मधेसको दसैँ : जमरा र टीका नलगाई यसरी मनाइन्छ
एस.के. यादव
‘तपाईँहरूको त दसैँ हुँदैन है ?’ दसैँ नजिक आउनेवित्तिकै पहाडी समुदायका साथीभाइले राख्ने जिज्ञासा हो यो । हिमाल तथा पहाडका अधिकांशको बुझाइरहेको छ कि मधेसमा दसैँ मनाइँदैन, त्यहाँ छठ पर्व मात्र धूमधामका साथ मनाइन्छ । तर, ती साथीभाइलाई एउटै जवाफ दिन सकिन्छ– एकपटक त्यहाँको दसैँ हेर्न मधेस झर्नुस् ।
दसैँमा लामो बिदा दिने र राष्ट्रिय रूपमा मनाउने भएकाले यो पर्व पहाड र हिमालमा मात्र मनाउने गर्ने गरेको हो कि भन्ने धेरैको बुझाइ छ । तर, तराई मधेसमा पनि दसैँ बडो धूमधामका साथ मनाउने गरिन्छ भने धेरैलाई थाह नहुन सक्छ ।
खुल्ला सीमा भएका कारण तराई मधेसको दसैँ भारतबाट प्रभावित देखिन्छ । हिमाल र पहाडमा जसरी दसैँ मनाइन्छ, त्यसरी नै तराई मधेसमा मनाइँदैन । तर, भारतमा मनाउने जस्तै मधेसमा पनि धूमधामका साथ दसैँ मनाउने गरिन्छ ।
मधेसमा बस्ने पहाडी समुदायका मानिसले पहाडमा जस्तै दसैँ बनाउँछन् भने मधेसी समुदायमा दसैँलाई दशहरा, नवरात्र, दुर्गा पूजा, महाकाली पूजा, महानवमी आदि नामले मनाइन्छ । हिमाल तथा पहाडमा मनाइने दसैँ घरभित्र हुन्छ । भक्तालुहरू घरमै पूजाको ठाउँ बनाएर पूजापाठ गर्छन् । हिमाल पहाडमा दसैँमा खानपिनमा विशेष जोड दिएको देखिन्छ ।
संस्कृतिविद् रामदयाल राकेश भन्छन्, ‘सहरी क्षेत्र, खासगरी काठमाडौँ उपत्यकामा दसैँलाई अधिकांश व्यक्तिले खानपिनको पर्वका रूपमा मनाउन थालेका छन्, यहाँका व्यक्तिहरू पूजापाठमा त्यति ध्यान दिँदैनन्, आफ्ना क्षमता अनुसार खर्च गरेका हुन्छन् । खसी र मदिरा अनिवार्यजस्तै भएको छ, तर तराई मधेसमा त्यस्तो हुँदैन ।’
तराई मधेसमा दसैँको तयारी एक महिना अगाडिदेखि नै सुरु हुन्छ । अधिकांश ठाउँमा माटोका मूर्ति (दुर्गा भगवती) बनाइएका हुन्छन् । दुर्गा भगवतीको स्थायी घर (मन्दिर) भए पनि दसैँको समयमा त्यहाँ मूर्ति बनाउने चलन छ । कतिपय ठाउँमा स्थायी रूपमा मूर्ति स्थापना गरेका हुन्छन् । मूर्ति, मन्दिरलाई लाखौँ रुपैयाँ खर्च गरेर सजाएका हुन्छन् । यस्तो मूर्ति तराई मधेसका गाउँ–गाउँमा निर्माण भएका हुन्छन्,जहाँ दशमीका दिन मेला लाग्छ । संस्कृतिविद् डा.रामदयाल राकेश भन्छन्, ‘जहाँ दुर्गा मन्दिर हुन्छ, दसैँमा त्यहाँ भव्य मेला लाग्छ र बलि चढाइन्छ । जहाँ मन्दिर हुँदैन, त्यहाँ माटोका मूर्ति बनाएर मेला लगाउने र बलि दिने चलन छ ।’
यस्तो माटोका मूर्ति दसैँको अवधिमा गाउँगाउँमा स्थापना गरिएको हुन्छ । जनघनत्व अनुसार कतिपय गाउँमा दुई÷तीन ठाउँमा मूर्ति बनाएर मेला लगाइन्छ । काठमाडौँमा पनि कतिपय ठाउँमा तराई मधेसका केही संघसंस्था मिलेर माटोको मूर्ति बनाएर दुर्गा भगवतीको पूजापाठ तथा आराधना गर्दछन् भने नवरात्रिभर सानोतिनो मेला नै लागेको हुन्छ ।
नवरात्रिभर दैनिक जसो भक्तजनहरू मूर्ति राखिएको स्थानमा पूजाका लागि आउने गर्दछन् । दुर्गा भगवतीको मूर्ति राखिएको स्थान एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्यजस्तै बनेको हुन्छ, जहाँ आसपासका गाउँ तथा टोलबाट भक्तजनहरू पूजा–आराधना गर्न र मेला भर्नसमेत आउने गर्दछन् ।
मेलालाई मनोरञ्जनको रूपमा पनि लिने गरिन्छ, जहाँ नाचगान हुन्छ । जस्तै, अलाह रुदल, कुमर भिजमान, चाटजटिन, सोरैठ लगायत हुन्छन् । यस अतिरिक्त बालबालिकाहरूलाई खेल्नका लागि विभिन्न मनोरञ्जनात्मक खेलका सामग्रीहरू पनि राखिएका हुन्छन् ।
भाकल अर्थात् बलि
तराई–मधेसमा दुर्गा भगवतीका लागि जसले भाकल गरेका हुन्छन्, उसले भाकलअनुसारको बलि दिएर घरमा प्रसादको रूपमा मासु पकाएका हुन्छन् । जसको घरमा खसी काटिएको हुँदैन, त्यसलाई बोलाएर खुवाउने चलन तराई मधेसमा छ । तराई मधेसमा भाकल गरेर बलि दिने प्रचलन बढ्दै गएको हुनाले प्रायःको घरमा खसीको काटिएको हुन्छ । दसैँमा मासुमात्र खाने भनेर नभई दुर्गा भगवतीलाई गरिएको भाकल अनुसार खसी तथा बोका काट्ने गरिन्छ । तराई मधेसमा महानवमीका दिन विशेष पूजाआजा गरिन्छ । धेरैजसोले यही दिन भाकलअनुसार बलि दिने गर्दछन् ।
टीका र जमरा
मधेसी समुदायमा टीका तथा जमरा लगाउने चलन हुँदैन । खस–आर्य हिन्दु धर्मावलम्बीले ठूलाबडा तथा मान्यजन्यबाट टीका थाप्नुका साथै जमरा लगाउने चलन छ । तर, मधेसी समुदायमा यस्तो चलन छैन । मन्दिरमा राखिएको जमरा त्यहाँका पुजारीले आफ्ना भक्तजनलाई आशीर्वाद स्वरूप लगाइएको पाइन्छ । तथापि कतिपय ठाउँमा पहाडको सिको गरेर टीका लगाउने चलन पनि सुरु भएको छ र यो विस्तारको क्रममा छ ।
‘डायन’ को डर
दसैँको आगमनसँगै तराई मधेसमा ‘डायन’ सक्रिय हुने अन्धविश्वास छ । त्यसैले कतिपयले आफ्ना बालबच्चालाई घरबाट निस्किन नदिने, निस्किन दिए पनि ढाडमा लसुन बाँधिदिने, निधारमा कालो टीका लगाइदिने चलन छ । दसैँमा डायन तथा धामी झाँक्रीले आफ्नो जन्तर मन्तर (तन्त्र विद्या) सिद्ध गर्ने भएको हुनाले त्यो सिद्धिका लागि कुनै बालबालिकामा प्रयोग गर्ने बुढापाकाको भनाइ छ ।
डायन तथा धामी झाँक्रीको नजरबाट बचाउनका लागि गाउँघरमा आफ्नो घरको प्रवेशद्वारमा कालो पोत्ने, नाङ्लोमा कालो तथा चुना पोतेर घरमा झुण्ड्याउने चलन छ । दसैँको पहिलो दिन घटस्थापनाकै दिन घरआँगन लिपपोत गरेर मूलढोकामा कालो पोत्ने गरिन्छ । घटस्थापनाको दिन प्रवेशद्वारहरुमा पोतिएको कालो सप्तमी अर्थात् फूलपातीका दिन मेटाउने चलन छ ।
दसैँ लागेपछि सुनारहरूले दसैँया औँठी बेच्ने चलन हुन्थ्यो । त्यो औँठी लगाएपछि डायन तथा धामी झाँक्रीको डर नहुने मान्यता थियो । तर, दसैँया औँठी लगाउने चलन लगभग हराइसकेको सिराहा औरही– ५ का श्रीदेव यादव बताउँछन् । उनी रातोपाटीसँग भन्छन्, ‘पहिलाजस्तो डायन तथा धामी झाँक्रीको डर पनि हराइसकेको छ । पहिलाजस्तो अहिले बालबच्चा लुकाउने काम पनि हुँदैन ।’ यसको मुख्य कारण चेतना र शिक्षा नै हो । डायन, धामी झाँक्री केही होइन भन्ने कुरा धेरैले बुझ्दै गएको उनी बताउँछन् । तर पनि कुनै कुनै ठाउँमा डायन जोगिन, धामी, झाँक्रीबाट बचाउनका लागि बालिकालाई टीका लगाइदिने, बिहान–बेलुका घरबाट जथाभाबी निस्कन नदिने चलन अझै कायम रहेको उनको धारणा छ ।
झिझिया नृत्य
डायन जोगिनबाट जोगिनका लागि झिझिया नृत्यको चलन आएको हो । तराई मधेसमा झिझिया अझै कायमै छ । दसैँ शुरु भएसँगै झिझिया नृत्य शुरु हुन्छ । दसैँको अन्तिम दिन अर्थात् पूर्णिमाको दिन यो नृत्य समाप्त हुन्छ । पूर्णिमाको दिन झिझियाको विशेष पूजा हुन्छ । र, पानीमा बिसर्जन गरेर त्यसलाई समापन गर्ने चलन छ ।
यो नृत्य गर्ने महिलाहरु डायन, जोगिन, धामी झाँक्रीहरुलाई गाली गर्ने, त्यसको विरोध गर्ने, सराप्ने गर्दछन् । घैंटोमा असंख्य प्वाल पारेर त्यसमा दियो राखी टाउकोमा राखेर महिलाहरूले नृत्य गरेका हुन्छन् । नृत्य गर्न नजान्नेले टाउको हल्लाउँछन् । त्यसरी टाउको हल्लाउनुको एउटै कारण हो, डायनले त्यो प्वाल गन्न नपाओस् । यदि डायनले त्यो घैँटोको प्वाल गन्न सकेमा अनिष्ट हुने अन्धविश्वास छ ।
जात्रा, अर्थात् नीलकण्ठ हेर्ने दिन
तराई मधेसमा विजया दशमीमा जात्रा लाग्छ । दुर्गा भगवतीलाई बिर्सजन गर्ने दिन भएकाले विशेष जात्राको रूपमा त्यस दिन मनाइन्छ । यसदिन नीलकण्ठ चरा पनि हेर्ने गरिन्छ । त्यो दिन नीलकण्ठ चरा देखेमा जात्रा सफल भएको मानिन्छ । त्यसैले त्यस दिन खेतबारी, फूलबारीतिर गएर नीलकण्ठ चरा खोजेर हेर्ने चलन पनि रहेको संस्कृतिविद् राकेशले रातोपाटीलाई बताए । तर, अहिले नीलकण्ठ चरा हेर्ने चलन पनि बिस्तारै हराउँदै गइरहेको छ ।
यसरी हुन्छ पूजा
दसैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन कलश पूजा हुन्छ । महिलाले जलाशयबाट कलशमा जल ल्याएर दुर्गा मन्दिरमा राख्छन् । पहिला त्यसको पूजा हुन्छ । दुर्गा मन्दिरका पुजारी सुमन झाका अनुसार पञ्चमीसम्म त्यसैगरी पूजा हुन्छ । षष्ठी अर्थात् दसैँको छैठौं दिन बेललाई फूलबारीमा निमन्त्रणा दिन्छन्, जसलाई स्थानीय भाषामा ‘बेला नत’ भनिन्छ । एउटै डाँठमा फलेका दुईटा बेललाई शिव र शक्तिका रूपमा निमन्त्रणा दिन्छन् । शक्ति भनेको दुर्गा भगवती हुन् ।
त्यसको भोलिपल्ट अर्थात् सप्तमी (दसैँको सातौं दिन) को दिन निमन्त्रणा दिएका बेललाई लिन जान्छन् । ती बेललाई पूजापाठ गरी डोलीमा राखेर दुलही ल्याएझैँ मन्दिरमा ल्याउँछन् । अनि, मन्दिरमा पूजापाठ गरी बेल भित्र्याउँछन् । त्यसलाई दुर्गा भगवतीको गृहप्रवेश भनिन्छ । र, त्यही दिन त्यो माटोको मूर्तिमा प्राणप्रतिष्ठा प्रदान गर्ने काम हुन्छ । घटस्थापनाको दिनदेखि मूर्ति स्थापना गरिए पनि मूर्तिको आँखा खोलिएको हुँदैन । सप्तमीको दिनमा मूर्तिको आँखा खोलिन्छ ।
दुर्गा भगवतीको आँखा खालेकै दिन एउटा खसीको बलि दिनुपर्ने हुन्छ । आँखा खोल्नेबित्तिकै दुर्गा भगवतीलाई केही भोग (खान) दिनुपर्ने हुन्छ । आँखा खोल्ने बेला एकजना भक्तजन खसी लिएर दुर्गा भगवतीको अगाडि उभिएका हुन्छन् । र, आँखा खुल्ने बित्तिकै खसीको बलि दिइन्छ ।
अष्टमी अर्थात् आठौं दिनको पूजालाई अर्धरात्री पूजा भनिन्छ, जसलाई कालरात्री पनि भनिन्छ । त्यस रात गरिने दुर्गा भगवतीको पूजालाई निशा पूजा पनि भनिन्छ । रातभर पूजा आराधना हुन्छ । कोटिन जोगिनको पूजा पनि त्यही दिन हुन्छ । अन्तिममा गएर बधम बध पूजा हुन्छ र बलि दिन शुरु हुन्छ । भक्तजनहरूले भाकल गरेअनुसार खसी, बोका, राँगा, परेवा, हाँस आदिको बलि दिइन्छ ।
नवमी अर्थात् नवौँ दिन दुर्गा भगवतीको पूजापाठ तथा आरती हुन्छ । विजया दशमी अर्थात् अन्तिम दिन दुर्गा भगवतीका साथै सबै देवीदेवताको विसर्जनको पूजा हुन्छ । त्यो दिन दुर्गा भगवतीलाई बिदाइ गरिन्छ, जसलाई जात्रा भनिन्छ । त्यो दिन यात्राका लागि एकदमै शुभ मान्ने गरेको पुजारी झाले बताए । कसैलाई बाहिर जानु छ वा आउनु छ भने त्यस दिन शुभ मानिन्छ । त्यो दिन चेलीबेटी, बुहारी भित्र्याउने वा पठाउने काम पनि हुन्छ ।