सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

नेपालका प्रशिक्षकले भने : भारत बलियो टोली, हामीले जित्ने सम्भावना एक प्रतिशत मात्र

हामी ९० मिनेटसम्म जितका लागि लड्छौँ : कप्तान चेम्जोङ
शनिबार, २३ असोज २०७८, २० : २१
शनिबार, २३ असोज २०७८

नेपालका फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले भारतविरुद्धको खेल निकै कठिन हुने बताएका छन् । माल्दिभ्सको मालेमा आयोजित पत्रकार सम्मेलनमा आल्मुताइरीले यस्तो धारणा राखेका हुन् । ‘हाम्रा लागि भोलिको खेल निकै कठिन छ । भारत यस क्षेत्रकै उत्कृष्ट टिम हो । र, उनीहरू सात पटकका च्याम्पियन पनि हुन्,’ आल्मुताइरीले भने, ‘ त्यसैले मलाई लाग्छ, ९५ प्रतिशत भारतले जित्ने, ४ प्रतिशत बराबरी हुने र  १ प्रतिशत नेपालले जित्ने सम्भावना छ ।’

नेपालका कप्तान किरण चेम्जोङले खेलका लागि तयार अवस्थामा रहेको बताए । ‘भोलिको खेल निकै कठिन छ । पक्कै पनि लक्ष्य हासिल गर्नका लागि हामी अघि बढ्न जरुरी छ । हामी ९० मिनेटसम्म जितका लागि लड्छौँ । अरू कुराको वास्ता गर्दैनौँ,’ उनले भने, ‘भारत 

यस क्षेत्रको उत्कृष्ट टिम हो भनेर हाम्रा प्रशिक्षकले भनिसके । तर, यसको अर्थ हामी कमजोर छौँ भन्ने होइन । हामी यस प्रतियोगिताको एक मात्रै अन्डर डग टिम हौँ र हामीले प्रतिस्पर्धा गर्नेछौँ ।’

कप्तान चेम्जोङले साफ च्याम्पियनसिप जित्ने सपनालाई साकार पार्न नेपालले हरेक खेलमा उत्कृष्ट गर्नुपर्ने चुनौती रहेको बताए । प्रतियोगितामा सहभागी टोलीमध्ये नेपालबाहेक अन्य सबै टोली उपाधि जितिसकेका छन् । त्यसैले पनि नेपालका लागि साफ च्याम्पियनसिपका हरेक खेल कठिन मानिएको छ । 

तर, नतिजा नेपालको पक्षमा 

यद्यपि, प्रतियोगिताका सुरुवाती दुई खेलको अवस्था हेर्दा नेपाल निकै बलियो अवस्थामा छ । नेपालले दुवै खेल जितेको छ । पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध १–० र दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३–२ को जित निकालेको नेपाल शीर्ष स्थानमा छ । यता, भारतले सुरुवातका दुवै खेल बराबरी खेलेको छ । पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकाले भारतलाई बराबरीमा रोकेका थिए । समूह चरणमा अहिलेसम्मको अवस्थामा दुई खेल खेलेको नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा, तीन खेल खेलेको बंगलादेश ४ अङ्कसहित दोस्रो स्थानमा, दुई खेल खेलेको माल्दिभ्स ३ अङ्कसहित तेस्रो स्थानमा, दुई खेल खेलेको भारत २ अङ्कसहित चौथो स्थानमा र तीन खेल खेलेको श्रीलंका १ अङ्कसहित पाँचौँ स्थानमा छन् । शीर्ष दुई स्थानमा रहने टिम फाइनलमा पुग्नेछन् । 

हेड टु हेड 

भारत र नेपालबीच अहिलेसम्म २१ खेल भएका छन् । त्यसमध्ये १४ खेलमा भारत विजयी भएको छ । दुई खेलमा नेपाल विजयी भएको छ । ५ खेल बराबरीमै टुंगिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप