बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘मैले विवाह गरेँ कृपया ट्रोल नगर्नुस्’

सोमबार, २५ असोज २०७८, १४ : ०५
सोमबार, २५ असोज २०७८

चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाहको विषयमा ट्रोल तथा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । उनलेसामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै  विवाहको जानकारी दिएका हुन् ।

उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । गजुरेलले ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए ।

‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु जरुरी थियो । यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो’ उनले अगाडि थपेका छन् ‘बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’

आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी भन्दै मनोजले सुरु गरेको स्टाटसमा आफूहरुलाई विवाहको निर्णयमा पुग्न आफ्नो बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्दत गरेको उल्लेख गरेका छन् ।

गजुरेलले विवाहको विषयमा विभिन्न नकारात्मक समाचारसमेत नबनाउन मिडियामा अनुरोध गरेका छन् । उनले अगाडि भनेका छन् ‘सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ– कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीका लागि परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ।’

पहिलो विवाह र डिभोर्स  

२०५३ मा मीना ढकालसँग प्रेम विवाह गरेका मनोजले ढकालसँगको बैबाहिक सम्बन्ध गत २०७४ मा आपसी सहमतिमा सम्बन्ध बिच्छेद मार्फत टुङ्याएका थिए । मनोज र मीनाका एक छोरा र एक छोरी गरेर दुई सन्तान रहेका छन् । सम्बन्ध विच्छेदपछि गजुरेल बालकोटस्थित घरमा छोराछोरीसँगै बस्दै आएका छन् भने मीना नयाँ बानेश्वरमा बस्छिन् । मीना फेसन डिजाइनर पनि हुन् । उनले लामो समय बुटिकसमेत सञ्चालन गरेकी थिइन् । मीनासँगको सम्बन्ध विच्छेद पछि सम्बन्धलाई लिएर मनोज चुप बसेका थिए भने मीना भने मनोजलाई विभिन्न आरोप लगाउँदै मिडियामा  चर्चामा छाउने गर्दछिन् ।

०५२ सालमा पहिलो पटक भेटेका मनोज र मीनाले प्रेमपछि २०५३ वैशाखमा काठमाडौंकै एक मन्दिरमा विवाह गरेका थिए । विवाह समयमा गजुरेल २२ वर्षका थिए भने उनी १९ वर्षकी थिइन् ।

दोस्रो विवाहको चर्चा

२०७४मा सम्बन्ध बिच्छेदमार्फत् मीनासँगको सम्बन्ध टुङ्ग्याएका मोनोजको २०७७ मंसिरमा दोस्रो विवाहको चर्चा चलेको थियो । सो समय उनले बिहे गर्ने निर्णय लिएको तर आन्तरिक कुरा मिल्न बाँकी रहेकोले सबैकुरा सार्वजनिक नगर्ने कुरा रातोपाटीलाई बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप