मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल समूहभित्र तीन गुटलाई दुई मन्त्री टुंग्याउन सकस, प्रकाशमान आक्रोशित

मन्त्री चयनमा देउवाको यस्तो छ 'हिडन' रणनीति
शुक्रबार, २२ असोज २०७८, १० : ४५
शुक्रबार, २२ असोज २०७८

सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपनि नेपाली काँग्रेसमा भने विवाद देखिएको छ । काँग्रेस मन्त्रालयको भागबण्डामा असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रीको नाम दिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय ७ जना नेतालाई सरकारमा सहभागी गराउन खोजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह २ मन्त्रालय स्वीकार नगर्ने अडानमा छ ।

बुधबार बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेको थियो । तर, प्रधानमन्त्री देउवाले २ भन्दा बढी मन्त्रालय दिन नसक्ने बताएपछि पौडेल समूह असन्तुष्ट भएको हो । पौडेलले आफ्नो समूहमा भएका तीन (पौडेल, कोइराला र सिंह) गुटबाट एक–एक जना सरकारमा पठाउनुपर्ने बाध्यता सुनाएका थिए । तर, देउवाले पौडेलको वाध्यताको सुनुवाइ गरेनन् ।

देउवाले महाधिवेशनमा सहयोग गर्ने सर्तमा पौडेल समूह छोडेर आउने नेतालाई आफ्नो तर्फबाट मन्त्री बनाउने रणनीति बनाइरहेको बालुवाटार स्रोतको भनाइ छ । मन्त्री बनाउँदा पौडेल समूहमा देखिने असन्तुष्टि क्यास गर्ने देउवाको तयारी रहेको उनी निकट नेता बताउँछन् । अहिलेसम्म देउवाले किस्ता–किस्तामा गरी गृहमा बालकृष्ण खाण, कानुनमा ज्ञानेन्द्र कार्की, परराष्ट्रमा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन् ।

उनी अझै आफ्नो समूहबाट एक मन्त्री र दुई राज्यमन्त्री बनाउने तयारीमा छन् । पौडेल समूहका लागि दुई मन्त्रालय छुट्याएका प्रधानमन्त्री देउवाले सिटौला समूहका लागि एक मन्त्री भाग लगाएका छन् । सिटौला समूहमा दुई मात्र सांसद भएकाले यसमा कुनै समस्या छैन । तर, पौडेल समूहमा भने तीन समूहबीच दुई मन्त्रीको नाम दिन सकस परेको छ । पौडेलले दिलेन्द्र बडू र तेजुलाल चौधरी मध्ये एक जना रोज्ने पक्का छ । 

यता महामन्त्री शशांक कोइरालाले सुजाता कोइराला र मिनेन्द्र रिजाल मध्ये एक जना उठाउन खोजेका छन् । प्रधानमन्त्री देउवाले दुई मन्त्रालय मात्र दिने बताएपछि प्रकाशमान सिंहले भाग नपाउने अवस्था आएको छ । सिंहले राजन केसीलाई मन्त्री बनाउन खोजेका थिए । पौडेल र कोइराला पक्षबाट सरकारमा सहभागिता हुने देखिएपनि सिंह आक्रोशित छन् । पौडेल समूहको बैठकमा देउवासँग संसदीय दलमा भिडेकाले पार्टीको विपक्षी नेता आफू भएको सिंहको दाबी थियो । 

‘संसदीय दलमा शेरबहादुर देउवासँग भिड्ने म । अनि मलाई बाइपास गरेर विपक्षी समूहबाट अरुले भाग खोज्ने ? हिजो शेरबहादुरलाई संसदीय दलको नेतामा भोट दिनेहरु आमज विपक्षी समूहबाट भाग खोजेर हुन्छ ,’ सिंहको आक्रोश थियो । संसदीय दलको नेतामा देउवालाई भोट दिएका महामन्त्री शशांक कोइरालामाथि आरोप छ । तर पौडेल पक्षले मन्त्रीको नाम दिन ढिलाइ गरेको देउवा पक्षको गुनासो छ ।

देउवा निकट एक नेताले रातोपाटीलाई भने, ‘पौडेल समूह भनेको छ । तर त्यसभित्रका पनि उपगुटले भाग खोजिरहेका छन् । उहाँहरुको यस्तै किचलोले पार्टीका विभाग समयमा बन्न सकिएको थिए । यतिबेला मन्त्रीमा पनि त्यस्तै छ ।’ सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टी पार्टीभन्दा काँग्रेसमा मन्त्री चयनको रडाको मच्चिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप