दक्षिण कोरियाको आँखीझ्यालबाट प्रवासी नेपालीको दसैँ
नेपाली युवाका लागि युरोप वा अमेरिकापछि आकर्षक श्रम गन्तब्यका रुपमा परिचित छ दक्षिण कोरिया । सन् १९९० को दशकबाट नै विभिन्न माध्यम प्रयोग गर्दै नेपालीहरु कोरिया प्रवेश गर्न थालेका हुन् ।
सन् २००७ मा नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सरकारी स्तरमा श्रम सम्झौता भएपछि वैधानिक तवरले नेपाली युवाहरु रोजगार अनुमति प्रणालीमार्फत कोरिया प्रबेश गर्ने बाटो खुलेको थियो । करिब डेढ दशकको अवधिमा लभभग ६० हजार नेपाली युवाहरु रोजगारीका लागि दक्षिण कोरिया प्रवेश गरिसकेका छन् ।
शारीरिक श्रमको भार बढी हुने, छुट्टी र फुर्सदको समय कम हुने भएकाले नेपाली चाडपर्वहरु खासै मनाउन पाउँदैनन् यहाँका नेपालीहरुले । दसैँ तिहार जस्ता चाडहरु त अझ कोरियाको प्रमुख चाड छुसक लगत्तै पर्ने भएकाले चाहेका बेलामा छुट्टी पनि मिल्दैन । किनभने, यहाँ छुसकमा कम्तिमा ३ दिनको छुट्टी मनाइसकिएको हुन्छ ।
कोरोना भाइरसको महामारी फैलिएपछि गत बर्ष निकै कडा स्वास्थ्य मापदण्डका कारण खासै हिँडडुल गर्न नपाए पनि यो बर्ष भने केही खुकुलो भएकाले यो पटकको छुसकमा नेपालीहरु पनि निक्कै खुलेर घुमफिर, भेटघाटमा रमाए । तर, दुई बर्ष अघिजस्तो औपचारिक कार्यक्रमहरु भने केही पनि आयोजना भएनन् । नत्र कुनै पनि पर्व, छुट्टीहरुमा केही न केही औपचारिक कार्यक्रम वा जमघटहरु हुने गर्दथे ।
कोरोना भाइरसभन्दा अगाडिको समयमा नेपालीहरु दसैँ तिहारलाई लक्षित गरेर विभिन्न छोटा कार्यक्रमहरुको आयोजना गर्दथे । त्यस्ता कार्यक्रमहरु अक्सर दसैँ तिहार नजिकैको आइतबार आयोजना हुन्थे । तर, योपटक त्यो प्रकारका कुनै पनि कार्यक्रम आयोजना गरिएको छैन ।
यहाँस्थित नेपालीहरुका विभिन्न संघ संस्थाहरु कृयाशील छन् । तर, तिनले कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेका छैनन् । ब्यक्तिगत तवरमा पनि नजिकका आफन्त वा साथीभाइ भेटघाटको अवसर पनि खासै जुरेको छैन ।
किनभने, यहाँको बिदा आइतबार हुने भएकाले असोजको २४ गते र ३१ गते मात्रै छुट्टी मिल्नेछ । ती दिनहरु दसैँको मुख्य तिथिबाट टाढा छन् । त्यसैले अधिकांश नेपालीहरु संगै बस्ने साथी–साथी मिलेर साँझ वा बिहान केही समय निकालेर सामान्य सेलिब्रेसन मात्रै गर्न पाउनेछन् ।
विगत ११ बर्षदेखि कोरियामा कार्यरत हाल ई–७ भिसा बाहक भोजपुरका राजन थापा भन्छन्, ‘परिवारसँग बसेर दसैँ नमनाएको दशक बित्यो । परदेशमै भए पनि कुनै न कुनै तरिकाले दसैँ मनाउने गरेको छ । ठ्याक्कै टीकाकै दिन छुट्टी नमिले पनि छुट्टीको दिन नजिकका साथीभाइहरु भेला भएर मनाउने गरिएको छ ।’
कोरोना भाइरसको प्रकोपबाट केही तंग्रिन खोजिरहेको कोरियाको प्रमुख सहर आनसानमा कार्यरत राजनले यो पटकका लागि पनि जमरा राखेका छन् । उनले योजना सुनाए, ‘नजिकमा भएमा नेपाली साथी र आफन्तहरुलाई बिदाको दिन मेरो कोठामा बोलाएको छु, सबै मिलेर टीका लगाउने र सामान्य खानपान गर्ने कार्यक्रम छ ।’
उता खोटाङकी सुस्मा रानाहँमालाई भने दसैँ उस्तो रसिलो लाग्दैन रे । विगत ६ बर्षदेखि प्रवासी श्रमिकका रुपमा कोरियामा कार्यरत सुष्माको खास केही योजना छैन । समय मिलेमा साथीभाइसँग भेटघाट र गफगाफ गर्ने सोचाइ रहेको उनी बताउँछिन् ।
दस बर्षदेखि कोरियामा रहेका मोरङका उत्तम खजुमको पनि खासै कुनै योजना छैन । उनी भन्छन्, ‘कोरोना नभएको भए साथीभाइहरुसँग भेटघाट गरेर मनाउने गरिन्थ्यो, अहिले त कामबाट छुट्टी पनि मिल्दैन । एक्लै बस्यो, बितायो ।’
तीन बर्षअघि कोरिया आइपुगेका भोजपुरका अजय रेग्मीलाई भने दसैँ आएको अनुभूति नै भएको छैन । कोरियाको पहिलो प्राथमिकता नै काम भएकाले दसैँले उनमा हर्ष वा उमंग ल्याउन सकेको छैन । साप्ताहिक बिदाको दिन पनि सरसफाई, किनमेल र सामान्य आराममै बित्ने भएकाले दसैँ, दसैँ जस्तो नलागेको रेग्मीको भनाइ छ ।
कोरियाको सुन्दर टापु छेजुमा कार्यरत नन्दलाल पराजुलीलाई भने दसैैँको मुखमा तनाव थपिएको छ । चार बर्षअघि कोरिया आइपुगेका पराजुलीले काम गर्ने कम्पनीमा केही दिनअघि मात्रै अधिकांश श्रमिकहरु कोरोना पोजिटिभ भेटिए । पोजिटिभ भएकाहरुलाई आइसोलेसनमा पठाएपछि पराजुलीलाई कामको भार थपिएको छ ।
सँगै काम गर्ने साथीलाई देखिएको कोरोना आफूलाई पनि देखिएर क्वारेन्टाइनमा जानुपर्ने हो कि भन्ने भयले उनलाई दसैँ आएको अत्तोपत्तो नै दिलाउन सकेन । झापाका पराजुली अलिकति फुर्सद मिलाएर घरमा भएकी श्रीमती, भर्खर बोल्न सिक्दै गरेकी छोरी र छोराहरुसँग कुराकानी गर्ने सुरमा छन् ।
खोटाङकै सकुन आँशुको भने यो दसैँमा बेग्लै योजना छ । दसैँको छेकोमा कम्पनीकै साथीहरु मिलेर कोरिया मेनल्याण्डको सबैभन्दा अग्लो पहाड जिरी सान (सान–पहाड) चढ्ने तयारी रहेको उनी बताउँछिन् । छेजु टापुमा रहेको हान्लासान सबैभन्दा अग्लो पहाड भए पनि त्यसपछि भने कोरिया मेनल्याण्डमा सबैभन्दा अग्लो पहाड भनेर जिरिसानलाई चिनिन्छ ।
बाग्लुङका खेम पुन दसैँको समयमा नियमित काममै खटिनु पर्दा बेफुर्सद छन् । ‘काम सकेर फर्किएपछि नजिकैका भाइहरुसँग बसेर एकछिन खानपान र रमाईलो गर्ने, परिवारजनसँग फोनमा बोल्ने’ पुन आफ्नो योजना सुनाउँदै मुस्कुराउँछन्,‘उताको उल्लासमय माहोल देखेपछि परदेशी मन त्यसै खुसी भैहाल्छ ।’
मोरङका रविन बान्तावा भने पहिलादेखि नै दसैँमा टीका लगाउन छोडिसकेको भए पनि दसैँजन्य रमाइलोमा सहभागी हुने गरेको सुनाउँछन् । लामो समयदेखि कोरियामा कार्यरत राई साप्ताहिक बिदाका दिन साथीभाइ मिलेर दसैँको रमाइलोस्वरुप खानपान र केही रमाइलो माहोल बनाउने योजनामा छन् ।
बडादसैँको आफ्नो छुट्टै मौलिक र परम्परागत मान्यता वा नियम त छ, जो घटस्थापनाका दिनदेखि नियमित एवं विधिसम्मत ढंगले पूरा गर्नुपर्ने रीतहरु छन् । तर, बढ्दो बिश्वब्यापीकरण तथा समयको बन्धनजस्ता कारणहरुले दसैँको विधि–विधानसमेत ‘सर्ट कट’ मा आइपुगेको देखिन्छ, विशेष गरी प्रवासमा बस्ने नेपालीहरुका लागि । उनीहरु आफ्नो नियमिततालाई निरन्तरता दिँदै अलिकति भए पनि आफ्नो देशको संस्कृतिलाई मनाउने कोसिस गर्दछन् ।
समय उस्तो नमिले पनि स्वदेशमा रहेका आफ्ना घर परिवार र आफन्तहरुसँग भलाकुसारी गरेर उनीहरुले मनाएको, रमाएको क्षणमा आफूलाई पनि कल्पना गरेरै भए पनि आफू रमाउने कोसिस गर्दछन् ।
बसाइँ सराइ र परिवर्तित समयको खेल
मानव सभ्यताको इतिहास खोतल्नेहरुले विभिन्न प्राग ऐतिहासिक तथ्यहरुका आधारमा मानव समुदायहरुको बसाइँ सराईको गोहो पत्ता लगाइहेका छन् । बसाइँ सर्ने ती मानव समुहहरु एक ठाउँबाट अर्को ठाउँ पुग्दा आफू मात्रै पुगेनन्, आफूसँगै अघिल्लो बसाईमा बिकास गरेको संस्कृति, भाषा, परम्परा लगायतका मौलिक चिजहरु पनि लिएर पुगे ।
नयाँ ठाउँमा भेटिएका फरक फरक स्थानबाट आएका मानव समुहहरुबीच सम्बन्ध स्थापित हुँदा तिनका आ–आफ्नै मौलिकताहरुको समागमबाट नयाँ सभ्यताको बिकास भयो भन्ने तर्क रहेको पाइन्छ ।
त्यो समयमा सयौँ वा हजारौँ बर्ष लगाएर पार गरिने भौगोलिक दुरीहरु आजकल केही घण्टामै पूरा हुन्छन् । त्यसरी नै उहिले हजारौं बर्ष लगाएर एउटा संस्कृति अर्को संस्कृतिसँग अन्तर्घुलित हुन पुग्थ्यो भने अहिले त्यो केही समयमै विश्वको एउटा कुनाबाट अर्को कुनामा पुगिसकेको हुन्छ ।
विश्व ब्रह्माण्डको एउटा सानो टुक्रा नेपालमा पनि उसै गरी विभिन्न सभ्यतामा विकसित मानव समुहहरु विभिन्न समयमा आए होलान् । र, त्यहाँ नयाँ संस्कृति र सभ्यताको निर्माण गरे होलान् । सायद यही सिलसिलामा दसैँ, तिहार, उभौली–उधौली, ल्होसार, छठ लगायतका संस्कृतिहरू त्यतिबेला हजारौं बर्षको अभ्यासले स्थापित भए । यिनीहरु नेपाली भूगोलका लागि मानक बनिदिए ।
यतिखेर विश्व मानचित्रको कुनै देश नहोला, जहाँ कुनै नेपाली नपुगेको होस् । वैधानिक, अवैधानिक दुबै बाटोबाट हजारौँको संख्यामा नेपाली युवाहरु संसारका हरेक कुनामा पुगेका छन् । उनीहरुसँगै आफ्नो देशको संस्कृति लिएर पुगेका छन् । संस्कृति भन्नु सम्बन्धित समुदायको परिचय हो, पहिचान हो ।
बहुसंख्यक हिन्दु धर्मावलम्बी भएको भनिने नेपालको धेरै जनसंख्याले मनाउने साँस्कृतिक पर्वहरु पनि हिन्दु धर्म सापेक्ष छन्, जो स्वाभाविक छ । दसैँ तीमध्येको प्रमुख चाड हो । तर, दसैँको पौराणिक मान्यता अनुसार यसलाई मनाउने प्रचलन बिस्तारै घट्दो छ भने दसैँलाई सेलिब्रेट गर्ने चलन फैलँदो छ ।
अर्थात् देशभित्रै पनि विभिन्न ठाउँमा छिन्नभिन्न भएका पारिवारिक सदस्यहरुको हतारको जमघटमा छोटो मीठो चाड मनाउने चलन बढ्दो छ भने परदेशमा त अझ त्यसको थपना मात्रै राखेर संस्कृति धान्ने प्रचलन बन्दै गइरहेको छ । यी सब सायद समयको रफ्तारमा आफ्नो कदम मिलाउन हतार गर्दै दौडने मान्छेहरुका कारण भएको हो कि !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन