शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हुथी विद्रोही र यमनी सेनाबीच भएको भिडन्तमा मर्नेको संख्या ८० भन्दा बढी

बुधबार, २० असोज २०७८, १४ : ५९
बुधबार, २० असोज २०७८

यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मंगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो ।

यसरी मारिने मध्येमा अधिकांश हुथी विद्रोही रहेका छन् । यसरी मारिनेमा ७४ जना हुथी विद्रोही लडाकू र अरु आठ जना यमनका सेना रहेका यहाँको सैन्य स्रोतले जानकारी दिएको छ ।  पछिल्लो २४ घण्टामा ७४ विद्रोही मारिएका छन्– सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । समाचारअनुसार अधिकांश विद्रोहीहरु मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् ।

पछिल्लो समय साउदीसमर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भिडन्तमा पछिल्लो पटक यो हताहत भएको हो । इरान समर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुनः आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सयौं मानिसको ज्यान गएको छ । यहाँ गएको हप्तामा पनि दर्जनौँ हुथी विद्रोही लडाकू मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप