शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रह्मायणी जात्राको रौनक, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २९ असोज २०७८, ०८ : १८
शुक्रबार, २९ असोज २०७८

विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रह्मायणी जात्रामा सहभागी हुन भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा पुग्ने गर्दछन्। नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा टीकाको दिन नवदुर्गा प्रकट हुने जनविश्वास छ।

व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास छ। गठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई नवमीका रातदेखि नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्‍याएर वध गरेपछि रातिदेखि नै यो जात्रा सुरु हुन्छ।

वध गरिएको खःमेय् राँगोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लाग्छ। सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बालिन्छ। लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप