बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आर्यन खान प्रकरण : रेव पार्टी के हो, ड्रग्सको प्रयोग किन ?

बुधबार, २० असोज २०७८, १४ : २३
बुधबार, २० असोज २०७८

भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई एक रेव पार्टीबाट गिरफ्तार गरेको घटना अहिले चर्चामा छ । आर्यनमाथि ड्रग्स खरिद र सेवन गर्ने गरेको अभियोग छ । ​आर्यनको जमानतबारे सोमबार सुनुवाइ भएको थियो, तर उनलाई बिहीबारसम्म एनसिबीको हिरासतमा राख्न आदेश दिइयो । कोर्डेलिया क्रुजमा भएको कथित रेव पार्टीका कारण आर्यन खानसँगै आठ अन्य व्यक्ति पनि हिरासतमा पुगेका थिए । जसकारण, रेव पार्टी र यसमा ड्रग्सको प्रयोगबारे चर्चा सुरु भइसकेको छ ।

रेव पार्टी के हो ?
रेव पार्टीहरु गुपचुप तरिकाले आयोजना गरिन्छ । यसमा ड्रग्स, मदिरा, संगीत, डान्स र कहिलेकाँही सेक्स पनि हुन्छ । एनसिबीका एक अधिकारीले नाम गोप्य राख्ने शर्तमा बीबीसी हिन्दीसँग भनेका छन्, ‘रेव पार्टीहरु पार्टी सर्कलमा जोडिएका केही सिमित मानिसहरुका लागि आयोजना गरिन्छ । यस्ता पार्टीहरूमा नयाँ मानिसहरुलाई आउने अनुमति दिइएको हुँदैन । यसको जानकारी बाहिर नजाओस् भनेर यस्तो गरिन्छ ।’

ड्रग्स बेच्ने र किन्नेहरुका लागि रेव पार्टी सुरक्षित स्थान मानिन्छ । एनसिबीका एक अधिकारीका अनुसार रेव पार्टीहरुमा ठूलो मात्रामा ड्रग्सको खपत हुन्छ ।  
क्रुजमा भएको रेव पार्टीबाट एनसिबीले १३ ग्राम कोकिन, पाँच ग्राम मेफेड्रोन र २२ ट्याबलेट एक्सटेसी बरामद गरेको छ । ती अधिकारीले भने, ‘रेव पार्टीहरुमा एक्सटेसी, केटामाइन, एमडीएमए, एमडी र चरेस पनि प्रयोग हुन्छ ।’

ड्रग्स लिनेहरु लामो समयसम्म एउटै र उस्तै मुडमा रहुन् भन्ने उद्देश्यले यस पार्टीमा तेज आवाज र इलेक्ट्रिक ट्रान्स म्युजिक चलाइएको हुन्छ । मानिसहरु ड्रग्स लिन्छन् र यस संगीतमा झुम्छन् । 
रेव पार्टीहरु २४ घण्टादेखि तीन दिनसम्म चल्ने गरेका छन् । 

एनसिबीका एक अधिकारीले भने, ‘यहाँ एक खास तरिकाको म्युजिक सिस्टम हुन्छ । ताकि, इलेक्ट्रिक ट्रान्स म्युजिकलाई तेज आवाजमा चलाउन सकियोस् ।’
लेजरबाट रंगीन फोटोहरु, भिजुयल इफेक्ट्स र धुवाँ निकाल्ने मेसिनको प्रयोग पनि रेव पार्टीहरुमा हुने गर्छ । छापा मार्ने अधिकारीहरुसँगै गएका एक व्यक्ति भन्छन्, ‘रेव पार्टीहरुमा चल्ने गीतमा निकै कम शब्द हुन्छन् । ट्रान्स म्युजिक एक काल्पनिक वा भ्रमित गर्ने वातावरण पैदा गर्छ र मानिसहरुलाई त्यो राम्रो लाग्छ ।’

यी पार्टीहरुको योजना बनाउनेदेखि आयोजना सञ्चालन गर्ने समयसम्म कोड भाषाको प्रयोग हुन्छ ।  मुम्बई पुलिसका अवकाशप्राप्त अधिकारी समाधान धनेधरका अनुसार कसैलाई कुनै शंका नहोस् भन्नका लागि यी पार्टीहरू दूर दराजमा आयोजना गरिन्छ । भारतमा खन्डाला, लोनावला, करजात, खालापुर, पुणे र यस्तै स्थानहरुमा प्राय रेव पार्टीहरु आयोजना हुने गरेको छ । 

पार्टीमा कसरी मानिसहरुलाई बोलाइन्छ ?
रेव पार्टीहरु निकै गुपचुप तरिकाले आयोजना हुन्छ । त्यसैले सुरक्षा निकायहरुको आँखाबाट बच्नका लागि धेरै उपाय अपनाउने गरिन्छ । 

रेव पार्टीमा मानिसहरुलाई बोलाउनका लागि सोशल मिडियाको सहारा लिइन्छ र कोड भाषाको प्रयोग गरिन्छ । पुलिसका सुराकी आदिल शेख (नाम परिवर्तन) ले एनसिबीलाई दुईवटा रेव पार्टीको सुचना दिएका थिए । आदिल भन्छन्,‘रेव पार्टीको जानकारी दिनका लागि पछिल्लो केही वर्षहरुमा सोशल मिडियाको प्रयोग निकै बढेको छ । यी पार्टीहरुको हिस्सा रहेका मानिसहरुको एउटा समूह हुन्छ, जसले अन्यलाई पार्टीबारे जानकारी दिन्छन् ।’

रेव पार्टीमा ठूलो रुपमा ड्रग्सको प्रयोग हुने भएकाले जंगला वा त्यससँग जोडिएका इलाका वा प्रहरीले नदेख्ने ठाउँमा यस्ता पार्टी आयोजना हुन्छन् । समाधान धनेधर भन्छन्,‘पार्टीका आयोजकहरुले यसका लागि गोप्य कोडको प्रयोग गर्छन् । यी पार्टीहरुमा कुनै व्यक्तिले चाहदैंमा सहभागी हुन पाउँदैनन् ।’

रेव पार्टीहरुमा निकै कम मानिस बोलाइन्छन् र उनीहरुलाई छनोट गरिएको हुन्छ । यी पार्टीहरुमा सहभागी हुनका लागि हजारौं–लाखौं खर्च गर्नुपर्ने हुन्छ । त्यसैले सामान्य व्यक्तीहरु यसमा जान पनि सक्दैंनन् । यो धनीहरुका लागि हो । 

तर, पछिल्ला केही वर्षयता भारतका मध्यमवर्गीय युवाहरु पनि आफ्ना धनी साथीहरुसँगै यस पार्टीको हिस्सा बन्ने गरेका छन् । रेव पार्टीहरु १९८० को दशकमा युवाहरूबीच निकै लोकप्रिय थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप