बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपामा मन्त्रिपरिषद् विस्तारको साइड इफेक्ट : जलाइयो उपेन्द्र यादवको पुत्ला (फोटोफिचर)

शनिबार, २३ असोज २०७८, १५ : ४७
शनिबार, २३ असोज २०७८

मन्त्रिपरिषद् विस्तारपछि जनता समाजवादी पार्टी नेपालभित्रको विवाद छताछुल्ल भएको छ । मन्त्रिपरिषद विस्तारपछि जसपाभित्र देखिएको असन्तुष्टि सडकमा समेत देखिन थालेको हो । पर्साबाट चुनाव जितेका प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका कार्यकर्ताहरूले हिजोदेखि पर्सामा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला समेत जलाइएको छ ।

असन्तुष्ट नेता कार्यकर्ताहरूले पार्टी कार्यालयको साइनबोर्ड र पार्टीको झण्डा पनि जलाएका छन् । शनिबार अध्यक्ष यादवको विरुद्धमा पर्सामा मोटरसाइकल र्याली निकालिएको छ । प्रदर्शनकारीहरूले उनको विरोधमा चर्का नाराबाजी गरेका छन् । उनीहरुले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने घोषणा गरेका छन् । यादवले मन्त्री चयनको निर्णय नसच्याए पार्टीमा भयावह स्थिति आउनसक्ने प्रदर्शनकारीहरूले ​चेतावनी दिएका छन् ।

प्रदर्शनमा सांसद प्रदीप यादवले जनाधार र योगदानको कदर गर्नबाट नेतृत्व गम्भीर रुपमा चुकेको आरोप लगाए । मधेस आन्दोलनको उद्दगमस्थल र आन्दोलनको आँधीबेहेरी ल्याउने स्थानलाई नजर  अन्दाज गरेको आरोप लगाउँदै यादवले फोरम नेपालको स्थापनादेखि बलिदान र योगदान दिँदै आएको वीरगञ्ज फेरि ठगिएको आरोप लगाए । उनले भने, ‘पर्सामाथि अन्याय भएको छ, त्यसको नतिजा पार्टीका शीर्ष नेतृत्वले भोग्नुपर्छ ।’ 

यता, सर्लाहीबाट चुनाव जितेका प्रमोद साह पनि अगामी कदमबारे आफु निकट नेता तथा कार्यकर्ताहरूसँग सल्लाह गरिरहेका छन् । जसपाबाट मन्त्री बन्ने तयारीमा रहेका प्रमोद साहको नाम अन्तिम समयमा हटाइएको थियो । राष्ट्रपति कार्यालयमा मन्त्रीहरुको सूची पठाउने क्रममा उनको नाम हटाएर महेन्द्रराय यादवको नाम समावेश गरिएको थियो । आफ्नो नाम हटाएपछि आक्रोशित भएका साहले जसपाको नेतृत्व पंक्तिप्रति गम्भीर प्रश्न उठाएका छन् ।

उनले नेतृत्वले पार्टीमा गरेको योगदानको कदर नगरेको अनुभूति आफूलाई भएको बताए । पार्टी नेतृत्वले गरेको निर्णय एकल जातीय अहंकारवाद र दमन शोषणको नमूना रहेको उनको आरोप छ । उनले भने, ‘हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रीमण्डलमा समावेश हुनेहरूको नाम समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने थियो । तर टुंगो लगाइँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो ।’

मन्त्रिपरिषद विस्तारपछि जसपामा असन्तुष्टहरु गोलबन्द हुँदै गएको सो पार्टीका एक नेताले बताए । उनले भने, ‘यसपटक पनि पार्टीभित्रको असन्तुष्टि उपेन्द्र यादवको नियन्त्रणभन्दा बाहिर छ ।’ उनका अनुसार उपेन्द्र यादवलाई कुनै शक्तिले साथ नदिए यसपटक पनि पार्टी बचाउन मुस्किल हुनेछ । सबैभन्दा बढी असन्तुष्टि महन्थ ठाकुर पक्ष छाडेर आएका नेताहरुमा देखिन्छ । महन्थ ठाकुर पक्ष छाडेर आएका अधिकांश नेताहरुलाई मन्त्री पदको प्रलोभन दिइएको थियो । त्यसमध्ये महेन्द्रराय यादवलाई मात्र मन्त्री बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप