कोब्राले टोकाएर श्रीमतीको हत्या
सर्पले टोकाएर आफ्नी श्रीमतीको हत्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरो आजीवन कारावासको सजाय तोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति विषालु सर्पले टोकाएका थिए । न्यायाधीशहरुले यस अपराधलाई ‘दुर्लभमध्येको दुर्लभ अपराध’ भनेर चित्रण गरेका छन् ।
सुरजले पहिले उत्तरा भए ठाउँ अति विषालु सर्प रसल्स भाइपर राखिदिएका थिए, जसको टोकाइको कारण झन्डै दुई महिनासम्म उत्तराले अस्पतालमा बिताउनुप–यो । बल्ल निको भएर उनी माइतीघरमा आराम गर्दै थिइन् । यही बेला सुरजले सर्प पाल्ने एक व्यक्तिमार्फत कोब्रा सर्प मगाए । त्यसपछि सुतिरहेकी श्रीमतीमाथि उक्त कोब्रा फाले । कोब्राले टोकेपछि मे २०२० मा २५ वर्षीया यी महिलाको मृत्यु भयो । यही अभियोगमा केरलाको कोल्लाम जिल्लास्थित अदालतले सुरजलाई सोमबार दोषी ठहर गरेको हो ।
उत्तराका आमा–बाबुले नै ज्वाइँप्रति शंका व्यक्त गरेपछि गत वर्ष हत्या आरोपमा प्रहरीले सुरजलाई उनकै घरबाट पक्राउ गरेको थियो । आफ्नी छोरीलाई थप दाईजोका लागि यातना दिएको बाबुआमाको आरोप थियो । बाबुआमाका अनुसार सुरजले श्रीमतीको हत्या गरेर उनको सम्पत्तिमाथि कब्जा जमाउन खोजेका थिए ।
सुनियोजित षड्यन्त्र
सुरजले हत्या आरोपमा आफ्नो संलग्नता नरहेको बताएका थिए । तर फोन रेकर्ड हेर्दा उनी सर्प पाल्ने व्यक्तिसँग सम्पर्कमा रहेको र हत्याअघि धेरै पटक इन्टरनेटमा उनले सर्प सम्बन्धी भिडियोहरू हेरेको प्रहरी छानबिनका क्रममा भेटिएको छ । कोब्राले श्रीमतीलाई टोकेपछि पनि सुरज उनीसँगै कोठामा थिए । तर, अर्को दिन उनी नियमित काममा गएका थिए । ‘यो हत्या सुनियोजित देखिन्छ । यो अति दुर्लभ प्रकरण हो,’ मृत्युदण्डको सजाय माग गरेका एक अभिवक्ताले भने । उत्तराको माइती निकै सम्पन्न परिवार हो । उनका श्रीमान् भने बैंकमा सामान्य काम गर्दथे । उनीहरू विवाहमा ठुलो दाइजो दिइएको थियो । जसमा एउटा कार र ५ लाख भारु समावेश छ । मिडिया रिपोर्टस्अनुसार उत्तराको हत्यापछि उनीका केही सुनका गहनाहरू सुरजको घर नजिकै गाडिएको अवस्थामा भेटिएको थियो । जस कारण, सुरजको परिवारमाथि शंका अझै बढ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै