आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

बुधबार, २० असोज २०७८, १३ : ४०
बुधबार, २० असोज २०७८

कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने  कार्य सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्वारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरिएको छ ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ ।

कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब १००० मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब १००० मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब २००० मेगावाटविद्युत प्रसारण गर्न सकिन्छ । साथै एक नम्बर प्रदेशका जिल्लाहरुमा विद्युत् विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने छ । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । 

करिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार  २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लि २५ फेब्रुअरी २०१६मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६मा कार्यान्वयनमा आएको थियो ।  पहिलो प्याकेजको  अनुमानित लागत ३ करोड ७३ लाख डलर (करिब ४ अर्ब) छ ।

दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२०÷१३२÷३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग ११ जुलाइ २०१८मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसको निर्माण मार्च २०२२भित्र सक्ने लक्ष्य राखिएको छ ।  यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर (करिब २ अर्ब ९१ करोड) छ ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु  ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । १ सय ३२ वटा टावर निर्माण गर्नु पर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप