बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँचथरमा बालिका मृत्यु प्रकरण : स्थानीय प्रशासन र परिवारबीच सहमति

बिहीबार, २१ असोज २०७८, १८ : २९
बिहीबार, २१ असोज २०७८

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो ।

 घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ । नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ तथा जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो ।

यस्तै मृतक बालिकाका परिवारका सदस्यलाई उपयुक्त समयमा रोजगारीका लागि प्रयत्न गर्ने, मृतक बालिकाको काजकिरियाका लागि रु ४० हजार रकम अस्पताल विकास समिति र रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराउने सहमति भएको छ ।

यस्तै आवश्यक कानूनी प्रक्रिया पूरा गरी बालिकाको शव अस्पतालबाट उठाई शव परीक्षण गरी अन्तिम संस्कार गर्ने सहमति समेत भएको छ । फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा हिजो बिहान मृत्यु भएपछि जिल्ला अस्पताल तनावग्रस्त बनेको थियो । प्रशासनले अस्पताल क्षेत्रको सुरक्षालाई ध्यान दिइ नियन्त्रणमा नलिँदा उत्तेजित भीडले गरेको आगजनीमा अस्पतालका संरचनामा ठूलो क्षति पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप