कश्यपको कथा : सनकसिंहको सनक

person explore access_timeअसोज २१, २०७८ chat_bubble_outline0

उहिले कुनै बेला विलासपुरमा सनकसिंह नामका राजा थिए । नामजस्तै स्वाभाव पनि सन्काहा नै थियो । देश र जनतको वास्ता थिएन । सधैँ भोगविलासमा रमाउँथे, रमाउन चाहन्थे । राजा त्यस्तो भएपछि प्रजा पनि त्यस्तै हुने नै भए । यथा राजा तथा प्रजा भन्ने त भनाइ नै छ । उनीहरू पनि भोगविलासमै दिन बिताउँथे । देशको चिन्ता कसैलाई पनि थिएन । 


देशको नाम विलासपुर, राजा विलासी, जनता विलासी भएपछि के थप चाहियो र । सर्वत्र चौपट, सर्वत्र बेथिति, सर्वत्र मनोमानी, भोगविलास, ऐसआराम । देश गरिबमाथि गरिब हुँदै गयो, जनता अल्छीमाथि अल्छी हुँदै गए । त्यसमाथि एकपटक यस्तो समय पनि आयो लामो समय पानी परेन; जसका कारण उत्पादन घटेर कडा अनिकाल छायो । जनता खान नपाएर हाहाकार गर्न लागे । कोही भोकभोकै दिन बिताउन लागे, कोही रुखको बोक्रा कोपर्नतिर । तैपनि राजालाई कुनै चिन्ता थिएन ।



जनताको क्रन्दन बढ्दै गएपछि मन्त्रीहरूले राजासमक्ष गएर गुहार माग्दै भने–



‘सरकार ! जनता खान नपाएर मर्न थालेका छन् ।’



राजा आफ्नै मस्तीमा थिए । केही थाहा नभएजस्तो गर्दै सोधे–



‘किन ?’

‘किनकि लामो सयमदेखि देशमा उत्पादन हुन सकेको छैन ।’

‘उत्पादन नहुनुको पनि कारण होला नि ?’

‘छ महाराज ! ठूलै कारण छ ।’

‘के हो त कारण हामी पनि सुनौँ न ।’

‘सरकारलाई थाहै छ । लामो समयदेखि पानी परेको छैन ।’

‘पानी नपरेर के भो त ?’

‘जमिन सुक्खा छ, खोलानाला सुके, सिँचाइ छैन ।’

‘सिँचाइ गर्नु नि, कसले छेकेको छ र ?’

‘गाउँका खोलानाला सबै सुके ।

‘बेँसीको बूढो खोला त सुकेको छैन होला नि ?’

‘त्यो त सुकेको छैन ।’

‘त्यहीँको पानी फर्काएर सिँचाइ गर्नू ।’

‘तल खोलाको पानी माथि कसरी फर्काउने महाराज !’

‘त्यो पनि मैले नै भन्नुपर्ने हो र ? त्यसोभए तिमीहरूको के काम ?’

‘रिसानी माफ होस् सरकार ! तलको पानी कसरी माथि फर्कन्छ र भन्नसम्म खोजेका हौँ ।’

‘अरू मलाई थाहा छैन, जसरी भए पनि फर्काउनू ।’

यति भनेर राजा आफ्नै धुनमा लागे । मन्त्रीहरूलाई आपत् पर्यो । सन्काहा राजाको अगाडि कसको के लाग्ने । राजाको अगाडि बाबाको दुहाई भन्ने त उखानै छ । न राजा कुनै कुरा सुन्ने पक्षमा थिए न हात बाँधेर बस्न सकिने अवस्था थियो ।

यत्तिकैमा उनीहरूले चतुरे (चतुर्भुज शर्मा) लाई सम्झे; जसले यसअघि पनि धेरैपटक अफ्ठ्यारो पर्दा सघाउँदै आएका थिए । त्यसैले उनीहरूले चतुरेसमक्ष गएर समस्या बताए । उनीहरूको कुरा सुनेपछि एकछिन सोचेजस्तो चतुरेले भने–

‘अहिले तपाईंहरू जानुहोस्, कुनै उपाय गरौँला ।’

मन्त्रीहरू आशाको त्यान्द्रो बोकेर फर्के, चतुरे उपाय सोच्नतिर । नभन्दै उनलाई एउटा उपाय सुझ्यो र भोलिपल्ट बिहानै त्यही बूढो खोलामा गएर गधा न्वाउन लागे । एकाबिहानै गधा न्वाउन लागेको देखेर गाउँलेहरूले सोधे–

‘होइन हो ! शर्माजी के गर्दैहुनुहुन्छ ? बिहानै गधा न्वाउन आउनुभएको छ त ?’

चतुरेले आफ्नै काममा व्यस्थ हुँदै उत्तर दिए–

‘यसलाई गाई बनाउन खोज्दैछु, हेर्नुस् न अहिलसम्म पनि बनेको छैन ।’

कुरा बुझ्न नसकेर गाउँलेहरू मनमनै चतुरे बौलाउन लागेछन् क्या हो भन्दै घरतिर लागे । कुरा फैलिएर एककान दुईकान हुँदै राजाको कानसम्म पुग्यो । गाउँलेको कुरामा विश्वास नलागेर उनै आफैँ हेर्न गए । चतुरे भने अहिलेसम्म पनि गधा नुहाउनमै व्यस्त थिए । त्यसपछि राजाले नजिकै गएर सोधे–

‘होइन ए ! चन्दने काठा बौलाउन लाग्यौ कि क्या हो । सुन्दैछु गधालाई नुहाएर गाई बनाउन खोज्दैछौ रे, होसमा त छौ ?’

‘हो महाराज ! होसमै छु ।’

‘होसमा भएर नै गधालाई नुहाएर गाई बनाउन खोजेका हौ त ?’

‘हो सरकार !’

‘गधालाई नुहाउँदैमा गाई बन्छ त ?’

‘बन्छ नि महाराज ! नबनेर सुख पाउला र ?’

‘त्यसैले त भनेको नि होसमा त छौ ? भनेर । गधा पनि नुहाएर गाई बन्छ कतै ?’

‘जब बेँसीको खोलो फर्काएर गाउँमा लान सकिन्छ भने गधालाई गाई बनाउन कसो नसकिएला र महाराज !  यदि सरकारले होसमै रहेर त्यस्तो आदेश दिनुभएको हो भने मैले पनि होसमै रहेर यी सब गरिरहेको छु । होइन भने सरकारको जस्तो अवस्था मेरो पनि त्यस्तै अवस्था ।’

बल्ल सनसिंहको आँखा खुल्यो । उनले तत्कालै आदेश फिर्ता लिँदै भने–

‘मैले भोगविलासमा अन्धो भएर देश र जनताको हिततिर ध्यान दिने काम गरिनँ । फलतः देशमा यस्तो अवस्था आयो । आज चतुरेले मेरो आँखा खोलिदिए, साधुवाद छ उनलाई । देश र जनतालाई साक्षी राखेर भन्दैछु  अब त्यस्तो हुने छैन । आफू पनि बाँकी जीवन इमानदारीपूर्वक देशको हितमा लगाउनेछु । आशा छ तपाईंहरूले पनि साथ दिनुुहुनेछ ।’

त्यसपछि राजा र मन्त्रीहरू चतुरेलाई धन्यवाद दिँदै घरतिर लागे, जनता आफ्नो कामतिर । त्यस दिनदेखि राजा आफ्नो कर्तव्य निर्वाहतिर लागे । जनताले पनि होस्टे हैँसे गर्दै राजाको काँधमा काँध दिए । मानिस पौरखी भएपछि प्रकृति मातालाई पनि दया लागेछ क्यारे समयमा पानी पर्न थाल्यो । देशमा पुनः हरियाली छायो । सबैले सुख पाए । त्यसपछि मानिसहरूले देशको नामै बदलेर पौरखपुर राखिदिए ।

भनाइ नै छ नि उद्योगी हातहरूका अघि असम्भव भन्ने केही पनि हुँदैन । पहरो पनि रसाउँछ मरुभूमि पनि टुसाउँछ ।   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।