ब्युँझँदै गरेको पर्यटन क्षेत्र

person explore access_timeअसोज २२, २०७८ chat_bubble_outline0

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र अब ब्युँझिँदै गरेको आभास हुन थालेको छ । सन् २०२० को पर्यटन वर्ष घोषणाले पर्यटन व्यवसायी उत्साही बनेका थिए । सन् १९९८ र २०११ मा मनाइएको पर्यटन वर्ष र त्यसको आंशिक सफलताले सन् २०२० को भ्रमण वर्षका लागि पर्यटन व्यवसायीले आफ्ना व्यावसायिक प्रतिष्ठानको स्तरोन्नति र व्यापार विस्तारमा उल्लेख्य लगानी गरे । तर, अहिले सो समयमा लागेको ऋण, व्याज र किस्ताले पिरोलिइरहेका छन् ।

 नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । तयारीका लागि करिब ६५ करोड रूपैयाँ बजेट छुट्याइएको कार्यक्रमले नेपालको दिगो विकास र लक्ष्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आकलन थियो ।

सन् १९९८ मा आयोजना गरिएको भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा ४ लाख ६४ हजार भित्रिएका थिए भने सन् २०११ मा १० लाख लक्ष्य भए पनि ७ लाख ३६ हजार पर्यटक आएका थिए । यसबाट सरकार र व्यवसायी सकारात्मक ऊर्जासहित तयारीमा लागेका थिए ।

सुरुवातमा सन् २०१८ लाई भ्रमण वर्ष मनाउने लक्ष्य थियो तर तयारी नपुगेको भन्दै स्थगित भए पनि प्रारम्भिक तयारीसहित २०२० लाई भ्रमण वर्ष र २०२० देखि २०३० लाई पर्यटन दशकका रूपमा मनाउने र सन् २०३० मा वार्षिक ५० लाख पर्यटक भित्र्याउने योजनासहित विश्व भरका पर्यटकलाई निम्तो दिइयो ।

“नेपाल : लाइफटाइम एक्सपिरिएन्सेस’ नारासहितको भ्रमण वर्षले पर्यटकको १२ दिनको बसाइ लम्ब्याएर १५ दिन बनाउने र दैनिक खर्च ६५ डलरसम्म पुर्याएर नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको २ प्रतिशत मात्र हिस्सा रहे पनि १० प्रतिशतभन्दा बढी बनाउने महत्त्वाकाङ्क्षी योजना सरकारको थियो । तर अभियानका रचयिता रवीन्द्र अधिकारीको मृत्यु १५ फागुन २०७५ मा ताप्लेजुङ हेलिकप्टर दुर्घटना भएपछि ६ महिना मन्त्रालय मन्त्रीविहीन रह्यो । यसले गर्दा तयारीमा अवरोध सिर्जना भयो ।

 तथापि भ्रमण वर्ष २०२० मा नेपालको पर्यटनले निकै ठूलो फड्को मार्ने र नेपालका पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ हुने आकलनसहित तयारीसमेत उच्च रहेको थियो । सो कार्यक्रम सम्पन्न गर्न राज्य र निजी क्षेत्रको निकै महत्त्वपूर्ण सहकार्यसमेत भइरहेको थियो ।

पर्यटन मन्त्रालय, विभाग र पर्यटन बोर्डको नेतृत्व र कर्मचारीको सक्रियता उत्कृष्ट थियो । तर कोरानाको समस्याका कारण विसं २०७७ चैत ९ गते सरकारले भ्रमण वर्ष स्थगित गरी लकडाउन र निषेधाज्ञाको तालिका प्रकाशन गर्याे । २०२० लाई फोकस गरी नेपालले पर्यटन क्षेत्रमा गरेको लगानी र तयारी बालुवामा पानी भयो । हाम्रा आशा र उपेक्षाहरू एकातिर तर नतिजा र परिणाम अर्काे दिशातर्फ फर्किए ।

नेपालको पर्यटन इतिहास

विशेष गरी काठमाडौँ उपत्यकामा तिब्बती भिक्षु मञ्जुश्री आएर चोभार डाँडा काटेको तथा गोपालवंशी र महिषपालवंशीहरू आएर बस्ती बसाएको मान्यता छ । त्यसैगरी भारतका सम्राट अशोक नेपाल आएर बुद्ध धर्म प्रचार गर्दै उत्तर लागेको इतिहास पाइन्छ । लिच्छविकालको ६४३ मा कैलाशकुट भवनको बारेमा चिनियाँ यात्री होङ स्याङको वर्णनले त्योबेला चिनियाँ यात्रीको आवतजावत हुन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ ।

त्यसैगरी मल्लकालका राजा अंशुबर्माकी छोरी भृकुटीको ल्हासाका राजा स्रङचङ गम्पोसँगको विवाह, अरनिकोले कलामार्फत स्थापना गरेको सम्बन्ध, ल्हासा र भारतसँगको व्यापारिक मार्ग र धार्मिक पर्यटनले गर्दा नेपालमा मानिसहरूको आवतजावत भइरहन्थ्यो ।

सन् १७९२ मा क्याप्टेन कक प्याट्रिक जो बेलायती सैनिक थिए उनले ‘एन अकाउन्ट अफ द किङ्डम अफ नेपाल’ पुस्तक लेखे । यसले नेपालको परिचय पश्चिमा मुलुकमा स्थापित गरायो ।

जङ्गबहादुर राणाको युरोप भ्रमणपछि केही जीवशास्त्री र प्रकृतिशास्त्री नेपाल आए र सन् १९११ र १९२१ मा बेलायती राजा जर्ज र राजकुमार वेल्स बाघ सिकारका लागि आएपछि मानिसको ध्यान नेपालतर्फ खिचियो ।

नेपालको बाह्य जगतसँग सम्बन्ध स्थापना भएसँगै हिमाल आरोहणका लागि अनुमति दिन थालियो । २९ मे १९५३ को तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि सन् १९५५ रसियन नागरिक बोरिसले काठमाडौँमा होटेल स्थापना गरे । त्यसैगरी सन् १९६४ पछि नेपाली ट्रेकिङका पिता मानिने जिम्मी रोबर्टका कार्यहरुको पनि उच्च महत्त्व छ ।

राणा शासनले गर्दा बाहिरी विश्वसँग विच्छेद भएको सम्पर्क प्रजातन्त्रको स्थापनापछि जोडियो । पहिले इस्ट इन्डिया कम्पनीअन्तर्गत बेलायती सरकारले भिसा दिन्थ्यो तर पछि नेपालले नै पर्यटक भिसा दिन थाल्यो ।

सन् १९५६ मा फ्रान्सेली नागरिक जर्ज लेब्रेकको सक्रियतामा पर्यटन काउन्सिलको स्थापना र सोही वर्ष पर्यटक विकास बोर्डको स्थापना भएपछि पर्यटन क्षेत्रले व्यवस्थित स्वरूप प्राप्त गर्न थाल्यो ।

त्यसैगरी सन् १९५८ मा शाही नेपाली वायुसेवा निगमको स्थापना र सन् १९६० को दशकदेखि हिप्पी संस्कृतिको सुरुवात भएपछि गाँजा र चरेसको खुल्ला प्रयोगका लागि पनि मानिसहरू भित्रिन थाले । यी सबै गतिविधिका कारण सन् १९६० मा भित्रिएका ६ हजार पर्यटक सन् १९९९ मा ४ लाख ९० हजारको सङ्ख्यामा बढोत्तरी भए ।

तर बिस्तारै सही स्वरूप र गति प्राप्त गरेको पर्यटन क्षेत्रले सन् १९९८ को भ्रमण वर्षको एक वर्षपछि सुरु भएको माओवादी जनयुद्ध, जहाज अपहरण, दरबार हत्याकाण्ड, राजनीतिक अस्थिरता र आन्दोलन, भूकम्प र पुरातात्त्विक सम्पदामा परेको असर आदिले गर्दा आशातित सफलता हासिल गर्न सकेको देखिँदैन । सरकारले लुम्बिनी भ्रमण वर्ष २०१२ आयोजना गर्दै केही कदम बढाए पनि समग्र तयारी र व्यवस्थापनमा कमी हुँदा उल्लेख्य प्रगति हुन सकेन ।

बाह्य पर्यटकको आकर्षण

नेपालमा विशेष गरी तीन प्रकारका पर्यटक भ्रमणमा आउँछन्– देशाटन गर्ने (व्यावसायिक प्रयोजनका लागि आउने, तीर्थाटन गर्ने (धार्मिक प्रयोजनका लागि आउने) र पर्यटन गर्ने (मनोरञ्जनात्मक तथा ज्ञानको प्रयोजनका लागि आउने) ।

नेपालमा धेरै पर्यटक आउने देश भारत, चीन, अमेरिका, बेलायत, श्रीलङ्का, थाइल्यान्ड, दक्षिण कोरिया आदि हुन् । साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्यमा पर्छ । नेपालमा आउने पर्यटकका मुख्य गतिविधि हिमाल आरोहण ९८ हजार मिटरभन्दा अग्ला दस हिमालमध्ये ८ नेपालमै हुनु (ट्रेकिङ– भौगोलिक, सांस्कृतिक र रहनसहनमा भएको विविधता अवलोकन, पन्छी अवलोकन, ९,६४६ प्रजातिका चरा नेपालमा पइनु, काठमाडौँ वरपर मात्र ५०० प्रजातिका चरा हुनु) आदि हुन् ।

मुख्यतः नेपालको प्राकृतिक सुन्दरता, विश्वको सर्वाेच्च शिखर सगरमाथा, आकर्षक र सुन्दर धेरै हिमालहरू, पर्वतारोहण, साहसिक पदयात्रा तथा जलयात्रा, धार्मिक महत्त्वका स्थान विशेषतः पशुपति, लुम्बिनी, जनकपुर, मुक्तिनाथ, मानसरोवर यात्राका लागि विभिन्न मुलुकबाट आउने जाने श्रद्धालु, कला, संस्कृति, भेषभूषा, धार्मिक तथा सामाजिक परिवेशलगायत यहाँका विभिन्न पर्यटकीय गन्तव्य र गतिविधिहरू नेपालमा बाह्य पर्यटक तान्ने आकर्षक र प्रमुख आधार हुन् ।

घुमघाम र होटल

प्राचीन समयमा मानिसहरू एक ठाउँबाट अर्काे ठाउँमा आवतजावत गर्ने समयमा मठ मन्दिर, गुम्बा, चैत्य, पाटी, पौवा, ओढार, ढुङ्गाका कपेराहरूमा आफूसँगै रहेका गुन्द्री र काम्लोको जुगाडमा बस्ने गरिन्थ्यो । यस्तो यात्रा र बसाइ कतिपय समयमा अत्यन्तै असुरक्षित, कष्टकर र भयानकसमेत हुने गथ्र्यो ।

अरूको घरमा बास बस्ने र मितेरी साइनो गाँस्ने गरेका रोचक प्रसङ्ग सुन्न पाइन्छ । अत्यावश्यक अवस्थामा हुने यस्तो यात्रामा विस्तारै विकृति आउन थाले । यात्राको क्रममा कति मानिस लुटिने, वादविवादमा पर्ने, कतिपय ठाउँका यात्रुहरूको ज्यानैसमेत जान्थ्यो । त्यस्तै घटनाहरूलाई जोडेर कतिपय स्थानको नामकरणसमेत गरेको पाइन्छ । जस्तै गुल्मीको चोरकाटे, घोडा खसे, नवलपुरको चोरमारा, बाग्लुङको घोडा बाँधे आदि आदि ।

यस्तै यात्रा, खानपान र बास बस्ने परम्पराको विकसित रूप नै होटल र रेस्टुरेन्टहरु हुन् । सबै ठाउँमा सहयोग गर्ने मानिस नहुनु, प्राकृतिक र मौसमी अवस्था अनुकूल नहुनु र सुरक्षित नहुने कारणले गर्दा मानिसले होटल र रेस्टुरेन्टको आवश्यकता महसुस गर्न थाल्यो भने परम्परागत पेसा अँगालेका मानिसले त्यसको विकल्प खोज्न थाले ।

मठ, मन्दिर, पार्टी, पौवा र घरमा बास बस्ने यात्रु विस्तारै बाटाघाटाको छेउछाउहरूमा बनेका साना गेस्ट हाउस, लज तथा होटलहरूमा बस्न थाले । सुरुमा यस्तो वर्गका पर्यटकहरूलाई व्यवसायीहरूले खानाको सामान्य रकम लिई बस्नका लागि खाट वा ओछयान सित्तैमा उपलब्ध गराउने गर्थे ।

होटलको खानपान र आम बुझाइ

होटल भन्नासाथ हामी के अनुमान गर्छाैं भने खाना, नास्ता खाने र बास बस्ने ठाउँ हो । केही वर्षअगाडि मात्र हेर्ने हो भने नेपालीहरूको होटलप्रतिको धारणा फरक थियो । मादक पदार्थ सेवन गर्ने ठाउँ, झैझगडा हुने ठाउँ, सीमित जातजातिको पारिवारिक पेसा, होटल रेस्टुरेन्ट बाहुन क्षेत्रीले जानु हुँदैन र त्यहाँ गएर खानु हुँदैन भन्ने धारणा थियो । तर अहिले आम मानिसको सोचमा धेरै नै परिवर्तन आएको छ ।

हिजो जसले त्यस्तो सोच राख्थे आज उनीहरूको परिवारको दोस्रो, तेस्रो पुस्ताले होटलकै बारेमा शिक्षा लिँदै छन् । वैदेशिक रोजगारीको सिलसिलामा होटल रेस्टुरेन्ट क्षेत्रमा नै आबद्ध छन् । नेपालमै पनि कतिपयले ठूला होटलका महत्त्वपूर्ण विभाग सम्हालेका छन् भने धेरैले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा लगानीसमेत गरेका छन् । यसको उदाहरण म आफै पनि रहेको छु ।

खुल्दै गएको परिचय र परिभाषा

अहिले यो व्यवसायसँग मानिसको सम्बन्ध अपरिहार्य नै भइसकेको छ । सुरक्षा, स्वास्थ्य, मनोरञ्जन, शिक्षा, हैसियत, परिवारको भविष्य, कला, संस्कृति र संस्कारसँग पनि जोडिएको छ । मानिसको बसाइ सुरक्षासँग जोडिएको हुन्छ । खानपान स्वास्थ्यसँग जोडिएको छ । विभिन्न चाडपर्वमा हुने कार्यक्रम आपसी सम्बन्ध विकास र विस्तारसँग सम्बन्धित हुन्छ । त्यसैगरी होटल तथा रेस्टुरेन्टमा गरिने स्वागत, सत्कार, मानिसको रोजाइ, रमाउने पर्व संस्कृति र व्यवहार तथा गतिविधिबाट धेरै कुराको पहिचान गर्न सकिन्छ ।

आन्तरिक पर्यटनको विकास, परिस्थिति, कोरोना काल

कोरोनाले गर्दा सन् २०२० मा विश्वको बाह्य पर्यटनमा ८० प्रतिशतले गिरावट आएको आँकडा छ भने आन्तरिक पर्यटनमा ७५ प्रतिशतले गिरावट आएको छ । विश्वमा सबैभन्दा बढी भ्रमण गरिने देश फ्रान्स, स्पेन, अमेरिका, चीन, इटाली आदि हुन् । यी सबै देशको भ्रमणका आफ्नै विशेषता छन् र ती देशहरूका आफ्नै खालको योजना छन् ।

अफ्रिकी देशहरू इजिप्ट, मोरोक्को तथा एसियाका चीन, थाइल्यान्ड, जापान, साउदी अरेबिया, यूएई आदिले देशले मौलिक पर्यटन क्षेत्रको स्थापना र विकास गरेका छन् ।  हवाई कम्पनी, ट्राभल व्यवसायी, यातायात व्यवसायी, होटेल तथा रेस्टुरेन्ट व्यवसायी, महोत्सव, सांस्कृतिक, धार्मिक तथा खेल कार्यक्रम आयोजक, पथप्रदर्शक आदि क्षेत्र कोरोनाले मुख्य असर गरेका पर्यटनका क्षेत्र हुन् ।

सञ्चारका साधनको विकासले विश्व नै ग्लोबल भिलेजका रूपमा स्थापित हुनु, सामाजिक सञ्जालको प्रयोगमा तीव्र वृद्धि हुनु, मिडियामा आम मानिसको पहुँचको विकास हुनु, नेपालीहरूमा यात्रा गर्ने इच्छाशक्ति बढ्दै जानु, यातायात र सडक सञ्जाल, आन्तरिक हवाई उडानमा सहज पहुँच हुनु, वैदेशिक रोजगारी, रेमिट्यान्स र करिब करिब ४० प्रतिशत नेपालीको अन्तर्राष्ट्रिय परिवार (करिब ४० प्रतिशत नेपालीको परिवारको सदस्य वा आफन्त विदेशको नागरिक रहेको अवस्था), राजनीतिक स्थिरता र शान्ति आदि कारणले नेपालको आन्तरिक पर्यटन क्षेत्रको विकास भइरहेको छ ।

निषेधाज्ञा खुलिसकेपछिका योजना र चुनौती

सरकारले निषेधाज्ञा हटाएसँगै विस्तारै चलायमान हुन लागेको यो क्षेत्रमा अझै चुनौतीका पहाड यथावत् छन् । केही समय मानिसहरू आफ्ना दैनिक र अनिवार्य आवश्यकतामा मात्र ध्यान केन्द्रित गर्ने हुँदा मनोरञ्जन र विलाशितामा खर्च गर्न आर्थिक हैसियत पुग्दैन र बाह्य पर्यटकको आगमन पनि शून्यप्रायः छ ।

यस्तो अवस्थामा व्यवसायीले लगानी गर्दा आन्तरिक र बाह्य पर्यटकलाई उत्तिकै आकर्षित गर्ने खालका कार्यक्रम र योजनाहरू ल्याउनु जरुरी छ । जसका कारण सेवाग्राहीको मनलाई सजिलै प्रभाव पार्न सकियोस्, न्यूनतम् शुल्कमा उच्च खालको सेवा दिन सकियोस् । नेपाली स्वाद, कला, संस्कृतिको व्यावसायिक तरिकाले प्रयोग गर्न सकियोस् । यसमा विशेष ध्यान दिनु जरुरी छ ।

त्यसैगरी विदेशी स्वादलाई महत्त्व दिएर खोलिएका रेस्टुरेन्ट अझै केही समय धराशायी हुन सक्छन् । तिनलाई विज्ञ तथा मास्टर सेफहरूको सुझावमा नेपाली स्वादसँग फ्युजन गराउन सके राम्रो हुनेछ । सिङ्गल क्युजिनभन्दा मल्टी क्युजिन फुड सर्भ गर्ने होटल तथा रेस्टुरेन्टलाई यो परिस्थितिमा केही सहज हुने देखिन्छ ।

होटल रेस्टुरेन्टले केही समयका लागि भड्किला र महँगा विदेशी खाना र पेय पदार्थहरू समेटिएका मेनुको साइज घटाउँदा खर्चमा केही राहत मिल्ने देखिन्छ । तारे होटलले समेत नेपाली खानाका परिकार र नेपाली कला, संस्कृति झल्किने रेस्टुरेन्ट अनिवार्य बनाउनुपर्ने पर्यटन मन्त्रालयको निर्णय दूरगामी र उचित भएको कुरा कोरोनाकाल पछिको समयले थप पुष्टि गरेको छ ।

 

नेपाली खानाका परिकारलाई प्रत्येक मानिसको जिब्रोमा ल्याउनु र प्राचीन परिकारलाई ब्रान्डिङ गर्नु, त्यसमा पाइने पोषण तत्त्वको विषयमा थप व्याख्या गरी आम मानिसलाई बुझाउन जरुरी देखिन्छ । महामारीबाट होटल व्यवसायी अन्य क्षेत्रको तुलनामा अत्यन्तै बढी प्रभावित छन् ।

ऋण, धन, वित्तीय संस्था र पैतृक सम्पत्तिसमेत धितो राखेर गरेको व्यवसायलाई कोरोनाले प्रभाव पारेको छ । साना तथा मझौला व्यवसायीहरू भाडा, महसुल, हर्जानाले मर्कामा छन् भने ठूला व्यवसायीलाई बैङ्क, व्याज, किस्ता, धितो र लिलामीले सताएको छ ।

खोप अझै पनि सबैको पहुँचमा नपुगेको अवस्थामा सकेसम्म होटल, रेस्टुरेन्ट, इभेन्ट सेन्टरका कर्मचारी र व्यवसायी, यातायात कर्मचारी, टुरिस्ट गाइड तथा पोर्टरहरूलाई समेत प्राथमिकतामा राखेर खोपको व्यवस्था गर्ने र सबै नागरिकलाई समेत खोपको पहुँचमा पुर्याएर स्वास्थ्य मापदण्डका आधारमा व्यवसाय सञ्चालन गर्न दिएर यसलाई चलायमान गराउन जरुरी छ ।

दक्ष कर्मचारी बेरोजगार भएको अवस्थामा होटल रेस्टुरेन्ट तथा पर्यटकीय क्षेत्रमा कार्य गर्ने दक्ष जनशक्तिले गाउँघरमा गएर सामान्य काम गरिरहेका छन् । कतिपय युवाहरू कुलतमा फस्ने समस्या बढेको छ । त्यस्तै विदेशबाट रोजगारी गुमाएर फर्केका युवा शक्तिलाई भोलि कुनै गलत सोच राख्ने व्यक्ति वा समूहले प्रयोग गर्न खोज्यो भने फेरि देशमा शान्ति खलबलिन सक्छ । राज्यले यो विषयलाई सही तरिकाले व्यवस्थापन गर्न सकेन भने ठूलो चुनौती खडा हुन सक्छ ।  

यो सवाल मजस्तै यो क्षेत्रका व्यवसायीहरूलाई चिन्ताको विषय हुन सक्छ । यसबाट एकातिर राज्यलाई समेत ठूलो नोक्सानी हुनेछ भने अर्कातिर व्यवसायमा पनि लामो समयसम्म सङ्कट देखा परिरहनेछ ।

 (-लेखक प्रेसिडेन्ट ग्रुपका अध्यक्ष तथा होटल व्यवसायी महासङ्घ नेपालका सचिव हुन्) 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।