शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरियामा प्रवासी श्रमिकसम्बन्धी कानुन संशोधन हुँदै, नेपालीलाई फाइदा

शनिबार, २३ असोज २०७८, १४ : १७
शनिबार, २३ असोज २०७८

दक्षिण कोरिया सरकारले विदेशी श्रमिकलाई लक्षित गरी अक्टोबर १४ देखि नयाँ नियम लागु गर्ने भएको छ । कोरियाको उल्लेखित परिवर्तित नयाँ श्रम कानुन अनुसार वैधानिक रूपमा कार्यरत करिव ५० हजार नेपाली युवा लाभान्वित हुनेछन् ।

दक्षिण कोरियाको श्रम मन्त्रालयले कोरियामा ई–९ भिसा बाहक विदेशी कामदारहरूका लागि कम्पनी परिवर्तन गरे पनि प्रतिवद्ध कामदारका रुपमा पुनः कोरिया प्रवेश गर्न पाउने गरी विद्यमान नियममा परिमार्जन गरेको हो ।

यसअघि रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियामा कार्यरत बिदेशी कामदारहरु ४ बर्ष १० महिनासम्म लगातार एउटै कम्पनीमा वैधानिक रूपमा काम गरेको भए मात्रै प्रतिवद्ध कामदारका रुपमा पुनः कोरिया प्रबेश गर्न पाउने नियम थियो ।

यो नियमलाई  गत अप्रिलमा परिवर्तन गरी एउटै प्रकृतिको कम्पनीमा परिवर्तन गरेको भए प्रतिवद्ध कामदारका रुपमा कोरिया आउन पाउने नियम लागू गरिएको थियो । अहिले भने सो नियमलाई पनि परिमार्जन गरेर फरक प्रकृतिको कम्पनी परिवर्तन गरेको भए पनि प्रतिवद्ध कामदारका रुपमा कोरिया प्रबेश गर्न पाउने नियम बनाउन लागिएको हो ।

परिवर्तित नियम अनुसार जति पटक कम्पनी परिवर्तन गरे पनि अन्तिम स्वदेश फर्कने कम्पनीमा न्यूनतम १ बर्ष काम गरेको हुनुपर्ने उल्लेख गरिएको छ । पुरानो व्यवस्था अनुसार भने बढीमा ३ पटक मात्रै कम्पनी परिवर्तन गर्न पाउने र प्रतिबद्ध कामदारका रुपमा कोरिया फर्कनका लागि भने लगातार पूरै अवधि एकै कम्पनीमा काम गरेको हुनुपर्ने व्यवस्था थियो ।

अहिले भिसा सकिएर महामारी तथा संक्रामक रोग सम्बन्धी कानुन अन्तर्गत कोरोना भाइरसका कारण एक बर्ष भिसा थप गरिएका प्रवासीहरूले समेत कम्पनीले चाहेको खण्डमा कोरिया फर्कन पाउने नियम बनाइएको छ ।

अन्तिम कम्पनीमा काम गरेको एक बर्ष नपुगेका कामदारको हकमा यदि कम्पनीका कारण कार्यस्थल परिवर्तन गरेको या कोरियाको श्रम विभागले पुनः प्रवेश गर्न योग्य भनेर सिफारिस गरेको खण्डमा समेत प्रतिवद्ध कामदारका रुपमा कोरिया प्रवेश गर्न पाउने उल्लेख गरिएको छ ।

प्रतिबद्ध कामदारका रुपमा आउन पाउने शर्तहरु यस्ता छन्–  

१ . ई–९ भिसा भएको हुनुपर्ने ।

२ . उत्पादनमुलक, कृषि तथा पशुपालन, मत्स्यपालन, निर्माण तथा सेवा क्षेत्रमा वैधानिक तवरले काम गरेको हुनुपर्ने ।

३ .कम्पनी परिवर्तन गरेपछि अन्तिम कम्पनीमा न्यूनतम १ बर्ष काम गरेको हुनुपर्ने ।

४ .अन्तिम कम्पनीमा १ बर्ष नपुगेको खण्डमा श्रम कार्यालयबाट पुनः प्रवेश योग्य अनुमतिपत्र तयार गरेको हुनुपर्ने ।

५ . महामारी भिसामा कार्यरत श्रमिकको हकमा कम्पनी मालिकले पुनः ल्याउन चाहेको खण्डमा लागु हुने ।

परिमार्जित श्रम कानुनमा माथि उल्लेखित सम्पूर्ण शर्तहरु पूरा गरेको खण्डमा कोरियाबाट श्रम सम्झौता गरी स्वदेश फर्किएको एक महिनाभित्र पुनः कोरिया प्रवेश गर्न पाइने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिलिप वान्तवा
दिलिप वान्तवा
लेखकबाट थप