बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नम्बर प्लेटविनै चलाएका २ सय १९ वटा मोटरसाइकल पक्राउ

बुधबार, २० असोज २०७८, १५ : ४१
बुधबार, २० असोज २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २ सय १९ वटा मोटरसाइकललाई पक्राउ गरेको छ । महाशाखाले चलाएको ‘नम्बर प्लेटबिरुद्ध’ को कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १ सय ६५ वटा र नम्बर प्लेट अस्पष्ट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरु विरुद्ध विशेष चेकजाँच अभियानअन्तर्गत ती मोटरसाइकलहरु नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

विशेषगरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिएका मोटरसाइकलहरूले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।  त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समस्या हुने गरेको एसएसपी भट्टराईले बताए ।

त्यस्ता मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था समेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने, दुर्घटना गरे भाग्ने तथा चाडपर्व र भीडभाडको समयमा हुनसक्ने चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई रोक्न अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको भनाइ छ ।

तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५ सयदेखि १५ सय रूपैँयासम्म जरिवाना गर्ने गरेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप