म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा
![म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा](https://rpcdn.ratopati.com/media/albums/palm-tree-with-green-bananas_169016-2273_I21iwJYJgs.jpg)
म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो । व्यावसायिकरुपमा गरिएको केराखेतीबाट यी तीन गाउँका किसानले अन्नबालीको तुलनमा पाँच गुणा बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट गाउँमै आरसिसी घर ठडिएका छन् भने किसानका छोराछोरीले काठमाडौँ, पोखराजस्ता सहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन् ।
बेनी नगरपालिका–२ खबराका किसान शोभित शर्माले केराखेती आफ्ना लागि आम्दानीको गतिलो माध्यम बनेको बताए । उनले केरा बिक्री गरेर वार्षिक रु आठदेखि १० लाखसम्म कमाई हुँदै आएको जानकारी दिए । करिब १४ रोपनी क्षेत्रफलको जग्गामा उनले केराखेती गरेका छन् । २०६५ सालदेखि व्यावसायिक कृषिमा होमिएका शर्माले १३ वर्षको यो अवधिमा तरकारी र फलफूलबाट नै युरोप अमेरिकाको कमाई गाउँमा नै गर्दै आएका छन् । केरा बेचेर भएको कमाईले उनले खबरामा भव्य आरसिसी घर बनाएका छन् भने छोराछोरीलाई इन्जिनियरिङ र नर्सिङ पढाई रहेका छन्।
त्यसैगरी रघुगङ्गा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले १२ रोपनी क्षेत्रफलको जग्गामा व्यावसायिक केरा खेती गरेका छन् । आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेसासँगै एक हजार केराका बिरुवा लगाएको कटुवालले बताए । उनले फर्ममा व्यावसायिक रुपमा बाइस नङ्गे, मालढुङ्गे, ध्रुसे, चिनी लगायतका प्रजातिका केराखेती गरेका हुन्। उत्पादन गरेको केरा बिक्रीका लागि सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाजलगायतको क्षेत्रबाट व्यापारीहरु आउने गरेकाले बिक्रीका लागि कुनै समस्या नरहेको किसान कटुवालले बताए । ४ वर्षदेखि सुरु गरेको केराखेतीबाट उहाँले वर्षमा रु तीन देखि चार लाख आम्दानी गर्दै आएका छन् । “अन्नबालीलाई जस्तो धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसँगै बजार सुविधाले ४ वर्षदेखि केराखेती विस्तारमा लागेको छु”, उनले बताए । शर्मा र कटुवालजस्तै तीन गाउँका दुई सयभन्दा बढी किसानले अन्यबालीभन्दा केराखेतीबाट तीन गुणा बढी आम्दानी गर्दै आएका छन् ।
बेनी नगरपालिका–२ को खबराको नाम नै परिवर्तन गरेर ‘केरा गाउँ’ राखिएको छ भने बगरफाँटमा पनि लहलहै धान फल्ने खेतका गह्रामा रहरलाग्दो तरिकाले केराखेती गरिएको स्थानीय किसान दुर्गाबहादुर थापाले बताए । खबरामा केरा बिक्री गरेर मात्रै वर्षमा रु डेढ करोडभन्दा बढी आम्दानी हुने त्यहाँका अगुवा किसान चन्द्रबहादुर कार्कीको भनाइ छ । खबरा, बगरफाँट र रिसिन चौतारीका प्रत्येक कृषकले केराखेती गरेका छन् । यहाँका किसानले एक सयदेखि तीन हजारसम्म केराका बिरुवा लगाएका छन् । खबरा, बगरफाँट र रिसिन चौतारीलाई वडाले केराको पकेट क्षेत्र घोषणा गरेको छ ।
किसानको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गरिएकोे रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष रिम कटुवालले बताए । “पछिल्लो समयमा सबै गाउँमा सडक सञ्जालले जोडिएको छ,” उनले भने, “मिहिनेत गरेर उत्पादन गरिएको केरा बिक्रीका लागि बजारको समस्या छैन ।” त्यसैगरी खबरा र बगरफाँटलाई पनि केराखेतीको पकेट क्षेत्र घोषणा गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
-
‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’
-
यस्तो छ च्यासल ग्राउण्डको अवस्था, तस्बिरमा हेर्नुहोस्
-
जथाभावी सामाजिक सञ्जालमा टिप्पणी नगर्न एकीकृत समाजवादीको निर्देशन