शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

बुधबार, २० असोज २०७८, १९ : ५६
बुधबार, २० असोज २०७८

स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जीतका लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो ।

क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गरे भने सुरज गुरुङ र विजय गुरुङले समान एक÷एक गोल गरे । राइजिङका हेमन्त थापामगर, सुदीप गुरुङ र मिलन राईले दुई/दुई गोल गरे । खेलको ‘म्यान अफ दि म्याच’ स्पोर्ट्स क्यासलका किशोर गुरुङ चुनिए । उनले नगद रु पाँच हजार पुरस्कार पाए।

क्यासल लिग तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्लेअफ’मा पुगेको थियो । यस्तै राइजिङले पनि दोस्रो स्थानमा रहँदै ‘प्लेअफ’को यात्रा तय गरेको थियो । यसैगरी आज शङ्खमूल फुटसल क्लब र सविन मेमोरियलबीचको ‘इलिमिनेटर’ खेलमा शङ्खमूल विजयी भएको छ । शङ्खमूलले तीन/दुईको गोल अन्तरले खेल जित्न सफल भयो ।

शङ्खमूलका कृजल खड्काले दुई तथा जेनिश प्रजापतिले एक गोल गरे । शङ्खमूलले अब फाइनल प्रवेशका लागि बिहीबार ‘द राइजिङ’ क्लब धरानसँग खेल्नेछ । सविनका सरोज गुरुङ र मनोज गुरुङले गोल गरे । अखिल नेपाल फुटबल सङ्घले देशमा पहिलो पटक फुटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल असोज २२ गते सञ्चालन हुने आयोजकले जनाएको छ । 
 
लिगको विजेताले रु १० लाख, ट्रफी तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्ने लिग संयोजक एवं एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङले जानकारी दिए । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप