बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रजिष्ट्रार प्रसाईले आफ्नै श्रीमतीलाई कार्यालय सहायकका रुपमा नियुक्त गरे

बिहीबार, २१ असोज २०७८, २१ : ३५
बिहीबार, २१ असोज २०७८

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आफ्नै श्रीमतीलाई प्रतिष्ठानको कार्यालय सहायक पदमा नियुक्त गरेका छन् । रजिष्ट्रार प्रसाईले बुधबार पत्नी कमला प्रसाई निरौलालाई कार्यालय सहायक पदमा नियुक्त गरेका हुन् ।

सो पदमा एक जना कर्मचारी माग भएकोमा रजिष्ट्रार प्रसाईंको श्रीमतीसहित अन्य पाँच जनाले आवेदन दिएका थिए । रजिष्ट्रार प्रसाई आफै उम्मेदवारहरूको परीक्षा र अन्तर्वार्तामा सहभागी भएका थिए । प्रसाईको संयोजकत्वमा रहेको पदपूर्ति समितिले कार्यालय सहायकसहित विभिन्न पदमा कर्मचारी नियुक्त गरेको छ ।

सो समितिको सदस्य सचिवमा प्रतिष्ठानका प्रशासकीय अधिकृत अमर अधिकारी, सदस्यमा प्रतिष्ठानका संयोजक चिरञ्जिवी चुडाल र अन्य विज्ञ रहेका छन् । प्रसाईले प्रदेशको लोकसेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्नुपर्ने प्रावधान विपरीत पदपूर्ति गरेका हुन् ।

लोक सेवा आयोगको प्रावधान मिचेर रजिष्ट्रार प्रसाईले कार्यविधि बनाएर प्रतिष्ठानका लागि विभिन्न १० पदमा विज्ञापन प्रकाशन गरेका थिए । प्रतिष्ठानले प्रकाशित विज्ञापनको असोज १२ र १३ गते क्रमशः लिखित र मौखिक परीक्षा संचालन गरेको थियो । उक्त परीक्षाको नतिजा बुधबार सार्वजनिक गरिएको थियो ।

रजिष्ट्रार प्रसाईले आफ्नो श्रीमतीले प्रतिष्ठानमा काम गर्न नपाउने प्रावधान नरहेको भन्दै नियमसंगत रुपमै नियुक्ति गरिएको बताए । उनले वर्षौंदेखि नर्सिङ सेवामा काम गरेको अनुभव र योग्यताका कारण श्रीमतीले नियुक्ति पाएको उनले बताए । आफ्नो श्रीमतीले जागिर खान नपाउने कुरा कुनै कानुनमा नलेखिएको भन्दै उनले लेखिएको भए त्यस्तो प्रावधान देखाउन चुनौतीसमेत दिए ।

उनले सो पदपूर्ति समितिमा रहे पनि आफू परीक्षाको कुनै प्रक्रियामा सहभागी नभएको दाबी गरे । विगतमा रजिष्ट्रार पदमा नियुक्तिका विषयमा पनि विभिन्न टीका टिप्पणी भएकाले यस्ता टिप्पणी कुनै नौलो कुरा नभएको उनले बताए ।

रजिष्ट्रार प्रसाई बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईका छोरा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप