बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ : मन्त्री झाँक्री

शनिबार, २३ असोज २०७८, १८ : ५६
शनिबार, २३ असोज २०७८

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताएकी हुन् ।

मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोहीविरुद्ध लड्ने मन्त्री झाँक्रीले उद्घोष गरिन् । मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षाअनुसार काम गर्ने बताउँदै भनिन्, “हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ ।”

मन्त्री झाँक्रीले न्यायोचित विकासको पक्षमा रहेर काम गर्ने बताउँदै भनिन्, “गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै विकास होइन, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्छ, न्यायोचित विकासको पक्षमा म छु ।” मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन्। 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका सवालमा भइरहेका दलाली र विकृति अन्त्य गर्ने बताए । समाजवादोन्मुख राज्य प्रणाली स्थापनाका निम्ति नीति, कानून र मापदण्ड बनाउँदै मन्त्री श्रेष्ठले श्रमिकले श्रमको मूल्य नपाउने अवस्थाको पूर्ण अन्त्य गरिने बताए । 

कोभिड महामारीका कारण करिब १५ लाखले रोजगारी गुमाएको बताउँदै मन्त्री श्रेष्ठले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेको बताए । “सबै क्षेत्रसँग समन्वय गरेर सकेसम्म देशभित्रै रोजगारका अवसर सिर्जना गर्ने र आत्मस्वाभिमानको साथ काम गर्ने वातावरणको निम्ति पहलकदमी लिनेछु”, मन्त्री श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप