शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नर्वेमा अन्धाधुन्ध तीर आक्रमण : ५ जनाको मृत्यु, २ जना घाइते

बिहीबार, २८ असोज २०७८, ०७ : १६
बिहीबार, २८ असोज २०७८

नर्वेमा एक व्यक्तिले धनुष र तीर प्रयोग गरेर आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सवर्गमा यो घटना भएको हो । प्रहरीले स्थानीय समयअनुसार साँझ ६ बजेर १३ मिनेट जाँदा घटनाबारे पहिलो सूचना प्राप्त गरेको थियो ।

प्रहरी प्रमुख ओयभिन्ड आशले संदिग्धलाई पक्राउ गरिसकेको र हालसम्म उनले एक्लै यो घटना घटाएको पाइएको जानकारी दिएका छन् । प्रहरीले यो घटना आतंकवादसँग सम्बन्धित रहेको या नरहेकोबारे अध्ययन गर्ने पनि बताएको छ । प्रधानमन्त्री एर्ना सोल्बर्गले घटनालाई ‘भयानक’ भएको संज्ञा दिएकी छन् ।

आक्रमणकारीले शहरको पश्चिमी क्षेत्रमा रहेको कुप एक्सट्रा सुपरमार्केटमा यो आक्रमण गरेको बीबीसीले जनाएको छ । घाइते हुनेमा एक प्रहरी पनि रहेका छन् । उनी आक्रमणको समय त्यही पसलमा रहेको बुझिएको छ । सुपरमार्केटका प्रवक्ताले घटनामा कर्मचारी सुरक्षित रहेको जानकारी दिएको छ । प्रहरीले साँझ ६ बजेर ४७ मिनेट जाँदा आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

एक प्रत्यक्षदर्शीले टीभी२ सँग कुराकानी गर्दै उनले एक व्यक्तिलाई धनुष र तीर बोकेको देखेको र त्यसपछि मानिसहरु भागभाग भएको बताइन् । अधिकारीहरूले आक्रमणकारीले घटनामा अन्य हतियारको प्रयोगबारे पनि अनुसन्धान गरिरहेका छन् । यसअघि सन् २०११ मा नर्वेमा भएको आतंकवादी हमलामा ७७ जनाको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप