कृषि फर्मको माछा पोखरीमा विष, माछा मरे
झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिए ।
“चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भने, “कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।” गत सोमबारदेखि माछा मर्न थालेको उनको भनाइ छ । करिब आधा किलो तौल भएको माछा उनले केही दिन अघिदेखि मात्र बिक्री गर्न थालेका थिए । “सोमबार आठ÷दश वटा माछा मरेको भेट्यौँ”, उनले भने, “त्यसको भोलिपल्ट मङ्गलबार ५० वटा जति, बुधबार एक क्विन्टल र आज दुई क्विन्टल जति मरेका माछा पोखरीबाट निकाल्यौँ ।”
पोखरीमा १० हजार माछाको भुरा हालेको उनको भनाइ छ । पोखरीमा हालिएको विषका कारण करिब १० क्विन्टल माछा मर्ने र सोबाट रू तीन लाखभन्दा बढी घाटा हुने उनले बताए । पोखरीमा कसले विष हाल्यो भन्ने यकिन नभएको उनले बताए । मरेका माछा प्रहरीको सल्लाहमा आफूले खाल्डो खनेर पुरेको उनले बताए । सक्षम युवा कृषि फर्म दर्ता गरेर विसं २०७२ सालदेखि चार बिघा १५ कठ्ठा क्षेत्रफलमा माछा, बाख्रा र राँगा पालन गर्दै आएको सञ्चालक गौतमले बताए ।
पोखरीमा विष हालिएको विषयमा उनले प्रहरी चौकी पथरियामा समेत निवेदन दिनुभएको छ । निवेदनपछि आफूहरुले घटनास्थलको निरीक्षण गरेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुरेशकुमार शेर्माले बताए । “माछा मरेको छ”, उनले भने, “अनुसन्धान गर्दैछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड