शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चुलोचौकामा फर्कँदै महिला नेता !

मङ्गलबार, २६ असोज २०७८, १० : २०
मङ्गलबार, २६ असोज २०७८

आधा आकाशको प्रतिनिधित्व गर्ने महिलाहरू दसैँको आगमनसँगै घर परिवारमा सीमित भएर पर्वको रौनक बढाउन व्यस्त छन् । महिलाहरू चुलोचौकामा सीमित भए भनेर महिला अधिकारका लागि आवाज उठाउने नेतृहरू पनि चाडपर्वका बेलामा आफूलाई गृहिणीको भूमिकामा प्रस्तुत गर्न रुचाउने गर्दछन् ।

हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ भित्रिएको छ । राम्रो लगाउने, मिठो खाने पर्वका रूपमा दसैँलाई लिइन्छ । पेसा तथा कर्मले अघिपछि जे–जस्ता काम गरे पनि दसैँले पारिवारिक सम्बन्धको महत्त्वलाई बढाउँछ । त्यसैले दसैँलाई पारिवारिक पुनर्मिलनको पर्व पनि मानिन्छ ।

विभिन्न राजनीतिक भूमिकाका साथै नीति निर्माणको तहमा पुगेका महिला नेतृसमेत चाडपर्वका समयमा राजनीतिक बोझ बिसाएर पारिवारिक भूमिकामा रमाउन चाहन्छन् ।​ दसैँकै सन्दर्भमा हामीले नेपाली राजनीतिमा सक्रिय केही अगुवा महिलालाई ‘कसरी दसैँ मनाउँदै हुनुहुन्छ ?’ भनेर सोधेका छौँ ।प्रस्तुत छ, महिला नेताको दसैँ योजना, उनीहरूकै शब्दमा –

आफैँ पकाउने, खाने गर्छौँ : सरिता प्रसाई

गृह जिल्ला झापामै म दसैँ मनाउने योजनामा छु । आमा झापामै हुनुहुन्छ । हाम्रो घर सबैभन्दा जेठो घर हो । काका, दाजुहरू सबै परिवार हाम्रो घरमा आउनुहुन्छ । सबै भेला हुने, जे–जे मन लाग्छ, सबै आफैँ पकाउने, खाने गर्छौँ । जे–जे परिकार खान मन लाग्छ, बनाएर खाने र रमाइलो गर्ने गर्छौँ ।

म आफैँले परिकार बनाउँछु । विशेष गरी खसीका धेरै परिकार बनाउँछौँ । पक्कु जस्तो बनाएर इस्कुसको तरकारी बनाउँछौँ । केरा र आलुको अचार बनाउँछौँ । म पनि बनाउँछु, बहिनीहरू र भाउजूहरू पनि बनाउनुहुन्छ । दाइहरूले पनि सहयोग गर्नुहुन्छ । हामी सबै मिलेर आ–आफूलाई मन पर्ने परिकार तयार गर्छौँ ।

तरकारी काट्छु पनि भन्न मिल्दैन – डा. डिला संग्रौला

दसैँ मनाउन विराटनगरमा पुगेका छौँ । ८३ वर्षका ससुरा हुनुहुन्छ । उहाँको आशीर्वाद र पारिवारिक जमघटका बीच यसपालि मेरो दसैँ हुँदैछ । हामी मध्यवर्गीय परिवारकै मान्छे हो । खानेकुरा हामी आफैँले बनाउने गर्छौँ । सासू, बुहारी, जेठानी, देउरानी सबै परिवार भेला भएर खाना पकाउने गर्छौँ ।

हामी खानपिनभन्दा पनि पारिवारिक भेटघाटमै बढी रमाउँछौँ । म शाकाहारी मान्छे हुँ । मेरो परिवार पुरै शाकाहारी छ । दालभात तरकारी, रोटी नै खाइन्छ । हाम्रो परिवारमा तरकारी काट्छु पनि भन्न मिल्दैन, सुधार्छु भन्ने हो । मेरी जेठानी–देउरानी सबै प्रणामी हुनुहुन्छ । उहाँहरूले मासु खाने कुरा भएन । म प्रणामी त होइन, तर मैले पनि मासु खाँदिनँ ।

आफैँले पकाएको मीठो लाग्छ : निरु पाल

दसैँ मनाउन कञ्चनपुरमा छु । म अस्ति नै गाउँमा आइसकेँ । वडा–वडामा साथीहरूले दसैँको शुभकामना आदान–प्रदानका लागि कार्यक्रमहरू राख्नुभएको छ । त्यहाँ जाने र दसैँको शुभकामना आदान–प्रदान गर्ने काममा व्यस्त छु ।

मेरा ८७ वर्षका बुवा हुनुहुन्छ । दसैँमा बुवाको हातको टीका लगाउँछु । घर परिवार र कार्यकर्तासँग दसैँको खुसी साटासाट गर्छु । खाना सधैँ म आफैँ पकाउँछु । मलाई मन पर्ने परिकार सेलरोटी र मासु हो । सेलरोटी र मासु मैले राम्रो बनाउँछु । मलाई आफैँले बनाएको खानेकुुरा मिठो लाग्छ ।

पकाउने समय नै हुँदैन : किरण यादव

दसैँ मनाउन गृह जिल्ला महोत्तरी आएकी छु । अहिले साथीभाइलाई दसैँको शुभकामना दिन वडा–वडा गइरहेकेकी छु । तराईमा दूर्गापूजा भव्यताका साथ मनाइन्छ, त्यसमा सामेल हुने गरेकी छु ।

मलाई परिकार पकाउने समय नै हुँदैन । सहयोगी हुनुहुन्छ, उहाँहरूले नै खानेकुुरा बनाउनुहुन्छ । तर, छोराछोरीका लागि कहिले काहीँ म परिकार पकाउँछु । मैले नपकाउँदा मेरा बच्चाहरुले मिस गर्छन् । उनीहरुले मैले पकाएको खान खोज्छन् ।

कहिलेकाहीँ साथीभाइहरु घरमा आउँदा आफैँले पकाएर खुवाउन मन लाग्छ । घरपरिकारले पनि मैले बनाएको खान रुचाउनुहुन्छ । मैले राम्रै खाना पकाउछु । दसैँमा विषेश गरी मासु, अचार तरकारी बनाउछौं । मलाई मन पर्ने पनि यही हो ।

दसैँ मनाउन काठमाडौं आउँछु : सरिता गिरी

अहिले मेरो परिवार सानो छ । आमा र छोरी मात्र छौँ । अहिले म मधेसमा छु । दसैँ मनाउन काठमाडौं आउँछु । मेरी छोरी काठमाडौँमै बस्छिन् । छोरीसँगै बसेर दसैँ मनाउछु । अहिले परिवारमा म र मेरी छोरी मात्र छौँ । दसैँमा छोरी खसीकै मासु मन पराउँछिन् । मलाई सेल र अचार मन पर्छ ।

मनाङमा दसैँ मनाउने योजना छ : यशोदा सुवेदी गुरुङ

हाम्रो परिवारमा दसैँलाई विशेषरुपमा मनाउने चलन छैन । जसो–जसो ताल पर्छ, त्यसै–त्यसै गरी दसैँमा सहभागी भइदिने गर्छु । जहाँ जनता र परिवारको खुसी हुने हो, त्यहीँ सहभागी हुने गरेकी थिएँ । यसपटक मनाङमा दसैँ मनाउने योजना छ ।

पार्टी कामकै सिसिलामा दसैँ बनाउँछु होला । पार्टीका नेता कार्यकर्तासँगै दसैँ सेलिब्रेसन हुन्छ । दसैँमा कहिले आफैँ पकाउँछु, कहिले परिवारले पकाएको पनि खान्छु । दसैँमा विशेष परिकार बनाएर खाने हाम्रो चलन छैन । सधैँ झैं खाने कुरा खाएर दसैँ बनाउँछौँ ।

पकाएर खानै भ्याउँदिनँ : शान्ता चौधरी

दसैँमा रमाइलो भन्दा पनि कार्यकर्तासँगको भेटघाटमा बढी व्यस्त हुन्छु । दाङमा अस्तिदेखि नै दसैँको शुभकामना साटासाट गर्न व्यस्त छु । राजनीतिकर्मीलाई दसैँमा जनताको बीचमा जानुपर्ने हुन्छ । दसैँलाई फोकस गरेर दसैँ मनाउने भन्ने छैन ।

दसैँको अवसरमा आयोजित कार्यक्रमा सामेल हुने गर्छु । आफूलाई मनपर्ने परिकार पकाएर खानै भ्याउँदिनँ । कार्यकर्ताले के–के काम लिएर आउनुहुन्छ । यसको सहजीकरण गर्ने प्रयास गर्छु । विषेश परिकार बनाएर खाने फुर्सद नै हुँदैन । फुर्सद भयो भने प्रायः आफैं पकाएर खान्छु ।

माइत जाँदा अरुले पकाएको खान मन पर्छ । माइतमा थारु परिकार पकाउनुहुन्छ । दसैँमा घरमा भन्दा पनि माइत गएर मन पर्ने परिकार खान्छु । दसैँमा थारुहरुले पितृलाई दिन खाने कुरा हुन्छ । त्यसमा गेडागुडी, सागपात, माछा सबै चिज हुन्छ । त्यसलाई पातमा खाइन्छ । मलाई त्यो विशेष मन पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप