बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चीनले कब्जा जमाए विनाशकारी परिणाम भोग्नुपर्ने ताइवानको चेतावनी

बुधबार, २० असोज २०७८, १४ : २४
बुधबार, २० असोज २०७८

ताइवानकी राष्ट्रपति साई इंग–वेनले चीनको बढ्दो आक्रामकतामाथि आफ्नो लोकतन्त्रको बचाउ गर्दै चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिएको खण्डमा यसको विनाशकारी परिणाम हुने चेतावनी दिएकी छिन् । साई इंग–वेनले फरेन अफेयर्समा एउटा लेख लेखेकी छिन् । यसैमा उनले यसबारे कुरा गरेकी हुन् । हालै चीनका ३८ लडाकू विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको थियो । मंगलबार ताइवानका प्रधानमन्त्री सु सेंग–चांगले चीनको यो आक्रामकता क्षेत्रीय शान्तिका लागि खतरा भएको र ताइवान सतर्क रहन आवश्यक भएको बताएका छन् ।

चीनको सेना पिपल्स लिबरेशन आर्मी अर्थात् पीएलएले अक्टोबर महिनाको पहिलो चार दिनमा लगभग १५० विमान ताइवानको हवाई क्षेत्रमा पठाएको थियो । चीनको मिडियामा यसलाई शक्ति प्रदर्शनको रुपमा हेरिएको छ तर संसारभरीका थुप्रै सरकारले यसलाई भय देखाउने र चीनको आक्रामकताको रुपमा लिएको छ । फरेन अफेयर्समा साई इंग–वेनले लेखेकी छिन्, ‘हामी शान्ति चाहन्छौं तर हाम्रो लोकतन्त्र र जीवनशैलीलाई खतरा पुगे ताइवान आत्मरक्षाका लागि जे आवश्यक ठान्छ, त्यो गर्नका लागि तयार छ ।’

ताइवानले संसारभरीका देशलाई चीनको व्यापक खतरालाई बुझ्नुपर्ने बताएको छ । ताइवानकी राष्ट्रपति साई इंग –वेनले भनिन्, ‘ताइवान यदि चीनको हातमा परेको खण्डमा यो क्षेत्रीय शान्तिका लागि विनासकारी हुने कुरा संसारले बुझ्न आवश्यक छ । यो लोकतान्त्रिक साझेदारीका लागि पनि विध्वंसकारी साबित हुनेछ ।’

यस्तै, ताइवानका रक्षामन्त्री चिउ कुओ–चेंगले पछिल्लो ४० वर्षमा चीन र ताइवानको सैन्य सम्बन्ध सबैभन्दा खराब स्थितिबाट गुज्रिएको बताएका छन् । ताइवानका रक्षामन्त्रीले चीनले सन् २०२५ सम्म ताइवानमाथि हमला गर्न सक्ने बताएका छन् ।

चिउ कुओ–चेंगले भने, ‘चीनसँग क्षमता छ तर युद्ध यति सहज हुने छैन । थुप्रै अन्य कुरामा पनि विचार गर्नुपर्ने हुन्छ । ’

यता चीनले ताइवान आफ्नै प्रान्त भएको र यसलाई आफ्नो नियन्त्रणमा लिनका लागि आफू प्रतिबद्ध भएको बताउने गर्छ । चीनले ताइवानलाई आफूमा सम्मिलत गर्न शक्तिको प्रयोग गर्नुपरे पनि यसबाट पछि नहट्ने बताउँदै आएको छ ।

तर साई इंग–वेन ताइवानलाई एक सम्प्रभु देश ठान्छिन् । ताइवानलाई भिन्नै रुपमा स्वतन्त्र घोषणा गर्न आवश्यक नभएको पनि उनी बताउँछिन् । उनले आफू युद्ध नचाहने बताउने गर्छिन् ।

साई इंग–वेनले आफ्नो लेखमा लेखेकी छिन्, ‘पीएलएको दैनिक घुसपेठपश्चात् पनि चीनसँग हाम्रो सम्बन्धमा परिवर्तन आएको छैन । ताइवान दबाबमा झुक्दैन । कुनै पनि दुःसाहसले हामीलाई डगमगाउन सक्दैन । ’

साईले लेखेकी छिन्, ‘संसारभरी ताइवानको साझेदारी बढिरहेको छ । ताइवान महत्वपूर्ण लोकतन्त्र, कारोबारी साझेदार र अन्तरराष्ट्रिय आपूर्तिकर्ता हो । ताइवान उत्तरी जापानदेखि बोर्नियो द्वीपसम्म फैलिएको एउटा महत्वपूर्ण द्वीप समूह हो ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप