शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा दशैं लक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

शुक्रबार, २२ असोज २०७८, १३ : १७
शुक्रबार, २२ असोज २०७८

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।  काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराएका हुन् । ३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा वडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ ।

चाडपर्वका कारण भिडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढने भएकाले त्यसैलाई मध्यनजर राखेर सो खोप कार्यक्रम संचालनमा ल्याइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनश्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था पनि हुने बताए ।

उनले भने, ‘काठमाडौं महानगरपालिकाभित्र आज असोज २२ गतेदेखि ३ दिनसम्म चाडपर्वलाई लक्षित गरेर खोप लगाउने कार्यक्रम छ । सार्वजनिक यातायातमा आवतजावत गर्दा पनि भिडभाड हुने भएकाले त्यस्ता गतिविधिलाई समेत न्यूनिकरण गर्ने उद्देश्यले यो खोपलाई प्रायोरिटी दिइएको हो ।’ उनले भने, ‘चाडपर्वलाई लक्षित यो कार्यक्रम काठमाडौं महानगरपालिकाभित्रका ३२ वटै वडाको ३४ वटा खोप केन्द्रबाट लगाउने कार्यक्रम रहेको छ ।’

काठमाडौं महानगरपालिकाले बिरामी नागरिकहरुलाई भने लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको जानकारी गराएको छ । स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बिरामीहरुका लागि लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको बताए । उनले पहिलो चरणको भेरोसेल खोप लगाउनेहरुलाई दशैं तिहारको बीचमा दोस्रो चरणको खोप लगाउने पाउने व्यवस्था मिलाउने जानकारी समेत दिए ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ । परिचय पत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा सो खोप लगाउने पाउने व्यवस्था गरिएको स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप