बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दसैँमा हेर्नका लागि युट्युबमा उपलब्ध नेपाली चलचित्र

बिहीबार, २८ असोज २०७८, १० : ५८
बिहीबार, २८ असोज २०७८

दसैँमा कहाँ जाने ? समय कसरी बिताउने होला ? यस्तै चिन्तामा हुनुहुन्छ भन्ने भने तपाईंको लागि उपयुक्त माध्यम घरमै बसेर फिल्मबाहेक अर्को विकल्प के होला र । फिल्म हेर्न युट्युब जति सजिलो माध्यम अर्को छैन । त्यसका लागि युट्युबमा के कस्ता फिल्म छन् भन्ने चाहिँ जानकारी नहुन पनि सक्छ । नेपाली फिल्म हेर्न रुचाउनेका लागि युट्युबमा उपलब्ध यी हिट फिल्म दसैँको समय बिताउने राम्रो बहाना हुनसक्छ ।

आमा :

दीपेन्द्र के. खनाल निर्देशित ‘आमा’ सुपरहिट फिल्म हो । समीक्षक, दर्शक सबैको रोजाइमा परेको फिल्ममा आमा र छोरीबीचको भावनात्मक सम्बन्ध कथामा बुनिएको छ । फिल्मले कठोर मन भएका मानिसको आँखामा पनि आँसु झार्ने क्षमता राख्दछ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका छ ।

यही फिल्म अभिनयका लागि अभिनेत्री सुरक्षाले आफ्नो कपालको बलिदान दिएकी थिइन् । देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारी लगायतका कलाकार अभिनय देख्न सकिन्छ । फिल्ममा काठमाडौँं र रामेछापका विभिन्न दृश्यहरू समेटिएका छन् ।

जात्रा :

हास्यप्रधान फिल्मको रूपमा ‘जात्रा’ निर्माण भएको हो । आकस्मिक रूपमा धनलाभ भएपछि उक्त धन पचाउन पत्रहरूले गर्ने संघर्षमा फिल्म बोल्छ । सामान्य कथालाई उत्कृष्ट ढंगबाट प्रस्तुत गर्न सफल छन् फिल्मका निर्देशक प्रदीप भट्टराई । हिन्दीमा रमाउने दर्शकका लागि पनि यसको कथाले छुन सक्छ । 

रमाइला प्रसङ्ग, कलाकारको स्वाभाविक अभिनय, रमाइला संवादले भरिएको फिल्म असन, न्ह्योखाबहाल, इन्द्रचोक आसपासमा खिचिएको हो । विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँ मुख्य अभिनय रहेको फिल्ममा वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरेको पनि अभिनय छ ।

साँघुरो :

एक्सन र फर्मुला सूचिलाई पुरै नकारेको ‘साँघुरो’ले सुकुम्बासी बस्तीको एक गरिब दम्पतीको कथा उठाएको छ । शुशांक मैनाली, दिया मास्के, अरुणा कार्की र दयाहाङ राईको मुख्य भूमिका रहेको साँघुरोले नेपाली फिल्मको दायरा फराकिलो बनाउने फिल्म समेत भन्ने गरिन्छ ।

यौन मनोविज्ञानमा आधारित ‘साँघुरो’ समीक्षक र दर्शक दुवैले राम्रो मानेको फिल्म हो । सानो कथा, सानै परिवेश, मानवीय कुण्ठा र मनोविज्ञानको सूक्ष्म चित्रण गर्न सफल लेखन विनोद पौडेल यो फिल्मका सबैभन्दा तारिफ योग्य पात्र हुन् । फिल्मको निर्देशन जोयस पाण्डेले गरेका थिए ।

पशुपतिप्रसाद :

खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको फिल्म ‘पशुपतिप्रसाद’ दर्शकले रुचाएको फिल्म हो । पशुपतिको घाटे, जोगी, वृद्धवृद्धादेखि हनुमानसम्मको कथा समेटिएको छ फिल्ममा ।

भुइँचालोमा घर र आमाबा गुमाएर घरको ऋण तिर्न गाउँबाट पैसा कमाउन सहर पसेको एक युवाको सङ्घर्ष र सपना फिल्मले देखाउन खोजेको छ । फिल्ममा विपिन कार्की र वर्षा सिवाकोटीको पनि अभिनय रहेको छ ।

कबड्डी :

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको कबड्डी सिक्वेलकै उत्कृष्ट फिल्म हो ‘कबड्डी’ । मामाको छोरी विवाहको हक लाग्ने गुरुङ समुदायको कथालाई आकर्षक तरिकाले पस्किएको यो फिल्ममा मुस्ताङको सुन्दर लोकेसनमा खिचिएको छ ।

मैया (रिश्मा गुरूङ) लाई फकाउन काजी (दयाहाङ राई)ले गर्ने संघर्षको रमाइलो तवरबाट फिल्ममा बुनिएको छ । फिल्ममा विजय बरालको पनि महत्वपुर्ण भूमिका छ । ‘कबड्डी’ मनपर्यो भने यसैको अन्य दुई दुई सिक्वेल पनि युट्युबमा हेर्न सकिन्छ ।

लुट :

‘लुट’ लाई नेपाली चलचित्र क्षेत्रमा एक शक्तिशाली फिल्मको  रूपमा लिइन्छ । संकटकाल घोषणाको संघारमा पुगेको फिल्म क्षेत्रमा ‘लुट’ संन्जिवनी साबित भएको थियो । परम्परा र चलनचल्तीको पुरै ट्रेन नकारेर निर्माण भएको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मालगायतको अभिनय छ ।

युवा पुस्ताको नयाँ सोचको प्रतिनिधि गर्ने यो फिल्मको मुख्य पात्र ‘हाकु काले’ले बोलेको सम्बाद बर्षाैसम्म दर्शकको मनसपटलमा ताजै देख्न सकिन्थ्यो । बेरोजगारी युवाले पैसा कमाउन गर्ने आपराधिक गतिविधिको कथा भन्ने फिल्मका माधव वाग्ले हुन्, भने निर्देशक निश्चल बस्नेत रहेका छन् । काठमाडौँका गल्लीदेखि भट्टीसम्मका दृश्य फिल्ममा आकर्षक तरिकाले देखाइएको छ ।

घामपानी :

अन्तर्रजातिय प्रेमकथामका निर्माण भएको ‘घामपानी’ समीक्षक समेत रहेका सञ्चारकर्मी दीपेन्द्र लामाको निर्देशनमा डेब्यु फिल्म हो । एउटै गाउँका २ फरक जातिका युवा र युवतीबीचको प्रेम फिल्ममा लामाले राम्रोसँग बुनेका छन् । केकी अधिकारी, दयाहाङ राई, बुद्धि तामाङ, अङ्कित खड्का, सिल्सा जिरेल लगायतको अभिनय फिल्ममा छ ।

ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनको लगानी रहेको फिल्म समीक्षक तथा दर्शकले दुवैले मन पराएका थिए । लगानीसम्म जिननित सुरक्षित गर्न सफल फिल्म राम्रो फिल्मको सूचीमा भने गनिँदै आएको छ ।

प्रेम गीत :

प्रेमकथामा निर्माण भएको ‘प्रेम गीत’ प्रेमकथा रुचाउने दर्शकका लागि राम्रो खुराक हो । यात्राको क्रममा भेटिएका एक युवा जोडीको प्रेमकथा देखाउन खोजिएको फिल्मले कसैसँग धेरै समय बिताउँदा नचाहेपनि प्रेम बस्छ भनेर समेत सन्देश दिन खोजेको छ ।

प्रदीप खड्का र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्मका निर्माता सन्तोष सेन हुन् । सरोज खनाल, रूपा राणा, लक्ष्मी गिरी, नोर्वु तेर्जिङ् र राजाराम पौडेलको समेत मुख्य भूमिका रहेको फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

छक्का पन्जा ३ :

ब्यवसायको हिसाबले सुपरहिट फिल्म हो ‘छक्का पन्जा ३’ । हलमा र डिजिटल प्लेटफर्म दुबैमा राम्रो दर्शक पाउन सफल छ फिल्म । दीपाश्री निरौलाद्वारा निर्देशित दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको फिल्मले एक सरकारी विद्यालयमा हुने राजनीतिको कथा देखाएको छ ।

विषयवस्तु र प्रस्तुति करणले सामान्य फिल्म मनोरञ्जनका हिसाबले फुल डोज मान्न सकिन्छ । पछिल्लो समय टेलिभिजनमा चलेका कमेडी सिरियल मनपराउने दर्शकका लागि यो झनै उपयुक्त देखिन्छ । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्म केदार घिमिरे, जीतु नेपाल, दीपक राज गिरीले लेखेका हुन् ।

शत्रु गते :

सामाजिक कथामा केन्द्रित फिल्म विवाहमा बाधक बन्ने पात्रहरू वरिपरि घुमेको छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौड्यालको संयुक्त लगानी रहेको फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । 

फिल्ममा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुसाल, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ । राम्रो सन्देश केही दिन नसकेपछि फिल्म टाइम पासको लागि उपयुक्त छ । फिल्म सार्वजनिक प्रदर्शनमा भने सुपहिट साबित भएको थियो ।

झोला :

सय वर्ष पहिले नेपाली समाजमा विद्यमान सती प्रथाको विषयमा बनेको फिल्म हो ‘झोला’ । यादव भट्टराईको निर्देशन रहेको फिल्मलाई उत्कृष्ट नेपाली फिल्मको सूचीमा राख्न सकिन्छ । सार्वजनिक प्रदर्शनमा बालकदेखि बृद्धसम्मको मन छुन सफल भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत धेरै पुरस्कार जित्न सफल यो फिल्म गरिमा पन्त, देशभक्त खनाल, स्व .दीपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । राज तिम्सिना, मालती शाह, सुशील शाह, रामगोपाल श्रेष्ठ निर्माता रहेको फिल्मको कथा कृष्ण धरावासीले लेखेका हुन् ।

सुनगाभा :

केटीकेटीबीचको प्रेमकथा हो ‘सुनगाभा’ । दीया मास्के र नीशा अधिकारी मुख्य भूमिका रहेको फिल्म सुवर्ण थापाले निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्लको समेत अभिनय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप