बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दसैँको मुखमा सुनौली नाका खुलेपछि भारतीय व्यापारी मख्ख, नेपाली व्यापारी भने चिन्तामा

मङ्गलबार, २६ असोज २०७८, ११ : २६
मङ्गलबार, २६ असोज २०७८

भारतको सुनौली मेनरोडस्थित नारायण किराना स्टोरका सञ्चालक रामप्रकाश मधेसिया १८ महिनापछि सुनौली–बेलहिया नाका खुलेपछि खुसी देखिन्छन् । नाका खुलेपछि नेपाली ग्राहकमा निर्भर सुनौली बजारमा चहलपहल सुरु भएको छ । लामो समय नाका बन्द हुँदा शून्यजस्तै बनेको सुनौलीको व्यापार अब चल्ने आशमा यहाँका व्यापारीहरुले पसलमा नयाँनयाँ सामान मगाउने र पुराना ग्राहकहरुलाई किनमेलका लागि सम्पर्क गर्न थालेका छन् ।

मुख्यतः सुनौली बजारमा स्थानीय ग्राहक १० प्रतिशत र नेपाली ग्राहक ९० प्रतिशत हुने गर्दछन् । सुनौली मेनरोडमा बेसवाला साडी सेन्टरका सुनिल राजपुतले विगतमा दैनिक २० देखि २५ हजारसम्मको कारोबार हुने गरेकोमा अहिले ७० हजारभन्दा धेरैको कारोबार गरेको बताए ।

कोरोनाका कारण लामो समय नाका बन्द रहँदा सुनौलीका भारतीय व्यापारीहरुलाई प्रत्यक्ष असर परेको थियो । अब नाका खुलेपछि नेपालबाट ग्राहक आउन थालेको उनले बताए । उनको पसलमा साडी र सुट किन्नका लागि नेपालका विभिन्न ठाउँबाट ग्राहक जाने गर्दछन् ।

गत आइतबारबाट नेपाल सरकारले नाका खुला गरेपछि नेपालबाट किनमेल गर्न सुनौली बजार जानेहरुको चहलपहल देखिन्छ । नेपालबाट चिनी, चियाजस्ता खाद्यान्न किन्न जानेहरु धेरै हुने गर्दछन् । यस्तै, विवाहको लागि साडी, दसैँकालागि लत्ताकपडा किन्न पनि सुनौली जानेहरुको संख्या उल्लेख्य हुने गर्दछ ।

नाका खुलेसँगै भारतको सुनौलीका व्यापारीहरु मक्ख परेको रोहित स्टोरका लक्ष्मण रैनियारले रातोपाटीलाई बताए । नाका खुलेपछि आफूहरुको व्यापार वृद्धि भएको उनको भनाइ छ । ‘पहिला व्यापार शून्यजस्तै थियो, दैनिक ५÷६ हजारको मात्र व्यापार हुने गरेको थियो । नाका खुलेपछि अहिले ३०÷३५ हजारको व्यापार हुन थालेको छ’, रौनियारले भने ।

रौनियार काठमाडौँको कालिमाटीमा लामो समय व्यापार गरेपछि भारतको सुनौलीमा व्यापार गर्न आएका हुन् । ५५ वर्षका रौनियारको १० वर्षको व्यापार अनुभवमा कोरानाले व्यापार व्यवसाय नराम्ररी चौपट भयो । अहिले दसैँको मुखमा नाका खुलेपछि आफूहरुको व्यापार बढ्न थालेको उनले बताए ।

अर्का व्यापारी राहवास खान पनि बोर्डर खुलेपछि उत्साह थपिएको बताउँछन् ।

कपिलवस्तु जिल्लाको बाणगंगाका ७० वर्षीय उमेश खनाल सुनौलीमा चिनीसहित नरिवल लगायतका सामान खरिद गर्दै थिए । उनले रातोपाटीलाई भने, ‘नाका पनि खुलेको रहेछ, भैरहवामा आँखा परीक्षण गर्न आएको बेला केही सामान किनौँ भनेर सुनौली छिरेको हो ।’

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपालीहरु दसैँ मनाउन यो नाका हुँदै धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेहरुले सुनौलीमै घरायसी सामान किनमेल गर्दछन् ।

गुल्मीको इस्मा घर बताउने रमेश घिमिरे दिल्लीबाट दसैँ मनाउन घर जाने क्रममा सुनौलीमा केही घरायसी सामान किन्दै थिए । उनले भने, ‘यहाँ सस्तो हुन्छ । सामान्य घरायसी सामान लैजाँदा बोर्डरमा पनि दुःख हँुदैन । घरका मान्छे पनि खुसी हुने भएकोले यहीँ बजारबाटै किन्ने गरेको छु ।’

अहिले नेपाल–भारत दुवै देशमा कोरोनाभाइरसको संक्रमण केही घटेको छ । कोरोना संक्रमणको जोखिमको बाबजुद भारतमा रोजगारी गरी नेपालीहरु घर फर्किरहेका छन् ।

रुपन्देहीको बेलहिया नाकामा पर्व मान्न फर्किने नेपालीहरुको चहलपहल हप्ता दिन यता सुरु भइसकेको छ । दैनिक रुपमा सामान्य किनमेलको लागि जाने–आउनेहरुको तथ्याङ्क प्रशासनले राख्ने गर्दैन । कोरोनाको त्रासका बीच पनि चाडबाड मान्न बेलहिया नाकाबाट नेपाल भित्रिने नेपालीको संख्या उल्लेख्य मात्रामा बढेको छ ।

भारतको कानपुरमा रहेको होटलमा चौकीदारी काम गरेर फर्किएका अर्घाखाँचीको खनदहका गोपाल पोखरेलले एक वर्षपछि बल्ल दसैँ मान्न घर फर्किंदा घरतिर धेरै आश गर्ने भएकोले सामानहरु किनेको बताए ।

सधैँजसो यसपल्ट पनि चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रको भारतीय बजार सुनौलीमा सामान खरिदका लागि जाने नेपालीहरुको बाक्लो भिड लाग्ने गरेको छ ।

के भन्छन् रुपन्देहीका व्यापारी संघ संस्थाहरुका प्रतिनिधिहरु ?

नाका खुलेसँगै सुनौली बजार चम्किँदा नेपाली बजारचाहिँ सुनसान जस्तै बनेको नेपाली व्यापारीहरु बताउँछन् । नेपालीहरु सामान्य समान खरिदका लागि पनि सुनौली जाने गर्दछन् भने अर्कोतिर झोले पोकेहरु तस्करी गरेर भारतीय बजारबाट सामान ल्याएर बिक्री गर्दा नेपाली व्यापारीहरु प्रतिस्पर्धा गर्न कठिन भएको बताउँछन् ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी अघिल्लो वर्षको दसैँभन्दा अहिलेको दसैँ अलि खुला देखिएको र बजारमा चहलपहल पनि बढेको बताउँछन् । ‘तर अझै पनि मानिसहरुले कोरोना फेरि आउने होकि भन्ने त्रासका कारण रकम स्टक राखेका छन्,’ उनले भने, ‘जसले गर्दा खुलेर खर्च गरेका छैनन् । मन फुकाएर खर्च गर्ने रकम पनि अहिले क्रेताहरुसँग छैन ।’

उनका अनुसार ग्राहकले थोरै रकममा धेरै सामान खरिद गर्न चाहेको र त्यो पनि आफूलाई अति आवश्यक पर्ने वस्तुमात्र खरिद गर्न थालेका छन् । मानिसको क्रय शक्ति कम भएको उनको भनाइ छ ।

‘नेपालीहरु सामान्य खाद्यान्नदेखि मोटरसाइकल बनाउन, गाडीका पार्टपुर्जा खरिद गर्न सुनौलीबजार जाने गर्दछन्,’ उनले भने, ‘चिनी, चियापत्ती लिन पनि सुनौली जाने ठुलो जमात छ । तुलनात्मक रुपमा त्यहाँ केही सस्तो होला तर त्यहाँ खरिद गरेको वस्तुमा उपभोग्य मिति, तौल, गुणस्तरको विषयमा उपभोक्ताहरु अनभिज्ञ नै छन् ।’

राज्यले खुला सीमा नाकाबाट ल्याइने अवैध सामान रोक्नु पर्ने उनको भनाइ छ । बुटवल उद्योग संघका पूर्व वरिष्ठ उपाध्यक्ष हरिप्रसाद अर्यालका अनुसार यस वर्षको दसैँ तुलनात्मक रुपमा हिँड्डुलमा सहज जस्तो देखिए पनि व्यापारका दृष्टिकोणले परिस्थिति जटिल र कष्टकर छ । ‘सरकारले पूँजीगत खर्च गरेकै छैन, तरलताको अभाव छ,’ उनले भने, ‘मानिसका आवश्यकता र प्राथमिकता दिन प्रतिदिन फेरिएका छन् । मौसमी प्रतिकूलताले पनि वस्तुको सहज आपूर्तिमा असजिलो बनाएको छ ।’

बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको दसैँं सस्तो बजारका बारेमा धेरैलाई जानकारी नै नभएको उनको भनाइ छ । उनले भने, ‘कुन बेला के पर्छ भनी एउटा लेबलको रकम मानिसले आपतकालीन स्वास्थ्योपचार कोषमा राख्नुपर्ने पाठ कोरोना महामारीले सिकाएको छ, त्यसकारण पनि तरलताको अभाव र सुविधाजनक उपभोग्य सामग्रीको खपतमा कमी आएको छ र त्यसको असर व्यापारमा देखिँदै छ ।’

सीमामा निर्वाध आवागमन सुरु भएपछि भैरहवा, बुटवल क्षेत्रका पसल बन्द हुने खतरा बढेको उनले बताए । नेपाली उत्पादन, आयातकर्ता र व्यवसायिक संघ संस्थाहरु सामूहिक रुपमा चेतनामूलक प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै सीमा सुरक्षा र भन्सार कार्यालयले कानुनको अक्षरशः पालना गरेमा नेपालका सबै बजार चलायमान गराउन सकिने उनको भनाइ छ । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप