सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

दसैँमा मदिरा बिक्री बन्द

शुक्रबार, २९ असोज २०७८, ०६ : २२
शुक्रबार, २९ असोज २०७८

कञ्चनपुरमा स्थानीय प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले दसैँको समयमा कुनै पनि आपराधिक गतिविधि नहोस् भनेर मदिरा बिक्रीमा रोक लगाइएको बताए । त्यसका साथै प्रहरी जिल्लाभर चाडपर्व लक्षित सुरक्षा योजनासहित शान्ति सुरक्षामा खटिएको उनले बताए । यहाँ लुकिछिपी जुवा खेल्ने समूहलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ । प्रहरीले मदिरा बिक्री वितरण बन्द गर्न जिल्लाभरिका प्रहरी कार्यालय र चौकीहरुलाई निर्देशन दिइसकेको छ ।

त्यसैगरी मदिरा नियन्त्रण अनुगमन समिति कञ्चनपुरका अध्यक्ष भगवती थापाले आफूहरु जिल्लामा मदिरा न्युनीकरण र नियमनका लागि २०६३ सालदेखि सक्रिय रहेको बताए । “चाडपर्वमा हिंसात्मक घटना, चोरी डकैती बढ्ने भएकाले हामीले हरेक ठुला चाडपर्वमा मदिरा बिक्रीमा रोक लगाउन पहल गर्दै आएका छौँ”, उनले भने, “स्थानीय प्रशासन र सम्बन्धित व्यापारीहरुबाट पनि सहयोग भएकाले यो सम्भव भएको हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप