शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेसँग छलफलका लागि तयार छु : सभामुख

बुधबार, २७ असोज २०७८, ११ : ५२
बुधबार, २७ असोज २०७८

सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनुभयो । बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

सभामुख सापकोटाले भने, ‘ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ । दसैँको अवसरमा छौँ, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो । मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ, जतिसुकै ठुलो समस्या भए पनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसद्मा अहिले अलिकति समस्याहरू देखिएको छ, अवरुद्ध भइरहेको छ, १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।’

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए । उनले संसद् सुचारु रूपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद् पुनर्स्थापना गर्न लागि परे जस्तै संसद् सुचारु रूपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताए । उहाँले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताए ।

सभामुख सापकोटाले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन । यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निष्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक, ट्रयाक वान, टू, सबै उपायहरू अवलम्बन गर्नका लागि मैले सके जति मिहिनेत गर्दछु । संसद्लाई जीवन्त र प्रभावकारी बनाउनुको विकल्प छैन ।’

सभामुख सापकोटाले संसद्मा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चारमाध्यमहरूमा आएको कुरा सही नभएको बताए । उनले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरू अगाडि बढ्न आफूले नरोकेको सहजीकरण नै गरेको बताए । उनले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरू उदासीन नभएको बताउँदै संसद् सुचारु गर्नका लागि शान्तिपूर्वक लागिपर्ने प्रतिबद्धता जनाए । उनले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरूले समीक्षा गर्नुपर्ने बताए । उनले लोकतन्त्र संघीय संसद्मा कमै मात्र प्रयोग भएको बताए । आगामी कार्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा संसद् सुचारु रूपले चल्नेमा आफू आशावादी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप