मिथिलाञ्चलमा यसरी मनाइन्छ विजय दशमी
हिन्दु धर्मावलम्बीहरूको विजय दशमी (दुर्गा पूजा) बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ । मिथिलाञ्चलमा नवरात्री अर्थात् दुर्गा पूजाको विशेष महत्त्व छ । मिथिलाञ्चलमा असोज शुक्ल प्रतिपदाका दिन घर, गाउँ तथा शक्ति पीठहरूमा घटस्थापना गरेर नवरात्री पूजाको आरम्भ हुन्छ । बिहीबार मिथिलाञ्चलका शक्तिपीठहरु, गाउँ गाउँमा मनाइने प्रतिमा पूजा, घर आदि स्थलमा घटस्थापना गरेसँगै दुर्गा पूजाको आरम्भ भएको छ ।
नवरात्रीमा माता दुर्गाका ९ अवतारको पूजा गरी मनाइने परम्परा रहेको छ । नवरात्रीको पहिलो दिन जमरा काट्नका लागि माटोमा शुद्ध जौ छर्केर त्यसमाथि नदी अथवा तलाउबाट रातो कपडाले बेरिएको घैँटोमा जल भरेर राख्ने गरिन्छ । यस विधिलाई मिथिलाञ्चलमा कलस्थापना भनिन्छ । कलस्थापना अघि मिथिलाञ्चलमा कलश यात्रा निकाल्ने परम्परा समेत रहेको छ ।
पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गरेर सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिन्छ । यो विधिसँगै मिथिलाञ्चलमा नवरात्री पर्वको आरम्भ हुन्छ । दुर्गा माताका विभिन्न स्वरूपहरूको पूजा अर्चना गर्नका लागि एक काठको फलियामा रातो कपडा बिछाएर त्यसमा चामलको गणेश , षोडशमातृका एवं नवग्रह बनाउनु पर्छ । पूजा स्थलको इशान कोणमा कलशको स्थापना गर्नुपर्छ । कलश तामा वा माटोकै हुनु पर्छ । कलश मुनी बालुवा एवं गाइको गोबरको मिश्रणमा जौ मिलाएर पानीले त्यसलाई सिञ्चित गर्नुपर्छ । यसो गर्नाले कलश मुनी अति सुन्दर जौ उम्रिन्छ । यसरी उम्रेको जमरा अथवा जयन्ती भन्ने गरिन्छ ।
काठको फलियामाथि दुई जलपात्र राख्नु पर्छ । एक जलपात्रमा पाँच पात भएको आँपको पल्लव लगाएर माटो, चाँदी या काँसको भाँडोमा घिउको दियो जलाउनु पर्छ । कलश मुनी तेलको ज्योति जलाउनु पर्छ । किनकि तेलको ज्योतिले पापको नाश हुन्छ र घिउको दीपक जलाउनाले घरमा खुसी एवं आनन्द बनिरहन्छ । यी दुइवटै ज्योति अखण्ड रूपमा नवरात्री भर जलिरहनु पर्छ ।
असोज शुक्ल प्रतिपदाबाट सुरु हुने दुर्गा पूजा असोज शुक्ल दशमीका दिन विजय दशमी पर्व मनाउँदै दुर्गा पूजाको विधिवत् रूपमा समापन हुन्छ । जसरी संसारको रचना ब्रह्माण्डको अन्धकारको गर्भबाट नौवटा ग्रहका रूपमा भयो, ठिक त्यसरी नै मानव जीवनको रचना पनि माताको गर्भमा नौ महिनाको अन्तरालमा हुन्छ । मनुष्य योनीको लागि गर्भका यी नौ महिना नवरात्री कै तरह हुन्छन् । नवरात्रीको अर्थ शिव र शक्तिका ती नौ दुर्गाहरूका रूपसँग सम्बन्धित छ, जसले संसारलाई प्रारम्भकाल देखि नै जीवन ऊर्जा प्रदान गरेका छन् । साथै संसार र प्रकृतिको बनावटमा स्त्री शक्ति तथा माताको शक्तिको प्रधानतालाई स्पष्ट गर्दछ ।
दुर्गा पूजामा माता दुर्गाको ९ स्वरूपको पूजा गर्ने गरिन्छ ।
पहिलो दिन– नवरात्रीको पहिलो दिन शैलपुत्री माताको पूजा गरिन्छ । शैलपुत्रीको लुगाको रङ्ग रातो हुन्छ । त्यसैले नवरात्रीको प्रथम दिन रातो रङ्गको लुगा लगाउँदा राम्रो हुन्छ ।
दोस्रो दिन– नवरात्रीको दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा गरिन्छ । यस दिन नवरात्रीका साधकहरूले निलो रङ्गका लुगा प्रयोग गर्नुपर्छ ।
तेस्रो दिन–नवरात्रीको तेस्रो दिन माता चन्द्रघण्टाको आराधना गरिन्छ । यस दिनमा साधकले पहेँलो रङ्गको लुगा लगाएर पूजा गर्नु पर्छ ।
चौथो दिन– माता दुर्गाको चौथो स्वरूप कुष्माण्डा देवी हुन् । यस दिन कुष्माण्डा देवीको स्तुति तथा पूजा गरिन्छ । कुष्माण्डा मातालाई कुभिन्डोको बलि दिने मिथिलाञ्चलमा परम्परा रहेको छ । यस दिन साधकले हरियो रङ्गको लुगा लगाउनु पर्छ ।
पाँचौँ दिन–नवरात्रीको पाँचौँ दिन माता स्कन्दमाताको उपासना गरिन्छ ।
छैटौँ दिन–माता दुर्गाको छैटौँ स्वरूपको नाम कात्यायनी देवी हो । यस दिन माता कात्यायनी देवीको पूजा अर्चना गरिन्छ । छैटौँ दिन साधकहरूले सुन्तला रङ्गको लुगा लगाउनु पर्छ ।
सातौँ दिन–नवरात्रीको सातौँ दिनमा कालरात्रिको उपासना गरिन्छ । यस दिन साधकहरूले सेतो रङ्गको लुगा लगाउनु पर्छ । मिथिलाञ्चलमा ४ रात्रिमध्ये कालरात्रिको विशेष महत्त्व रहेको छ । यस दिन भक्तजनहरू रातभर जाग्राम बसेर माताको पूजा आराधना गर्छन् ।
आठौँ दिन–आठौँ दिन दुर्गाको आठौँ शक्ति महागौरीको पूजा गरिन्छ । महागौरीको स्वरूप गौर रङ्गको हुन्छ ।
नवौँ दिन–नवरात्रीको नवौँ दिन आदि शक्ति माता सिद्धदात्रीको आराधना गरिन्छ । माता सिद्धिदात्रीको पूजासँगै विधिवत् रूपमा नवरात्रीको समापन हुन्छ ।
मिथिलाञ्चलमा मनाइने नवरात्री पूजामा ‘बेलनोती’, ‘बेलतोड़ी’, ‘खोइछ भरी’, ‘कुमारी भोजन’ आदि विधिले अन्य स्थलमा मनाइने दुर्गा पूजाको परम्परासँग पृथक र विशिष्ट बनाउँछ ।
नवरात्रीको छैटौँ दिन बेलनोती विधि गर्ने परम्परा रहेको छ । यस दिन माता कात्यायनीको पूजा गर्नुका साथै दुर्गा पूजा हुने स्थलहरूमा बेललाई निमन्त्रण दिने परम्परा रहेको छ । सो दिन बेलको रुखमा रहेको जुम्ल्याहा बेललाई पहेँलो वा रातो कपडामा बाँधेर विधि विधान पूर्वक निमन्त्रण दिने परम्परा रहेको छ । यो विधिलाई मिथिलाञ्चलमा ‘बेलनोती’ विधि भन्ने गरिन्छ । दसैँको सातौँ दिन निमन्त्रण दिइएको बेललाई काटेर पूजा स्थलमा भित्र्याउने परम्परा रहेको छ । यो विधिलाई मिथिलाञ्चलमा ‘बेलतोड़ी’ विधि भन्ने गरिन्छ ।
सोही दिन मिथिलाञ्चलका महिलाहरू शक्तिपीठ वा पूजा स्थलमा ‘खोइछ भरी’ विधि गर्ने परम्परा समेत रहेको छ । महिलाहरूले शक्तिपीठमा गएर दुबो, धान, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउने गर्छन् । जसलाई मिथिलाञ्चलमा ‘खोइछ भरी’ विधि भनिन्छ ।
मिथिलाञ्चलमा नवरात्रीको ९ दिनसम्म निराहार व्रत गर्ने परम्परा छ । निराहार व्रत गर्नेहरूले दुर्गा पूजाको नवौँ दिन कुमारी कन्यालाई पूजा गरेर भोजन गराउने परम्परा रहेको छ । जसलाई कुमारी भोजन भनिन्छ ।
विजय दशमी जयन्ती (जमरा)सँगै टिका लगाउने र ठुलाबडाको आशीर्वाद लिने गरिन्छ । माटोको मूर्ति बनाएर पूजा आराधना बनाइएको हुन्छ । सोही दिन मूर्तिहरू विभिन्न नदी तलाउमा सेलाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने