दसैँ खानपान

खसी, राँगा किन्दै हुनुहुन्छ ? निरोगी यसरी चिन्नुहोस् !

person explore access_timeअसोज २४, २०७८ chat_bubble_outline0

मुख्य चाडपर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकासँगै देशका मुख्य सहरमा खसी–बोका, च्याङ्ग्रा, राँगा–भैँसी र कुखुरा भित्रने क्रम जारी छ । पशुपन्छीहरूको बजारमा किनबेच तथा मोलतोल गर्ने क्रम सुरु भइसकेको छ । 

अन्य चाडपर्वमा भन्दा दसैँमा मासुको खपत दोब्बर हुन्छ । बडादसैँ नजिकिएसँगै मासुका लागि ज्युँदा पशुपन्छी खरिद गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने पशु सेवा विभागका डाक्टर चन्द्र ढकाल बताउँछन् । अञ्जानमा खसीबोका अस्वस्थ परेको खण्डमा त्यसको मासु खाँदा स्वास्थ्यमा जटिल समस्या देखिने उनी बताउँछन् । 

मुख्य सहरमा ल्याइने खसीबोकालाई पशु सेवा विभागले परीक्षण गरेर मात्रै प्रवेश दिने गरेको ढकाल बताउँछन् । खसीबोकाको स्वास्थ्य परीक्षण गर्दा अस्वस्थ भएको खण्डमा उपचारसमेत गर्ने गरेको उनले रातोपाटीलाई बताए । लामो यात्रा घाँस कुँडो राम्रोसँग खान नपाएका कारण पनि बिक्रीमा राखेका बस्तुभाउ कमजोर देखिन सक्ने उनको भनाइ छ ।

कतिपय रोगहरू पशुहरूको संसर्गमा पुग्दा मानिसहरूलाई सर्ने गर्छ । रोग लागेका खसीबोका, राँगाभैँ  सी सुँगुर–बङ्गुर तथा अन्य पशुको नजिकै जाँदा विभिन्न किसिमका रोग सर्ने पशु चिकित्सक ढकालको भनाइ छ । मासुलाई राम्रोसँग नपकाइकन खाँदा पनि विभिन्न किसिमका रोगहरू लाग्ने डा.ढकाल बताउँछन् ।

जस्तो– कुनै पशुमा टीबी लागेको छ भने त्यसको मासु सही तरिकाले नपकाइकन खाँदा सो रोग मानिसमा सर्न सक्ने उनी बताउँछन् । कुनै बाख्रामा तुहिने समस्या छ भने त्यसको मासु राम्रोसँग नपकाइकन खाएको खण्डमा मानिसमा पनि बाँझोपन, गर्भपतनको समस्या देखिन सक्ने उनको तर्क छ ।   

बजारमा मासुका लागि आउने खसीबोका, राँगाभैँसीको अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्ने गरेको पशु सेवा विभागको दाबी छ । तथापि मासुका लागि किनिने पशुपक्षी स्वस्थ छ कि छैन भनेर खरिदकर्ताले पनि थाहा पाउनुपर्ने हुन्छ ।

मासुका लागि किनिने पशु अस्वस्थ नभएको कसरी थाहा पाउने त ? डा. ढकालको सुझाव यस्तो छ–    

असामान्य अवस्थामा रहेका पशुपक्षी झोक्राउँछन् । जाडोमा झैँ लत्रक्क परेर बस्छन् । रौँ जिङरिङ परेर लाटो भएर बस्छन् । आँखाबाट आँसु बगिरहेको हुन्छ वा कचेरा निस्केको वा आँखा रातो भएको हुन्छ । पशुको शरीर छाम्दा तातो अर्थात् ज्वरो आएको हुन्छ  । खसीबोकाको नाक सुख्खा भएको हुन्छ ।

खसीबोकामा यस्ता समस्या देखिएको खण्डमा यसलाई सामान्य रूपमा लिनु हुँदैन । बाख्रामा खोरेत, पीपीआर भएको छ भने पनि थाहा पाउन सकिन्छ । राँगाभैंसी, खसीबोका आदिमा पीपीआर रोग लाग्नु भनेको पशुहरूमा हैजा लाग्नु जस्तै हो । यो रोग लाग्दा नाकबाट सिँगान आउने, आँखाबाट आँसु धेरै आउने र छेर्ने समस्या हुन्छ ।

स्वस्थ खसीबोका, राँगाभैँसी कसरी थाहा पाउने ? 

नाकमा चिसो पसिना आइरहेको खसीबोकालाई सामान्य मान्नुपर्छ । स्वास्थ्य परीक्षण गरिएका पशु मात्रै खरिद गर्नुपर्छ । खसीबोकाको सिङमा रातो रङ लगाएकोलाई अस्वस्थ भनेर थाहा पाउनुपर्छ । सिङमा हरियो रङ लगाइएको छ भने स्वस्थ भन्ने बुझ्नुपर्छ ।

खसीबोकालाई झट्ट हेर्दा चनाखोपन देखाए–नदेखाएको थाहा पाउन सकिन्छ । जस्तै– खसीबोकाको अगाडि मान्छे जाँदा चनाखो हुन्छ । आँखा टाठो बनाउँछ, कान ठाडा पर्छ र पुच्छर हल्लाउँछ ।

मासु काट्दा पनि ध्यान दिनोस्

चिकित्सकहरुका अनुसार मासुका लागि खरिद गरिने पशुमा मात्रै ध्यान दिएर पुग्दैन, खरिद गरिएको पशुलाई काट्ने बेलामा पनि धेरै कुराहरू विचार पुर्‍याउनुपर्ने हुन्छ । 

परीक्षण गरिएका पशुमा खासै रोग देखिँदैन । यद्यपि खसीबोका, राँगाभैँसी काट्नेवित्तिकै शरीरमा गिर्खागिर्खी, पानीका फोकाहरु बढी देखिएको, पेटभित्र कुहिएको भाग भएको, गाँठागुँठी आदि भेटियो भने  त्यो भागलाई हटाउनु उपयुक्त हुन्छ । 

यद्यपि त्यस्तो अवस्थामा प्राविधिकलाई देखाउँदा उपयुक्त हुन्छ । विकारहरू मिसिएको खण्डमा मासु खाइसकेपछि पेट दुख्ने, बान्ता हुने, वाकवाकी लाग्ने आदि हुन सक्छ ।

खसीबोका काट्नुभन्दा २४ घण्टा पहिला दानापानी घाँस नदिएर प्रशस्त मात्रामा पानीमात्रै खुवाएर राख्दा पेटमा भएका किटाणु, विकारहरू केही मात्रामा बग्न सक्ने पशु चिकित्सकको सुझाव छ । 

मासु तयार गर्दा यी कुरामा ध्यान दिनुपर्छ 

–पशुलाई काट्दा सफासुग्घर ठाउँमा राखेर काट्नुपर्छ ।

–सम्भव भएसम्म नजिकैको बधस्थलमै काट्नुपर्छ ।

–यदि घरैमा खसीबोका काट्दै हुनुहुन्छ भने खुट्टाले टेकिने ठाउँमा मासु राख्न हुँदैन ।

–जुन ठाउँमा मासु तयार गर्ने हो, त्यस ठाउँमा दुई तीन पटक साबुनपानीले सफा गरेर काट्नुपर्छ ।

–काटिसकेपछि आन्द्राभुँडी, छाला, टाउको र मासु छुट्टाछुट्टै भाँडामा राख्नुपर्छ ।

–काट्ने बित्तिकै मासु प्लाष्टिकले मोडेर फ्रिजमा राख्दा ४८ घण्टासम्म खान मिल्छ ।

–छिट्टै बिग्रने आन्द्राभुँडी, टाउको, खुट्टा तत्काल खाँदा उपयुक्त हुन्छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।