बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कोसी करिडोर २२० केभी प्रसारण लाइन : पहिलो खण्डको निर्माण कार्य सम्पन्न

बुधबार, २० असोज २०७८, १७ : ५१
बुधबार, २० असोज २०७८

कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन खण्डको निर्माण कार्य सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने कार्य हालै सम्पन्न भएको हो । 

नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्धारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रमको आयोजना गरी प्रशारण लाइनको चाबी हस्तान्तरण भएको छ ।  अनुमानित ११ करोड २० लाख अमेरिकी डलर लागत रहेको निर्माधिन प्रसारण लाइनको नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक दिएका सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ । 
कोसी करिडोर प्रसारण लाइनआयोजना मार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिने अनुमान गरिएको छ । साथै एक नम्बर प्रदेशका जिल्लाहरुमा विद्युत् विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने छ । 

करिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लि २५ फेब्रुअरी २०१६ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६ मा कार्यान्वयनमा आएको थियो ।  पहिलो प्याकेजको अनुमानित लागत ३ करोड ७३ लाख डलर अर्थात् करिब ४ अर्ब छ । 

दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२०/१३२/३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग ११ जुलाइ २०१८ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसनको निर्माण मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ ।  यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर अर्थात् करिब २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु  ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । १ सय ३२ वटा टावर निर्माण गर्नु पर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप