मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला प्रधानमन्त्री हुने दिन टाढा छैन : नवनियुक्त मन्त्री रेग्मी

शनिबार, २३ असोज २०७८, १३ : ३५
शनिबार, २३ असोज २०७८

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल काँग्रेसकै पूरानो नेता भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट बताएकी छन् । मन्त्री भएको भोलिपल्ट शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो पार्टीको पूरानो नेता हो । उहाँ भिक्टिमाइज हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको मान्छे हो । अब हेर्नुहोस्, कसैको नाता पर्यो होला । तर, उहाँ भिक्टिमाइज भएर सम्मान गरेको हो ।’

मन्त्री रेग्मीले गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था रहेको बताउँदै गजेन्द्र हमाल मन्त्री बन्दा प्रधानन्यायाधीशको सवाल जोड्न नहुने बताइन् । उनले भनिन् : ‘सर्वदलीय सहमतिबाट भएको कुरा हो । उहाँलाई मन्त्रीमा ल्याउनुपर्दथ्यो । पार्टीमा त्यत्रो योगदान गरेका मान्छेले अवसर पाउनुपर्छ ।’

कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने र त्यो समय आइरहेको  दाबी गरिन् । उनले भनिन्, ‘प्रधानमन्त्री बन्न महिला योग्य छन् । एक तिहाई महिलाहरुको हरेक ठाउँमा प्रतिनिधित्व भयो भने महिला प्रधानमन्त्री हुनसक्छन् । महिला कार्यकारी प्रमुख भएर पुगे भ्रष्टाचार कम हुन्छ । तर, महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ ।’

 राजनीति फोहोरी खेल भएको बताउँदै उनले प्रधानमन्त्री बन्नका लागि त महिलाहरु पनि यो रेसमा दौडिनुपर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो देशमा महिलाहरु राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश पनि हुनुभयो । अब प्रधानमन्त्री हुन महिला तयार भएर आउँछन् । कसैले धकेलेर हुँदैन् । यो दिन टाढा छैन् ।’ त्यस्तै, उनले पार्टीको आगामी १४ औं महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने पनि विश्वास समेत दिलाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप