अभिनेत्री लक्ष्मी बर्देवाको दसैँ : सासू–ससुराबाट टीका थाप्न पाइएन
राम्रो अभिनय कौशल भएकी अभिनेत्री हुन् लक्ष्मी बर्देवा । त्यसैले होला, काममा उनी सधैँ ब्यस्त छिन् । फिल्मका निर्माता, निर्देशकको रोजाइमा पर्न सफल उनको म्युजिक भिडियो, विज्ञापनमा पनि धेरै नै डिमान्ड छ । तर, उनी छानेर, कमै मात्र अभिनय गर्छिन् ।
पछिल्लो समय ‘सेल्फी किङ’ मा अभिनेता विपीन कार्कीको जोडीका रुपमा देखिएकी बर्देवाले ‘माला’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । छोटो समयमै दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी उनी थियटर कलाकार पनि हुन् ।
अहिले पनि बर्देवाका ‘चपली हाइट ३’, ‘प्रेम गीत ३’, ‘अनन्त’ लगायत ४ वटा फिल्म प्रदर्शन हुन बाँकी छन् । अभिनयबाट सबैको मन जित्न सफल लक्ष्मी चाडपर्व प्रेमी हुन् । उनको मनपर्ने चाड मध्य दसैँ पनि एक हो । बच्चादेखि दसैँसँग बर्देवाको विशेष लगाव रहँदै आएको छ । दसँै आफ्नो मनपर्ने चाड भएको बताउने उनका विगतको दसैँलाई यसरी सम्झन्छिन् ।
टुहुरो महसुस हुन्छ
विवाहपछिको यो दसैँ मेरो तेस्रो हो । तर, अहिलेसम्म मैले सासू ससुराका हातबाट टीका थापेर आर्शिवाद लिन पाएकी छैन । आफ्नै घरमा सासू–ससुराको हातबाट टीका थाप्दाको वातावरण र अनुभव कस्तो हुन्छ । त्यो महसुस गर्न पाएकी छैन । यो त परको कुरो, श्रीमान् जीवनजी समेत घर जान पाउनुभएको छैन । कारण हामीले अन्तरजातीय विवाह गरेका हौं । घरबाट बोलाउने र हामी जाने बिषयमा कुनै पनि कुरो हुँदैन । हामी जाँदा माहोल बिग्रिएला भन्ने डरले गएका पनि छैनौं । फोनमा समेत कुरा हुँदैन । दसैँमा हामी बुढाबुढी मात्रै हुँदा एकअर्काको अनुहार हेरेर माया लाग्छ । टुहुरो भएको फिल हुन्छ ।
त्यो दसैँमा रोएँ
म पाँच कक्षामा पढ्दै थिएँ । एकपटक बुबा कामको सिलसिलामा मलेसिया जानुभएको थियो । उहाँ विदेश गएको पहिलो पटक भएकाले त्यो दसैँ मेरा लागि जीवनकै नरमाइलो दसैँ भयो । दसैँमा सधैं बुबा हामीसँगै हुनुहुन्थ्यो । त्यो समय नभएकाले रुन आयो । बुबा बाध्यताले कामका लागि विदेश जानुभएको हो । तर पनि मन मानेन । दसैँमा सबैका घरमा बुबाआमासँगै देख्दा पीडा हुन्थ्यो, आँशु झर्थ्यो । त्यो समय बुबा फोन गरेर रुनुभयो । त्यसपछि झन् दसैँ किन आएको होला जस्तो लाग्यो । आमाले बुबाको कमी महसुस नहोस् भनेर भरपुर कोसिस गरे पनि नरमाइलो लाग्दोरहेछ । त्यो वर्ष म टीका लगाउन कतै गइनँ । अर्काे वर्षदेखि भने सामान्य लाग्यो ।
मासु मिठो पकाउँछु, तर चाखेको छैन
सानैदेखि म भेजिटेरियन हुँ । माछामासु नखाए पनि विभिन्न भेराइटी परिकार भने पकाउँछु । मैले पकाएको मासु मिठो हुन्छ भनेर सबैले भन्छन्, रुचाउँछन् पनि । आफूले चाखेको छैन । दसैँका बेलामा भेजिटेरियन तरकारी नपाउने, महँगो हुनाले पनि तनाव लाग्छ । दसैँमा जताततै मासु हुन्छ । म भेज भएकाले के खुवाउने भनेर अरुलाई टेन्सन हुन्छ भन्ने हिसावले पाहुना लाग्नसमेत जान्नँ । जानैपर्ने ठाउँमा दही र अचार मात्र खान्छु ।
सधैँ दसैँमा पैसा भेटाउँछु
म हरेक वर्षको दसैँमा पैसा भेटाउँछु । घटस्थापनादेखि पूर्णिमासम्मको दिनसम्म कुनै न कुनै दिन मैले पैसा भेटाएकै हुन्छु । यो वर्षपछि मैले २३ गते २१० रुपैयाँ भेटाएकी थिएँ । खै के हो, त्यो थाहा भएन । अहिलेसम्म ५० रुपैयाँ देखि एक हजारसम्म भेटाएकी छु ।
पहिलो पटक ८ वर्षको उमेरमा भेटाएकी थिएँ । त्यो समय कालोपुलमा बुबाको पसल थियो । हामी गौशाला बस्थ्यांै । उहाँलाई खाना पुर्याएर म पशुपतिको बाटो घर फर्किँदै थिएँ, त्यो दिन घटस्थापनाको दिन थियो । मरु गणेशको उकालोमा मैले एकसय रुपैया भेटाएँ । त्यो समयको एकसयको मूल्य धेरै थियो ।
त्यो वर्ष घटस्थापनाको दिनदेखि पूर्णिमासम्म लगातार अलि अलि भेटाइरहे । मैले त्यसरी भेटाएको पैसा कतैबाट चोरेर ल्याई कि भनेर ममीलाई शंका पनि हुन्थ्यो । चेक गर्नुहुन्थ्यो । ममीलाई हामीप्रति विश्वास भने थियो । किनभने, हामी उहाँले राखेको पैसा कहिल्यै चलाउँदैनथ्यौं । त्यसको अर्काे अर्काे वर्ष पनि फूलपातीको दिन पैसा भेट्टाएँ । त्यो क्रम यो वर्षसम्म चल्यो ।
पिङमा डर
काठमाडौंमा हुर्किएकी म । त्यतिबेला हाम्रो परिवार गौरीघाटमा बस्थ्यो । पिङ खेल्न पशुपति जानुपथ्र्यो । मलाई पिङ निकै मनपथ्र्यो । तर, आमाले चोटपटक लाग्छ भनेर खेल्न जान दिनुहुँदैनथ्यो । एकपटक बहिनीहरुलाई लिएर पिङ खेल्न जाँदैथिएँ । बाटोमा बाँदरले बहिनीहरुलाई आक्रमण गर्न थाल्यो । मानिसहरु आएर बचाए । त्यो कुरो थाहा पाएर आमाले कुट्नुभयो । त्यसपछि बाहिर निस्कन बन्द भयो । बाहिर निस्कन नपाएपछि घरको छतमा टाँगिएको डोरीमा हामी दिदीबहिनी पालैपालो पिङ खेल्थ्यौं । मैले अरुको पालो मिचेर खेल्दै गर्दा डोरी चुँडिएर लडेर टाउको फुट्यो । टाउको फुटेकोमा आमाले झन्डै मार्नुभएन । सो समयदेखि मेरो पिङप्रति लगाव छैन, खेल्न मन लाग्दैन ।
त्यो पहिरनमा जिस्क्याउँथे
५ वर्षकी थिएँ । त्यो समय बुबा कपडा व्यवसायमा हुनुहुन्थ्यो । त्यतिबेला चेकखालको कालो र रातो स्कट चल्तिमा थियो । पछिल्लो समय पनि यो ट्रेन्डमा छ । मलाई घाँगर टाइपमा त्यस्तै पहिरन बुबाले किनिदिनुभएको थियो । त्यो अहिलेसम्मकै मेरो मन परेको दसैँ पहिरनमा पर्दछ । त्यो पहिरन अहिलेसम्म पनि बिर्सन सकेकी छैन । हरेक दसैँले मलाई उक्त पहिरनको सम्झना गराउँछ । त्यो हाम्रो परिवारको आर्थिक स्थिति भन्दामाथिको पहिरन थियो । म त्यो पहिरनमा हिँड्दा धेरैले पुतली भनेर जिस्क्याउँथे ।
पुरानो पहिरनमा नयाँ दसैँ
दश वर्षकी थिएँ । बुबाआमाले छान्न दिएपछि हातको पुरै बहुला भएको टिसर्ट र सिलिकको फूलबुट्टा भएको पाइट छानेकी थिएँ । अर्काे वर्षको दसैँमा पनि मैले त्यही पहिरनमा काम चलाउनुपर्ने भयो । मैले भने टिसर्टका पूरा बाहुला काटेर नयाँ जस्तो बनाएर दसैँ बिताएँ । पुरानो लुगा काटेर दसैँ मनाउनुपर्दा परिवारसँग धेरै रीस उठेको त थियो । सन्चो भए पनि किनिदिएको भए हुन्थ्यो जस्तो लाग्थ्यो । सबैले नयाँ लगाएको देखिन्थ्यो । आफूले पुरानोले काम चलाउनुपर्यो र त्यही लगाउनुपर्यो भन्ने लाग्यो ।
रमाइलो दसैँ
हाम्रा आफन्त अन्य समय छरिएर रहे पनि दसैँमा भने एकै ठाउँमा भेला हुन्छौं । त्यसैले पनि दसैँ रमाइलो हुन्छ । मेरो माइली बहिनी पछिल्लो सात वर्षदेखि विदेशमा छिन् । ऊ नेपाल आएको समयको दसैँ सबैभन्दा रमाइलो हुन्छ । नत्र नरमाइलो लाग्छ । दुई वर्ष अगाडिको दसैँमा ऊ आएको थियो । त्यो दसैँ एकदमै रमाइलो भयो ।
दक्षिणाले खुसी दिएन
दसैँमा म टीका लगाएपछि खुट्टा ढोग्न दिन्नँ । यो मलाई सानैदेखि मन पर्दैन । खुट्टा ढोग्नु संस्कार होला, तर मन पर्दैन । अहिले पनि दिन्नँ । खुट्टा ढोग्न नदिएका कारण बाध्यताले होला, दक्षिणा पनि अरुको भन्दा धेरै दिन्थे । सानोमा दक्षिणा पाउँदा खुसी लाग्नुपर्ने हो नि । मलाई कहिलै खुसी लागेन । म मिडिल क्लास फ्यामिलीमा हुर्किएकाले अभाव थाहा भएर होला, धेरै दक्षिणा दिएका कारण उहाँको घरमा समस्या होला जस्तो लाग्छ । मलाई दक्षिणा जति दिए पनि धेरै र थोरै भनेर कहिल्यै दाँजिनँ । औसतमा सबैले उस्तै–उस्तै दक्षिणा दिन्थे । धेरै दक्षिणा धेरै दिने मामाघरमा हो । मेरा बुबाले अन्तरजातीय विवाह गर्नुभएकाले सानोमा मामाघर जाने माहोल भएन । अहिले दक्षिणाको मतलव छैन ।
दसैँमा तास खेल्छु
हरेक वर्षको दसैँमा म तास खेल्छु । मन पर्छ पनि । समय बिताउन सजिलो हुन्छ । रमाइलो पनि लाग्छ । तास घरपरिवारसँगै खेल्ने हो । कोही भएन भने श्रीमान्–श्रीमती मात्र पनि खेल्छौं । लङगुरबुर्जा खेल्न होइन, अरुले खेलेको हेर्न मनपर्छ । सानैदेखि यो खेलाउनेले टेक्निक लगाउँछ जस्तो लाग्छ । किट्टी, चलिफलास, धुम्बल, दहर मारा लगायतका तासका खेल आउँछ । त्यसमा पनि बिषेश मनपर्ने चलिफलास र किट्टी हो । हरेक वर्ष तास फाप्छ, जित्ने गरेकी छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान : यात्रुवाहक सवारी साधनमा बन्दुकधारीको आक्रमण, ४० भन्दा धेरैको मृत्यु
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन : एसएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन
-
खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले
-
एमाले महासचिवका ९ प्रश्न : सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
-
‘मृत’ भन्दै चिकित्सकले ‘पोस्टमार्टम’समेत गरिसकेका थिए, घाटमा पुग्दा जीवित
-
३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु