बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्‌मा प्रस्तुत

अर्को बैठक कात्तिक ४ गते बस्ने
आइतबार, २४ असोज २०७८, १७ : ५८
आइतबार, २४ असोज २०७८

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा प्रस्तुत गरेसँगै प्रदेशसभाको बैठक आगामी कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार साँझ बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सदनमा प्रस्तुत गरेकी  हुन् ।

उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा बागमती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा पेश गरेकी हुन् । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागि दलले समर्थन फिता लिएका मुख्यमन्त्रीले संसदबाट ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । 

मुख्यमन्त्री शाक्यले संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै निर्वाचन आयोगको गत भदौ २५ गतेको निर्णय अनुसार नेकपा एमाले विभाजन पछि १३ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकाले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेको बताइन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेसँगै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आगामी कात्तिक ४ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप