शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंग्लुरुलाई हराउँदै कोलकाता क्वालिफायरमा, कप्तानका रुपमा कोहलीको यात्रा अन्त्य

मङ्गलबार, २६ असोज २०७८, ०५ : ५५
मङ्गलबार, २६ असोज २०७८

एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि ४ विकेटको जीत हासिल गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले प्रस्तुत गरेको १३९ रनको लक्ष्य कोलकाताले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । योसँगै प्रतियोगितामा बैंग्लुरुको यात्रा समाप्त भएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा कोलकातालाई जीत दिलाउन शुभमन गिलले २९ तथा वेंकटेस अय्यर र सुनिल नरेनले २६–२६ रनको योगदान दिए । कोलाकाताले दुई बल बाँकी छँदै लक्ष्य भेट्यायो । बैंग्लुरुका लागि मोहमद सिराज, हर्षल पटेल र युजभेन्द्र चाहलले २–२ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको बैंग्लुरुले ७ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । कप्तान विराट कोहलीले सर्वाधिक ३९ रन बनाए भने देवदत्त पडिक्कलले २१ रनको योगदान दिए । बैंग्लुरुलाई सस्तोमा समेट्न नरेनले ४ तथा लोकी फर्गुसनले २ विकेट लिए ।

बैंग्लुरुको कप्तानका रुपमा विराट कोहलीको यो अन्तिम खेल थियो । दोस्रो चरणका खेलहरु सुरु हुनअघि कोहलीले कप्तानका रुपमा उनको यो अन्तिम आईपीएल हुने बताएका थिए । उनको अगुवाईमा टोली फाइनलसम्म पुगे पनि उपाधि भने हात पार्न सकेन । १४० खेलमा विराटले कप्तानी गर्दा टोलीले ६४ खेलमा जीत हासिल गर्न सफल रह्यो ।

उता, कोलकातानले अब बुधबार फाइनलमा प्रवेश पाउनका लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ । विजेताले १५ अक्टुबरमा हुने फाइनलमा चेन्नई सुपर किंग्ससँग भिड्ने छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप