बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सकसमा श्रमिक : गाउँ गएर चाडपर्व मनाउने रहर छ, पैसा छैन

मङ्गलबार, २६ असोज २०७८, १२ : ४५
मङ्गलबार, २६ असोज २०७८

पोखरामा एक दशकभन्दा बढी समयदेखि लोड–अनलोडसँगै प्लाष्टिक र कागज संकलन गरेर परिवार पाल्दै आएका ओखलढुङ्गाका शेरबहादुर मगरको परिवारलाई यसपाली दसैँको खुसीयाली आएन । मगरलाई परिवारसँग बसेर चाडबाड मनाउन रहर नभएको होइन तर, कोरोना महामारीका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा आम्दानी गर्न नसकेकाले परिवारसँग बसेर दसैँ र तिहार मनाउने खर्चको जोहो गर्न नसक्दा चाडपर्वको रौनकले छुन सकेन ।

कोरोनाका कारण ६ महिना काम नगरी उनी कोठाभित्रै थुनिएर बसे । विभिन्न सामान लोड–अनलोड र कागजजन्य फोहोर संकलन गरेर किलोको भाउमा बेचेर आम्दानी गर्दै आएका मगर ६ महिनासम्म कोठाबाट बाहिर निस्कन नपाएपछि घरबेटीसहित साथीसँग हातेसापट गरेर गुजारा चलाए । तर, उनले खर्चका लागि हात पसारेको ऋण पनि तिर्न सकेका छैनन् । भर्खरै सरकारले निषेधाज्ञा हटाएकाले व्यवसाय लयमा फर्कन लागेको मात्र थियो, चाडपर्व आउने क्रम सुरु भयो ।

‘परिवारसँग बसेर दसैँ र तिहार मनाउन रहर थियो तर, पैसा नभएका कारण घर पनि जान पाइनँ । घर नजिक भए जान हुन्थ्यो, पोखराबाट धेरै टाढा भएकाले राम्रै पैसाको जोहो गरेर मात्र जानु पर्छ,’ उनले भने, ‘यसपालिको दसैँमा परिवारमा खासै खुसीयाली छाउने छैन ।’

उनका अनुसार शहर बजारमा रमाइलोसँग दसैँ मनाउन मिल्ने अवस्था छैन, गाउँ जाँदा खर्चले पुग्दैन । ‘खर्च गर्ने पैसा नभएका कारण यसपालिको दसैँ यस्तै भयो । आगामी वर्ष कोरोना संक्रमण नियन्त्रणमा आयो भने गाउँ गएर परिवारसँग खुसी साट्नु पर्ला,’ उनले भने, ‘अहिले भने पुरानो कपडा र कुखुराको मासुभात खाएर दसैँ मनाउनुपर्ने अवस्था छ ।’

विगतमा काम गरेर बचत गरेको केही पैसा टाइफाइड भएर अस्पताल बस्दा सकिएर ऋण काढ्न परेको उनको भनाइ छ । कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउनले काम ठप्प हुँदा घरबेटीको खप्टिएको भाडासमेत तिर्न नसकेको मगरले गुनासो पोखे ।

स्याङ्जाका रेशम थापाको अवस्था पनि उस्तै छ । पोखराको पृथ्वीचोक, सिर्जनाचोक, नयाँबजार लगायतका ठाउँहरुमा पुगेर प्लास्टिकसहित कागजजन्य फोहर संकलनको काम गर्दै आएका उनलाई पनि यसपाली दसैँले छोएन । लामो समय निषेधाज्ञाले घर बाहिर निस्कन नपाउँदा ऋण लागेकाले दसैँ खर्चको अभावमा घर जान नपाएको उनले बताए । ‘५÷६ महिनासम्म कोठाबाट निस्केर काम गर्न पाइएन, त्यो बेला दैनिक घरखर्च, कोठाभाडा तिर्नका लागि लिएको सापटी अहिलेसम्म तिरेको छैन,’ उनले भने, ‘विस्तारै काम पाइन थालेको थियो, फेरि दसैँ तिहार आयो, आम्दानी हुनेलाई पो दसैँ । हामी जस्ता दुःखीलाई दशा हो ।’

दसैँ मनाउन खर्च नहुँदा पोखरामा कोठामै बस्न बाध्य भएको रेशमले गुनासो पोखे । उनले भने, ‘चाडपर्व भनेको वर्षमा एकपटक आउने हो । खर्च गर्ने पैसा जम्मा भए त गाउँ गइन्थ्यो । आफन्तजनबाट टीका थाप्ने, आशिर्वाद लिने र पिङ खेल्ने इच्छा त छ नि । तर, के गर्नु, दसैँका लागि ५०/६० हजारको जोहो गर्नैपर्छ ।’

महँगीले बजार चुलिएकाले सामान्य किनमेलमा ठूलो रकम आवश्यक पर्ने रेशम बताउँछन् । ‘चाडपर्वमा एकजोडी लत्ताकपडा किन्ने र मिठोमसिनो खाने सबैको इच्छा हुन्छ नै, त्यसकै जोहो गर्न पनि ठुलो रकम खर्चिनुपर्ने अवस्था छ,’ उनले भने, ‘दसैँमा केटाकेटीदेखि वृद्धवृद्धासम्म सवैलाई इच्छा हुन्छ, आखिर पैसा भए न खर्च गर्ने हो, यो बेला ऋण खोजे पनि कतै पाइँदैन, सवैको व्यथा यस्तै छ ।’

यसपालीको दसैँतिहार मनाउन खर्च नजुटेका कारण परिवारमा खुसियाली नछाउने रेशमले बताए । मगर र थापाजस्तै पर्वतकी माया क्षेत्रीको पनि यसपाली सामान्य रूपमा दसैँ मनाउने योजना छ । यस वर्ष कोरोनाका कारण लामो समयसम्म व्यवसाय ठप्प भएकाले दसैँ मनाउने पैसाको अभाव भएकाले घर जान नसकेको क्षेत्री बताउँछिन् ।

पाँच वर्षदेखि सडकमा डुलेर फलफूलको व्यापार गर्दै आएकी क्षेत्रीले विगतमा व्यवसायबाट राम्रो कमाइ हुने गरे पनि अहिले कोरोनाका कारण ऋण लागेको बताइन् । ‘वितगमा पैसा कमाइ पनि राम्रो हुने गरेको थियो तर, यो वर्ष कोरोनाका कारण लामो समयसम्म कोठामै थुनिएर बस्नु प¥यो,’ उनले भनिन्, ‘आम्दानी नै नभएपछि दसैँमा खर्च गर्ने पैसा छैन, दसैँ मनाउन पनि थोरै खर्चले पुग्दैन, त्यसैले अहिलेको दसैँ सामान्य अवस्थामै मनाउने सोचमा छु ।’

कोरोनाका कारण आम्दानी गर्न नपाएकोले परिवारसँग दसैँ मनाउने अवस्था नभएको क्षेत्रीले बताइन् । उनी भन्छिन्, ‘गाउँ जाँदा लत्ताकपडा, खाद्यान्न किनमेलमा धेरै पैसा आवश्यक पर्छ । त्यतिले मात्र पुग्ने होइन । दानदक्षिणा, खसी लगायत किन्न आधा लाख चाहिन्छ । हामी सानो व्यवसाय गरेर जीवन चलाउनेले त्यति धेरै पैसा कहाँबाट ल्याउनु ? पैसा नभएपछि घर जाने अवस्था छैन । मेरो समस्या बच्चा र आफन्तले बुझ्दैनन् ।’

क्षेत्रीले कोरोनाले व्यवसाय गर्न नपाएर थलिएको बेला छोरीलाई संक्रमण भएर एकसाता अस्पताल भर्ना गर्दा अलिअलि गरेर जम्मा गरेको पैसासमेत सकिएको बताइन् । ‘दुःख गरेर अलिअलि पैसा जम्मा गरेकी थिएँ, कोरोनाले थलिएको बेला छोरी विरामी भएर खर्च गरेँ,’ उनले भनिन्, ‘अहिले मसँग २÷४ हजार पनि पैसा छैन, त्यो पैसा गाउँ जान गाडी भाडा तिर्न ठिक्क हुन्छ, अनि कसरी दसैँ मनाउन गाउँ जाने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप