाल्यो अनि छिमेकीहरू पनि हल्लाखल्ला गर्न थाले ।

जब बिहान ९ बज्न थाल्यो, तब चुरे पहाडबाट ठुला ठुला ढुङ्गासहित पहिरो आयो । हतार–हतार गरेर बच्चाहरू समातेर उनी तल बुटवल बहुमुखी क्याम्पसतिर लागिन् । त्यतिबेलासम्म ज्योतिनगरका एक दर्जनभन्दा धेरै बासिन्दा क्याम्पसको प्राङ्गणमा आएर बसेका थिए । त्यसदिन पहिरोले ज्योतिनगर क्षेत्रमा दुई दर्जनजति घरपरिवार विस्थापित भए । त्यसपछि पनि वर्षा हुँदा यहाँ पटक पटक पहिरो खसेर क्षति पु–याइरहेको छ ।

प्रायः दिउँसोकै समयमा पहिरो गएका कारण मानवीय क्षतिचाहिँ नभएको स्थानीय जनप्रतिनिधि चिनबहादुर गुरुङ बताउँछन् । बुटवलको यही ठाउँमा २०५५ सालमा पहिरो गएको थियो । त्यसबेला ५७ घरमा क्षति पुगेको थियो । २३ वर्षपछि फेरि अहिले पहिरो खस्न थालेको हो ।

स्थानीयहरूलाई पहिरोले दिएको दुःख छँदैछ, सरकारी निकाय र निजी कम्पनीहरुले बनाउन थालेका संरचनाको भविष्य के होला भन्ने चिन्ता र चासोले पनि धेरैलाई सताएको छ । बुटवलमा चुरेको पहिरोले बस्ती नै सार्नुपर्ने हो या होइन भन्ने यकिन अझै भएको छैन ।

सोही ठाउँमा बुटवल उपमहानगरपालिकाले निर्माण गरेको बुटवलका हिलपार्क विशाल बुद्धको मूर्ति निर्माणको काम रोक्नुपर्ने सुझाव भूगोलसम्बन्धी जानकारहरूले दिएका छन् । जानकारहरूले चुरे पहाड नजिकै यस्ता संरचना निर्माण गर्दा जोखिम रहने भएकोले यहाँभन्दा अन्यत्र बनाउन उचित हुने उनीहरूको सुझाव छ ।

बुटवल बहुमुखी क्याम्पसका भूगोलशास्त्रका प्राध्यापक डा. भोजराज कडेरियाले  बुटवलको हिलपार्कमा नगरपालिकाले बनाउन थालेको बुद्धमूर्ति र केबलकार प्राविधिक रूपमा यहाँ राख्न उपयुक्त नभएको बताए । राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका कार्यक्रम कार्यान्वयन एकाइ (बुटवल) का प्रमुख अजय कार्कीले पनि चुरे क्षेत्रमा बनाउन लागिएका संरचनाका काम रोक्न सरकारलाई आफूहरूले सुझाव दिएको बताए ।

बुटवल क्षेत्रको चुरे भौगोलिक रूपमा धेरै कमजोर देखिएकाले यहाँ बन्ने पूर्वाधार धान्न नसक्ने बताए । उनले रातोपाटीसँग भने, ‘हामीले जोखिम छ भनेका छौँ, पूरक ईआइए नगर्दासम्म बनाउन हुँदैन भनेका छौँ, त्यो प्रतिवेदन पनि लेख्ने छौँ ।’

कयौँ परियोजना अन्योलमा

बुटवल ज्योतिनगरको पहिरो खसेको क्षेत्र नजिकै केबलकार निर्माण हुन लागेको छ । लुम्बिनी केबलकार प्रालिले बनाउन लागेको केबलकार गत फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य सामारोहबीच शिलान्यास गरेका थिए ।

चुरे क्षेत्रमै पर्ने बुटवलको हिलपार्कमा विशाल बुद्ध मूर्ति बनाउने गरी बुटवल उपमहानगरपालिकाले योजना अघि सारेको छ । त्यसको काम पनि सुरु भएको छ । हिलपार्क र ज्योतिनगर एउटै रेन्जमा पर्छ । जोखिम मानिएको चुरे क्षेत्रका यी दुई संरचना विस्तारका काम अघि बढाउने कि नयाँ ढङ्गले सोच्ने भन्ने अझै निर्णय नभएको बुटवल नगरपालिका योजना महाशाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए ।

बुद्ध पार्कमा ४० किलोमिटर टाढाबाट पनि देख्न सकिने गरी बुद्धको ठुलो मूर्ति र पार्क बनाउन १ अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान छ । उता लुम्बिनी केबलकार प्रालिले बुटवल–३, बमघाटबाट माथि वसन्तपुर डाँडासम्म पुग्ने गरी केबलकार बनाउन लागेको हो ।

यहाँ तीन किलोमिटर केबलकार यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा–सम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना निर्माण गर्ने तयारी छ । तर केबलकार निर्माणमा हालै खसेको चुरेको पहिरोले चुनौती थपिदिएको भए पनि  कम्पनी सञ्चालकहरू खतरा नभएको दाबी गर्दछन् ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका कार्यक्रम कार्यान्वयन एकाइ (बुटवल) का प्रमुख अजय कार्कीले युरोपियनको एउटा ठुलो विज्ञको टोलीले अध्ययन गरेकोले त्यसको रिपोर्ट नआउँदासम्म निर्माणको काम रोक्न मुख्यमन्त्रीलाई आफूले सुझाव दिएको बताए ।

बुटवलमाथिको चुरेको पहिरो सम्बन्धमा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बन्धित मन्त्रालयका सचिव, राष्ट्रपति चुरे समितिका प्रतिनिधि, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधि, पहिरोपीडित स्थानीयलगायत सरोकारवालासँग छलफल गरेको सरकार प्रवक्ता एवं मन्त्री कृष्णध्वज खड्काले बताए ।

लुम्बिनी केबलकारका लगानीकर्ता तथा बुटवल–५ का वडाध्यक्ष तेजबहादुर सुनारले भने वातावरणीय अध्ययन पटक पटक भएकाले केबलकार निर्माणले कुनै असर नपर्ने दाबी गरेका छन् । उनले पहिरो भएको क्षेत्र केबलकार निर्माण पहाड अलग अलग भएको र त्यसले असर नपर्ने बताए । उनले चार/पाँच पटक अध्ययन गरेर स्वीकृति पाएको भन्दै पहिरो जाने ठाउँमा टावर नराख्ने योजना रहेको बताए ।

सरकारलाई दबाब  

बुटवलको ज्योतिनगर क्षेत्रमा २३ वर्षपछि फेरि अहिले खसेको पहिरोले धेरैलाई चिन्ता बढाएको छ । त्यस क्षेत्रमा बस्ने ३ सयभन्दा धेरै घरपरिवारको व्यवस्थापनमा चुनौती थपिएको छ ।

दलहरूले स्थानीय, प्रदेश र संघीय सरकारसँग पहिरो रोक्नका लागि माग गरेका छन् । सत्ता पक्ष र विपक्षी दल एमाले समेत यो मुद्दामा एकजुट भएर अगाडि बढेका छन् ।

नेपाली काँग्रेस बुटवल नगर समितिले हालै प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन पत्र बुझाएको छ । बुटवलका नगर सभापति खेलराज पाण्डे नेतृत्वमा गएको टोलीले बुटवलको चुरे क्षेत्रमा पटक पटक पहिरोले दुःख दिएको स्मरण गराउँदै दीर्घकालीन रूपमा पहिरो रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै एमाले उपमहासविच विष्णु पौडेलसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी बुटवलको पहिरो रोक्नका लागि पहल गर्न आग्रह गरेका छन् । टोलीमा बुटवलका थुप्रै एमाले नेता थिए । उनीहरुले स्थानीय र प्रदेश सरकारले मात्र चाहेर बुटवलको पहिरो रोक्न नसक्ने भएकोले संघीय सरकारबाट पनि तत्काल पहल गर्न माग गरेका थिए ।

स्मरणीय के छ भने २०५५ सालमा बुटवलका गएको पहिरोबाट ५७ घरमा क्षति पुगेको थियो । त्यो बेला नेपाली काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अनुगमन गर्न आएका थिए ।

यसो भन्छन् भूगोलविद्

बुटवल बहुमुखी क्याम्पसका भूगोल शास्त्रका प्राध्यापक डा. भोजराज कडेरियाका   अनुसार बुटवलको चुरे पहाडमा पटक पटक पहिरो जानुको कारण माटो कमजोर हुनु नै हो ।

प्राकृतिक रूपमा माटो खुकुलो भएको ठाउँमा पानी पसेपछि खलबलिन्छ । नेपालका चुरेलाई कान्छो पहाड मानिन्छ । यस्ता संरचना स्वाभाविक रूपमा कमजोर हुन्छन् ।

अर्कोतर २०७२ सालमा आएको भूकम्पले बुटवल बहुमुखी क्याम्पसको पर्खालसमेत भत्काएको थियो । त्यो क्याम्पसभन्दा माथि रहेको ज्योतिनगर र लक्ष्मी नगरमा पनि भूकम्पले जमिन नराम्ररी हल्लाएको र त्यसकै असरले अहिले पानी बढी परेको बेला पहिरो गएको हुन सक्ने उनले बताए ।

ओलीले शिलान्यास गरेको केबलकार अनि हिलपार्कमा नगरपालिकाले बनाउन थालेको बुद्धमूर्ति उपयुक्त ठाउँमा निर्माण भइरहेको छैन भन्ने आफ्नो बुझाइ रहेको उनले रातोपाटीलाई बताए । ‘यी दुवै जोखिमयुक्त ठाउँमा निर्माण हुँदैछन् । चुरे पहाडको पहिरोले जहिले पनि त्यसलाई असर पार्न सक्छ,’ उनले भने, ‘त्यसलाई प्राविधिकहरूले बुझाउन सक्नुपर्छ । अन्यथा त्यसको क्षति ठुलो हुन पनि सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप