शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी १२ गीत, जसले सबैमा दसैँको उमङ्ग भर्छ

आइतबार, २४ असोज २०७८, ०७ : ५६
आइतबार, २४ असोज २०७८

रेडियो, टेलिभिजन, सवारी साधन होस् वा दसैँको बजार । अचेल जताततै मालश्री धून र दसैँ भावका गीत गुञ्जिएको सुन्न पाइन्छ । त्यस्ता गीतले मनोरञ्जन दिने मात्र नभएर सबैका मनमा दसैँको उमङ्ग भर्ने कामसमेत गरिरहेको हुन्छ ।

हुन त नेपाली सांगीतिक बजारमा हरेक वर्ष दसैँका लागि भन्दै थुप्रै गीत संगीत भित्रिन्छन् । तर, प्राथमिकता भने धेरै पुराना गीतले पाउने गरेका छन् । किनभने, अहिले भित्रिएका भन्दा पुराना गीतसंगीतमा नेपाली कलासंस्कृति, रीतिरिवाज र सामाजिक परिवेश नेपालीपन सहित समेटिएको छ ।

हरेक वर्ष प्राथमिकतामा पर्ने दसैँसम्वद्ध दर्जन कालजयी गीत, यहाँ प्रस्तुत गरेका छौँ ।

१. मालश्री धुन

दसैँमा जताततै प्राथमिकतामा पर्ने संगीतमा हो ‘मालश्री धुन’ । मंगलधुनको रुपमा परिचित यो हिन्दु परम्परामा नारी शक्तिकोपूजा तथा आराधनामा धेरै प्रयोग हुँदै आएको छ । दसैँको नवौँ दिन नै देवीको पूजा आराधना हुने भएकाले यो धूनले प्राथमिकता पाउने गरेको छ । ‘मालश्री धून’ नवरात्रीका ९ वटै दिनमा फरक हुने बताइन्छन् ।

यो धुनको कहाँ र कहिलेबाट सुरु भयो भन्नेमा पनि एकमत पाइन्न । ठाउँ अनुसार धुन पनि फरक भेटिन्छन् । विषेश गरेर सारङ्गी र मुरलीको मिश्रण रहने धुनमा विभिन्न बाजासमेत प्रयोग गर्न सकिन्छ ।

२.  वर्षमा दिनको यो बडादसैँ जमरा कमेरो लाइएन

देश र जनता भन्दामा भन्दै घर जान पाइएन

धानकै बाला झुलाउला, मायालाई भुलौला

हरेक वर्षको दसैँमा धेरै बज्ने गीतमा पर्दछ यो । सशस्त्र प्रहरी बल (एपीएफ) ले बनाएको गीतमा जयनन्द लामाको स्वर छ । गीतमा शब्द तथा संगीत पनि लामाले नै दिएका छन् । लामालाई बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् ।

एपीएफले यही गीतको भाकालाई दसैँ विशेष शब्दको मिश्रण गरेर केही परिमार्जनसहित प्रस्तुत गरेको छ । हरेक दशैँमा राष्ट्रसेवक कर्मचारीले मात्रै होइन, तिनका परिवारले समेत यो सुन्न रुचाउँछन् । 

३. दसैँ नै हो कि, यो मेरो दशा फर्की आएको

वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको

जब दसैँ आउँछ, तब हरेकलाई यो गीतको सम्झना आउँछ । गायक योगेश्वर अमात्यको स्वर रहेको गीतले हरेक वर्षको दशैँमा चारैतिर प्राथमिकता पाउने गरेको छ ।

सञ्चार माध्यममा समेत धेरै बज्ने यो गीत पप रक शैलीमा छ । ब्यङ्ग्यसमेत रहेको गीत बुढापाकाहरुको पनि प्रिय छ । बालबच्चादेखि बुढासम्मले रुचाएको गीतमा प्रेम बस्नेतको शब्द छ । गीतमा परिवारका दसैँसँग जोडिएका  रहर, इच्छा र आकांक्षा समेटिएको छ । परिवारको जिम्मेवारी उठाउने अभिभावकको मनोदशा गीतले ब्यक्त गरेको छ ।

४. वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो

नेपाली जनको महान चाड आँगनमा आइपुग्यो

हो दसैँआयो.., हो दसैँआयो ..

धेरै पहिलेको फिल्म ‘मुग्लान’ को यो गीतको चर्चा हरेक वर्षको दसैँमा हुन्छ । लोकनाथ सापकोटाको शब्द, सुरेश अधिकारीको संगीत रहेको गीतमा उदीत नारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाईं लगायतको स्वर समेटिएको छ । गीतमा दसैँको टीका जमराको वर्णन गरिनुको साथै विदेशिएको छोराको पर्खाइमा रहेकी बुढीआमाको पीडा पोखिएको छ । गीतमा दिलिप रायमाझी, झरना थापा, विपना थापा लगायतको अभिनय छ ।

५ .  ‘नमुछे आमा दहीमा टीका नछरे जमरा

दैवले पर्दा उठायो आमा आउँदिन फर्केर’

हरेक बर्षको दसैँमा धेरैलाई रुवाउने गीत हो यो । रोजगारीका लागि परदेशिएका छोराको मार्मिक बिलौना समेटिएको गीतमा बहिनी, श्रीमती, छोराछोरीकथा समेत समेटिएको छ । भारतीय सेनामा कार्यरत रहँदा पाकिस्तानसँगको युद्धको समय लक्ष्मण रायमाझीले कोरेको गीतका गायक तथा संगीतकार नारायण रायमाझी हुन् ।

गीतको भिडियोमा विदेशिएका युवालाई साहुले छल गरेर फसाएको कथा र उसको परिवारको पीडा झल्काएको छ । भिडियोमा रमा थपलिया, देवेन्द्र बाबुल, अञ्जली अघिकारी, रोशन कार्कीलगायतको अभिनय छ ।

६. रातो टीका निधारमा टलक्क टल्कियो

छातीभित्र मायाको आगो सल्कियो

पुरानो फिल्म ‘अल्लारे’को यो गीत हरेक बर्षको दसैँमा धेरै गुन्जने मध्यको एक हो । उमेश पाण्डे र रमाना श्रेष्ठको स्वर रहेको गीतमा शम्भुजित बाँस्कोटाको संगीत र सहदेव ढुङ्गानाको शब्द छ । फिल्ममा राजेश हमाल, दीपाश्री निरौला, करिश्मा मानन्धरले यो गतिमा अभिनय गरेका थिए । निर्माता निर्देशक अशोक शर्माले यो गीत आफ्नो पछिल्लो फिल्म ‘रातो टिका निधारमा’ पनि प्रयोग गरेका थिए । जसमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अंकित शर्माको अभिनय छ । पछिल्लो भर्सनमा प्रमोद खरेल र मेलिना राइले स्वर दिएका छन् ।

७. हे छोरी भन्छे चिची र जामा, चिची र जामा

छोरा भन्छ हाम्रा बा खोई आमा

फेरि आयो दसैँतिहार

गीतमा विदेशिएका एक परिवारको कथा छ । गायिका विष्णु माझी, गायक खुमन अधिकारी र सुरेन्द्र मान अधिकारीको स्वर रहेको गीत हरेक बर्षको दसैँतिहारमा धेरै सुनिन्छ । परदेशमा रहेका श्रीमान् दशैँमा घर नफर्कंदा श्रीमतीले गर्ने गुनासो गीतका शब्दमा छन् । शब्द, संगीत सुरेन्द्रमान अधिकारीकै रहेको गीतको भिडियोमा कलाकार सिरु विष्ट र दीपक त्रिपाठीको अभिनय समेटिएको छ ।

८. वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै

दसैँतिहार चाड र बाड, आहहहह खुशीले सारा भर्यो नि संसार 

गायक सुगम पोखरेलको यो गीत पनि दसैँमा प्राथमिकतामा पर्दछ । रवि श्रेष्ठको शब्द र गायक पोखरेलकै संगीत रहेको गीतको भिडियोमा निरज, सञ्जीव, कुशल, अस्मिता, सुजित लगायतको अभिनय देख्न सकिन्छ । गीतमा दसैँतिहार दुबैलाई समेटिएको छ । यी चाडलाई गीतले हर्षका रुपमा बर्णन गरेको छ ।

 ९. यसपालि दशैँमा ठुल्दाइ आउने रे

बाबालाई रेडियो, आमालाई सारी भाइलाई घडी

अनि मलाई जिन्को पाइट ल्याउने रे 

दसैँमा चारैतिर बज्छ यो गीत । गायक बादल प्रसाईंको स्वर रहेको गीतमा कुल पोखरेलको शब्द र संगीत छ । गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । गीतको भिडियोमा गायक बादल र अन्य साथीहरु देखिएका छन् । गीतले घरको जेठो दाजु दसैँमा विदेशबाट फर्किएर आउँदा ल्याउने गिफ्टको चर्चा गरेको छ ।

१० .बाध्य भइयो परदेशमा छिर्न,

आमा मैले पढ्दा लागेको ऋण तिर्न

आमा बिदा पाउँदिनँ, अहिलेको दसैँमा आमा, घरमा आउँदिनँ...

दसैँँको भाव समेटिएको बद्री पंगेनीले स्वर दिएको यो गीतमा राजु परियारको संगीत र भगवान भण्डारीको शब्द छ । गीतले बाध्य भएर परदेशिएका युवाहरुको कथा बोल्छ । गीतमा ऋण तिर्न विदेशिएका व्यक्तिले ऋणमा डुबेको बारीको पाटो फर्काउने छोराले आमालाई बाचा गरेका छन् ।

११. थालैभरि रातोरातो अक्षता र पाती, बाटैभरि नयाँ नौलो मानिसको ताँती

दसैँ आयो,फर्कियो लाहुरे गाउँघरको मायालाई सम्झेर...

यो दसैँगीत पनि लोकप्रियमा पर्छ । गायक सुनिलको स्वर रहेको गीतमा शब्द, संगीतसमेत उनकै छ । दसैँ, तिहारको राम्रो पक्षको बर्णन लाहुरबाट आएको छोरो देखेर आमाको मुहारमा झल्किएको खुसी गीतले प्रस्तुत गरेको छ ।

१२. किन आउँछ दसैँतिहार, किन बिदा बार

फौजीलाई कुन हो दसैँ, कुन हो चाड तिहार

सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत समेत हरेक वर्षको दशैँमा अत्यधिक गुन्जिने गीतको सूचीमा अटाउने गर्दछ । दीपक कोइरालाको शब्द, गैरे सुरेशको संगीत तथा जगदीश समालको स्वर रहेको गीत राष्ट्रसेवक कर्मचारीप्रति समर्पित छ । गीत एपीएफले निर्माण गरेको हो । देशको सेवामा सर्मपित राष्ट्रसेवक कर्मचारी फौजी र तिनका परिवारको पीडा झल्काउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप