सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

उहिलेको दसैँ र अहिलेको दसैँ !

पैसा दिने चलन थिएन : प्रा.डा. माधव भट्टराई
शुक्रबार, २९ असोज २०७८, ०७ : ३७
शुक्रबार, २९ असोज २०७८

नेपालका मौलिक पर्व, परम्परा र चाडहरुका विषयमा जति प्रचार प्रसार हुनुपर्ने हो, त्यति भएको छैन । दसैँ, तिहार होस् वा इन्द्रजात्रा, यी पर्वहरुको इतिहास हजारौं वर्षको छ । त्यसैले उचित प्रचार गर्न सके, पर्यटक बढ्छन्, आर्थिकरुपमा पनि फाइदै हुन्छ । 

हरेक पर्वको आफ्नै महत्व छ । जस्तो– इन्द्रजात्रा पर्वमा नालाबाट ३६ हातको सोझो लिंगो काटेर ल्याइन्छ । त्यसका लागि तान्त्रिक प्रक्रिया पूरा गरेर बोको जंगलमा छोडिएको हुन्छ । बोकोले जहाँ चिनो लगाउँछ, त्यहीँ ३६ हातको सोझो रुख काटिन्छ ।

रातो मछिन्द्रनाथको पर्व नेपालका सबैभन्दा गरिब, सबैभन्दा धनी, सबैभन्दा तल्लो तप्का र सबैभन्दा माथिल्लो तप्काको मानिस सहभागी हुने पर्व हो । भोटो हेर्न सबै जानुपर्छ । कुन बेलामा महिलाहरुले तान्ने, कुन बेलामा कुन जातिले तान्ने, कुन बेलामा किर्तिपुरकाले तान्ने, कुन बेलामा पाटनकोले तान्ने  भनेर स्पष्ट गरिएको छ । तर, यस्ता मौलिक सम्पदाको हामीले प्रचार गर्न सकेका छैनौं । 

तिहारकै हकमा कागदेखि कुकुरसम्मको पूजा हुने गर्दछ । यस्तो समावेशी पर्व सायदै दुनियाँमा होला । त्यतिबेला  पर्वतको पनि पूजा हुन्छ । गाईको पनि पुजा हुन्छ, गोरुको पूजा हुन्छ । हली तिहार पनि छ (त्यो दिन हलीले काम गर्नुपर्दैन) । यमराजको पूजा हुन्छ । लक्ष्मीको पूजा हुन्छ । 
यस्ता समावेशी पर्वको महत्वबारे हामीले विद्यार्थीहरुलाई सानैदेखि बुझाउनुपर्छ । नम्बर ल्याउनका लागि पनि राम्ररी पढ्छन् । अनिवार्य पढ्ने अवसर पाएपछि विदेशीमा जाँदा उनीहरुले हामीसँग यस्ता पर्व छन् भनेर सगौरव भन्छ सक्छन् । 

दसैँको महत्व 

दसैँ अन्यायमाथि न्यायको विजय भएको पर्व हो । मार्कण्डेय पुराणभित्रको दुर्गास्तुती अनुसार तत्कालीन समयका सारा घटना अहिलेको काभ्रे, सिन्धुली, रामेछाप र दोलखामै घटित भएको देखिन्छ । दुम्जाको तल सुनकोशी तटमा रहेको कुशेश्वर महादेवको मन्दिर नजिक दुर्गा माताको उत्पत्ति भयो, जहाँ अहिले दुर्गा तीर्थ छ । अलि पर उहाँले मुकुट राख्नुभयो, जसलाई मुकुटेश्वरी भनिन्छ । 

दुर्गा माताले शुम्भ–निशुम्भ बध गरेको ठाउँ सिन्धुली मूलकोटमा छ । दुष्टलाई नाश गरेर खड्ग पखालेको ठाउँ रामेछापमा छ, जसलाई हामी खाँडादेवी भन्छौं । खाँडा राखेर कालिन्चोकमा गएपछि दुर्गा माता अन्तध्र्यान हुनुभयो । त्यसपछि उहाँलाई देखिएन, उहाँ त्यही विलिन हुनुभयो । 

विगतमा दसैँ बहिस्कारका अभियान नचलेका पनि होइनन् । गोरेबहादुर खपांगीले कुनै समय पर्चा छापेरै दसैँ बहिस्कार अभियान चलाउनुभएको थियो । संयोगवस्, २०५९ सालमा मन्त्री हुँदा उहाँले मेरै हातबाट टीका ग्रहण गर्नुभयो ।


भगवती पार्वती ‘पर्वतकै छोरी’ हुनुहुन्छ । यसरी पहाडमै शक्ति प्रकट भएको देखिन्छ । त्यसकारण पनि पहाडमा सबैले यो चाडलाई विशेष उल्लासमय हिसाबले मनाउँछन् र शक्तिको उपासना गर्छन् । दसैँमा कसैले रातो टीका र कसैले सेतो टीका लगाउनुहुन्छ होला । तर, सबैले मान्नुहुन्छ । 

हिमाली क्षेत्रमा चिसो ज्यादा र मौसम प्रतिकुल हुने भएकाले दसैँ मनाउने प्रचलन देखिँदैन । तर, त्यहाँ पनि शक्तिको उपासना हुन्छ । मधेसमा पनि पहाडमा जसरी दहीले मुछेको चामलको टीका लगाइदैंन होला, जमरा राखिँदैन होला ।

तर, मिथिला क्षेत्रमा (नेपालको मधेस र उत्तर भारतको बिहार ) सप्तमीदेखि भजन किर्तन गर्ने, नवमीसम्म विशेष पूजा गर्ने र दशमीको दिन मूर्ति विसर्जन गर्ने परम्परा छ । अर्थात्, तौर तरिका फरक भए पनि धर्ममा आस्था राख्ने सबैले शक्तिको उपासना गर्छन् । 

विगतमा दसैँ बहिस्कारका अभियान नचलेका पनि होइनन् । गोरेबहादुर खपांगीले कुनै समय पर्चा छापेरै दसैँ बहिस्कार अभियान चलाउनुभएको थियो । संयोगवस्, २०५९ सालमा मन्त्री हुँदा उहाँले मेरै हातबाट टीका ग्रहण गर्नुभयो ।

यसरी पिँढीहरुले परिवर्तन ल्याउँछन् । समयले परिवर्तन ल्याउँछ । म सानो हुँदा हाम्रो गाउँमा लर्कों लागेर मानिसहरु टीका लगाउन आउँथे । जेष्ठता क्रमअनुसार सबैभन्दा जेठाकोमा जाने, त्यसपछि माइलाकोमा जाने । यसरी अन्तिमसम्म जाँदा दिन बित्ने गर्दथ्यो । पूर्णिमासम्मै टीका लगाउन भ्याई–नभ्याई हुन्थ्यो । पिङ खेल्ने पालो पाउन पनि मुस्किल हुन्थ्यो । अब त काठमाडौंमा पिङ राख्ने जग्गा नै छैन ।


 
मैले रमाइलो गर्दै सोधें– मन्त्रीज्यू आज टीका लगाउनुभयो । अब त दसैँ मान्न थालियो नि ! उहाँले भन्नुभयो : दसैँ त मान्नुपर्छ ।
 
उहाँ बौद्धिक व्यक्तित्व, शिक्षक र राम्रो व्याख्याता पनि हुनुहुन्थ्यो । दसैँ मनाउनुपर्छ भन्ने महसुस त उहाँलाई पनि रहेछ नि । त्यसअघि दसैँको महत्व नबुझेर होइन, पद (राज्यमा स्थान) नपाएर दसंै नमान्नुभएको रहेछ भन्ने मलाई लाग्छ । सामाजिक, अध्यात्मिक, सांस्कृतिक हरेक हिसाबले दसैँको महत्व विशेष छ । मनोरञ्जनका लागि पनि यस्ता पर्व विशेष अवसर बनिदिन्छन् । सबैले ध्यान गर्नुपर्छ, चण्डी पाठ गर्नुपर्छ भन्ने पनि होइन । मिठो खाने र राम्रो लगाउने सोख पनि त दसैँमा पुरा हुन्छ । पिंग खेल्ने, चंगा खेल्ने संस्कृति छ ।

दसैँ कृषि प्रधान देशलाई चरितार्थ गर्ने पर्व हो । जमरा राख्ने, दहीमा मुछेको टीका लगाउने प्रचलन किन भयो ? किनकि, हामी गाई–भैंसी पाल्छौं । खेतीपाती गर्छाैं । सभ्यताको आरम्भदेखि शक्तिको आराधना गर्ने क्रम सुरु भयो । रामायणमा उल्लेख भएअनुसार त्रेतायुगमा रामचन्द्र भगवानले नौ दिनसम्म शक्तिको उपसना गरेर रावण र दुस्टहरुमाथि विजय हासिल गर्नुभएको थियो । समयअनुसार साधनाको पाटो फितलो हुँदै होला ।

पुस्तान्तरणसँगै परिवर्तन 

फूलपाती भित्र्याउँदा टुँडिखेलमा त अहिले पनि हर्ष बढाइँ नै हुन्छ । मालश्री धुन बजाइन्छ । घर–घरमा पनि शंख घण्ट भए पनि बजाइन्छ । मनोरञ्जन र उल्लास प्रकट हुन्छ । तर, यो प्रचलन विस्तारै कम हुँदै गएको छ । साधना पक्ष फितलो हुँदैछ । पहिलेजसरी अत्यन्तै कडा ब्रत बसेर साधना गर्नेहरु, मन्त्र जप्नेहरु कम छन् ।

मेरा छोराले धेरै देखे मैले पाठ गरेकोसम्म देखेको होला । अब उसका छोराले, बाबुले दसैँ आउँदा जमरा र टीका लगाउथे भन्नेसम्म देखेकोे छ । उसको पनि छोराको समय आउँदा के हुन्छ ? टीका लगाउने वा हाईहेल्लो गरेर गेट टुगेदर गर्ने हुन्छ होला । हाम्रा बाबु बाजेले मीठो खान्थे भन्ने दिन आउँछ कि ?

यसरी पिँढीहरुले परिवर्तन ल्याउँछन् । समयले परिवर्तन ल्याउँछ । म सानो हुँदा हाम्रो गाउँमा लर्कों लागेर मानिसहरु टीका लगाउन आउँथे । जेष्ठता क्रमअनुसार सबैभन्दा जेठाकोमा जाने, त्यसपछि माइलाकोमा जाने । यसरी अन्तिमसम्म जाँदा दिन बित्ने गर्दथ्यो । पूर्णिमासम्मै टीका लगाउन भ्याई–नभ्याई हुन्थ्यो । पिङ खेल्ने पालो पाउन पनि मुस्किल हुन्थ्यो । अब त काठमाडौंमा पिङ राख्ने जग्गा नै छैन ।

मेरो अनुभवमा २०२५–३१ सालसम्म दक्षिणाका रुपमा पैसा दिने चलन थिएन । मुखियाको घर भएकाले हाम्रोमा टीका लगाउन आउनेहरुले कोशेली स्वरुप केही न केही लिएर आउँथें । तर, पैसा होइन । स्थानीयस्तरमै उत्पादन हुने फलफूल वा तरकारी लिएर आउँथे । त्यतिबेला प्रायःले केरा वा अन्य फलफूल ल्याउँथे ।

एकजोर तास कसैले कहाँबाट खोसेर ल्यायो भने त्यसैलाई वर्षौंसम्म खेलिन्थ्यो । कोही–कोही कामै छाडेर खेल्थे । तर, धेरैजना त्यस्ता हुँदैन थिए । खेती गर्नुपर्ने हुन्थ्यो, पानी लगाउन जानुपर्ने हुन्थ्यो । हाम्रोमा खाँडीका कपडा बन्थे । मगर, नेवारहरुले पनि तान राखेका हुन्थे, खाँडीको कपडा लगाउथे ।

खोटाङको लामीडाँडा हो, मेरो गाउँ । त्यतिबेला हुनेखानेहरुको मधेसमा खेती हुन्थ्यो । मुखियाको परिवार भएकाले हाम्रो मधेसमा पनि खेत थियो, त्यहाँ कपडा केही सस्तोमा पाइन्थ्यो । हाम्रो परिवार पनि ठूलो भएकाले बाली भित्र्याउन त्यहाँ गएका बेला जाडोको समयमै थानका–थान कपडा किनेर ल्याइएको हुन्थ्यो र घरको भण्डारमा राखिन्थ्यो । त्यही कपडा हामीले फूलपातीका दिन लगाउथ्यौं । 
त्यतिबेला धुलिखेलका व्यापारीले पनि कपडा बेच्न ल्याउँथे । इलामसम्म उनीहरुले नै कपडा बेच्न लग्थे । ‘धुलिखेले आयो...’ भनेपछि गाउँमा दसैँ लागेजस्तो हुन्थ्यो । भरियालाई भारी बोकाएर उनीहरु अघिपछि गर्दै हिँड्थे । कतिले ओखलढुंगा बजार र कतिले दूधकोशी छेऊको स्थानीय बजारमा पनि कपडा किन्थे । ऋण काढेरै भए पनि सबैले दसैँमा नयाँ लुगा लगाउथे, मिठो खान्थे । 

पैसा दिने चलन थिएन 

मेरो अनुभवमा २०२५–३१ सालसम्म दक्षिणाका रुपमा पैसा दिने चलन थिएन । मुखियाको घर भएकाले हाम्रोमा टीका लगाउन आउनेहरुले कोशेली स्वरुप केही न केही लिएर आउँथें । तर, पैसा होइन । स्थानीयस्तरमै उत्पादन हुने फलफूल वा तरकारी लिएर आउँथे । त्यतिबेला प्रायःले केरा वा अन्य फलफूल ल्याउँथे । केही न केही ल्याउँथे । तर, किनेको उपहार होइन । कोही नास्पाती ल्याउँथे, केही नभए ईस्कुस वा आलु पनि ल्याउँथे ।

दक्षिणाका रुपमा पैसा दिने हाम्रो संस्कृति होइन । हामीले पनि अरुले पैसा दिन आउँदा नलिने र आफूले नलैजाने गरेको हो । तर, विस्तारै पैसा दिने प्रथा चल्यो, अब रोक्न सकिँदैन । अब त मैले पनि अन्त जाँदा पैसा राख्नुपर्ने भयो । मकहाँ आउनेले पनि पैसा राख्नुपर्ने अनिवार्य भयो । अब त फलानोले हजार दियो, कसले ५० रुपैयाँ दियो भन्ने दिन पनि आयो ।
दक्षिणाको यस्तो अस्वस्थ प्रतिस्पर्धा रोक्न खाममा राखेर पैसा दिने चलन भित्र्याइयो । खाममा राखेपछि कसले कति दियो भन्ने थाहा हुँदैन । छोरीबेटीको बिहेमा खाम चल्यो । मेरो विचारमा गुरु, पुरोहित र छोरीचेलीलाई आफ्नो गच्छेले भ्याएको दिने हो । उनीहरुले यति देऊ भन्दैनन् । स्वेच्छाले दिने हो ।

अहिलेको हाँस्य व्यंग्य र नाटकहरुमा हाम्रो संस्कृतिलाई उडाउने काम भएको छ । ‘यति दक्षिणा नदिए ससुराली जान्न..., मजस्तो ज्वाइँलाई १० हजार दक्षिण दिनुपर्छ..’ भन्नेखालका भद्दा संवादहरुको प्रयोग भएको देख्छु । हाँस्य व्यङ्ग्यका नाममा प्रयोग गरिने यस्ता सम्वादले हाम्रो संस्कृति महत्वमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । 

दसैँले विकास ल्याउँथ्यो  

म सानो छँदाको दसैँ र अहिलेको दसैँमा नै धेरै अन्तर देख्छु । त्यतिबेला मानिसहरु नौ दिनसम्म चण्डी पाठ गरेर कडा ध्यान गर्दथे, जुन अहिले कमजोर हुँदैछ । तर, शक्तिको उपासना गर्ने काम जारी छ । शक्तिको आराधना गरेर आध्यात्मिक उर्जाको विकास गर्ने, शरीरमा स्फूर्ति पैदा गर्ने मान्यता अझै पनि छ । यो सकारात्मक पाटो हो ।

हामी सानो छँदा दसैँमा विकासका कामहरु पनि हुन्थे । त्यतिबेला घोडेटो र गोरेटो बाटो बनाउनका लागि राजाको सवारीजस्ता विशेष अवसर वा दसैँ नै कुर्नुपथ्र्यों । अहिले एक–दुई किलोमिटर बाटो खन्न पनि लाखौं खर्च हुने अवस्था आयो । त्यतिबेला सुको खर्च हुँदैन थियो । मानिसहरुले श्रमदान गरेर बाटो बनाउँथे । दसैँ आउनैलाग्दा मौसम पनि सफा हुने भएकाले विकासका काम गर्नका लागि यो राम्रो अवसर थियो । 

 

उपासना कसरी गर्ने ?

परम्परा र देशाचारअनुसार उपासना गर्नुपर्छ भन्ने मलाई लाग्छ । मुख्यत: भगवतीले खोज्ने भनेको श्रद्धा र भक्ति नै हो । पूजाकोठा हुनुपर्यो, पूजा–आजा हुनुपर्यो, भगवतीको स्वरुप हुनुपर्यो । सबै किसिमका पूजा फूलपाती, चन्दन, नैवेद्य, धुप, जति पनि छन्, चढाउनुपर्यो ।
सकेसम्म चण्डीपाठ गर्ने वा गराउने चलन पनि छ । सम्भव छ भने पुरोहित राख्न पनि सकिन्छ । त्यो सकिएन भने पनि भगवतीको नामको जप गर्न सकिन्छ । किनकि, चारवटा नवरात्रमध्ये शरद ऋतुको यो नवरात्रको महत्व विशेष छ । यसबाट गरेको पूजाबाट म (भगवती) चाँडै खुसी हुन्छु भनेर त चण्डीमै लेखिएको छ । 

कसैले पनि कुनै दीक्षाको मन्त्र लिनुभएको छ भने त्यो जप्नुस् । नत्र एउटै नाम लिए पनि हुन्छ । जस्तो– ‘दुर्गाय नम’, ‘जयकाली जयकाली’ वा ‘जय गोरखकाली’ भने पनि भयो । भगवानलाई उपचार सामाग्री वा भेटी होइन, श्रद्धा र भक्ति चाहिने हो । श्रद्धारुपी फूल चढाऊ भन्नुहुन्छ, त्यति चढाएपछि खुसी हुनुहुन्छ । 

(कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. माधव भट्टराई
प्रा.डा. माधव भट्टराई
लेखकबाट थप