बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद

मङ्गलबार, २६ असोज २०७८, २० : ४९
मङ्गलबार, २६ असोज २०७८

“नमुछे आमा दहीमा टीका नछरे जमरा ।
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।” 

दसैँका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर दसैँ, तिहार, छठ जस्ता महान् चाड नजिकिँदै गर्दा खुसीभन्दा पनि चिन्ता भरिएको देखिन्छ । परदेशमा रहेको छोरा दसैँको बेला घर नआउँदा आमाको मन नराम्रोसँग कुँडिएको छ । घरको पिँढीमा बसेर त्यही परदेशी छोरालाई सम्झेर बस्नु यतिखेर उनीहरूको दैनिकी जस्तै बनेको छ । 

“दसैँ लाग्यो यसपालि पनि घर आउन पाइएन आमा भनेर छोराले फोनमा भन्यो, सबैका छोरा घरमा आउँदा परदेशमा भएको छोरालाई सम्भmेर मन साह्रै रुन्छ”, यस्तै बिलौना पोख्छन्, रामपुर नगरपालिका ५ स्थित सुन्दरटोलकी ६२ वर्षीया अम्बिका न्यौपाने । 

उनका पाँच भाइ छोरा र एक छोरीमध्ये साथमा दुई छोरा मात्रै घरमा छन् । अरू सबै परदेशी भूमिमा छन् । वर्षदिनमा एकपटक आउने ठूलो चाडपर्वले परदेशमा भएका छोराछोरी घर नफर्कंदा बेलाबेलामा मन भक्कानिएर आउने गरेको उन बताउँछन् ।

“तीन भाइ छोरा कुबेत र दुबईको रोजगारीमा छन्, एक छोरी घरजम गरेर भारतमा बसोबास गर्छिन्, यसपालि पनि परदेशमा भएका सबै छोराछोरी घर नआउने भए,” दुःख व्यक्त गर्दै उनले भने, “दसैँमा घर आउन मन थियो तर छुट्टी पाइएन आमा नरोइर्कन दसैँ मनाउनु भनेर छोराछोरीले फोन गरेर भने, त्यो भनेपछि झनै मन थामिएको छैन ।”
       
चाडपर्वका बेला मिठोमसिनो घरमा पाक्दा पनि रातदिन परदेशमा रहेका छोराछोरीलाई उन सम्झनुहुन्छ । उनलाई दसैँ नजिकिँदै गर्दा घरमा भएको छोरा परदेशमा झोला बोकेर निस्कँदा झन् पीडाबोध भएको छ । “दुई भाइ छोरा परदेशमा थिए, अर्को घरमा भएको छोरा पनि घटस्थापनाको अघिल्लो दिन मात्रै परदेशको बाटो लाग्यो, बुबाआमालाई सधैँ छोराछोरी काखमै भए हुन्थ्यो भन्ने लाग्छ, तीनै परदेशी छोराछोरीलाई सम्झेर रुँदै दिनरात बितेको छ,” उनले आँसु पुछ्दै भने ।

घरभित्र उमारिएका जमरा, छरछिमेकका छोराछोरी घरमा भित्रँदा बुबाआमालाई अझ बढी आफ्ना सन्ततिको यादले झस्काइदिन्छ । यतिबेला दसैँ पर्व मनाउन स्वदेश तथा विदेशमा रहेका नेपाली घर फर्कंदा गाउँमा चहलपहल छ । सहर बजार सुनसान बनेका छन् । 

स्वदेशमा जागिर पाइएन, विदेश पठाउनुपर्ने बाध्यता चाडपर्व आउँदा छोराछोरीकै झल्को आउने ७४ वर्षीय चुडामणि न्यौपाने बताउँछन् । 

“नातिनातिना र बुहारीलाई हेरेर चित्त बुझाउने त होला नि, कमाई पनि गर्नै प¥यो तर ठूलाठूला चाडपर्वमा छिमेकीका छोराछोरी झोला बोकेर घर आउँदा हाम्रा पनि आइदिए हुन्थ्यो भन्ने लाग्दोरहेछ”, उनले भने । 

उनी भन्छन्, “हाम्रा पालामा त विदेश जाने चलन नै थिएन, गाउँमै कुटो कोदालो गरेर जीवन धानियो, अहिले त गाउँमा बसेर कोही काम गर्दैनन्, विदेशमा पैसा रूखमै टिप्न पाइने झैँ गरेर उतै दौडिन्छन् ।” “ए परदेशी आऊ है गाउँमै दसैँ तिहार आइसक्यो झल्को लाइसक्यो,” लोकगायिका विष्णु माझीको यो गीतले पनि परदेसिएका नेपालीका परिवारको मन झस्काइदिएको छ । परदेशमा रहेका सन्तति, श्रीमान्, आफन्तसँगसँगै बसेर दसैँ मनाउने रहर कस्लाई पो नहोला र ? 

परदेशको जागिर भनेको समयमा छुट्टी नमिल्दा दसँै पर्वमा घर जान नपाउँदाको पीडा परदेशीका पनि उत्तिकै छन् । यसपालीको दशैँमा पनि परदेशीको छुट्टी नमिल्दा चाडपर्व आउँदा पनि नरमाइलो लागेको अनुभव सुनाउँछिन्, लिमिसरा राना । 

“गाउँमा जताततै चाडपर्वको रौनक छ, श्रीमान् परदेशमा हुनुहुन्छ, मनमा पीर त हुन्छ नै तर पनि चित्त बुझाउनै प¥यो,” उनले भनिन् । 

चाडपर्व घरपरिवारसँगै रमाइलो गरी मनाउने रहर भए पनि मनभित्रै पीडा र वेदनालाई लुकाएर परदेशी भूमिमा बस्नु परेको पाल्पा रामपुरका कमल पराजुलीले बताए । 

अर्काको अधीनमा बसेर काम गर्नुप–यो, भनेको समयमा घर जान नपाइने, चाडपर्वको बेला घरपरिवार, आफन्त र गाउँको बढी याद आउने गरेको उनी बताउँछन् । उनका अनुसार विदेशमा रहे पनि नेपाली मुलुकका साथीभाइबीच एकापसमा सँगै बसेर परम्परा र संस्कृति धान्दै दसैँ मनाउने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप