पुँजीवाद, दलाल पुँजीवाद र नेपाली समाज

person explore access_timeअसोज २०, २०७८ chat_bubble_outline0

सामन्तवादी राज्य सत्ताको रूपान्तरित व्यवस्था पुँजीवादी व्यवस्था हो । यस व्यवस्थामा अधिकांश जमिनका मालिक, मुखिया र सामन्तहरू नयाँ ढङ्गको (औद्योगिक) योजनासहित सहभागी भएका हुन्छन् । स्वतन्त्र आर्थिक क्रियाकलाप, उद्योगपतिद्वारा राजनीतिमा हस्तक्षेप, राज्य सत्तामा सम्भ्रान्त वर्गको विशेष स्थान र पुँजीपतिहरूको प्रमुख भूमिका पुँजीवादी व्यवस्थाका मुख्य विशेषता हुन् । ९० को दशकमा सोभियत कम्युनको पतन भएदेखि एकलौटी रूपमा पुँजीवाद विश्व थर्काउने व्यवस्थाका रूपमा परिचित छ । यसलाई पुँजीवादी साम्राज्यवादको नामले चिनिन्छ ।

विश्व नियन्त्रण गर्ने पुँजीवाद र पुँजीवादी व्यवस्थाको थालनी १६ औँ शताब्दीतिर सुरु भए पनि परिपक्व, मजबुद र सशक्त रूप धारण भने १७ औँ शताब्दीको अन्त्य र १८ औँ शताब्दीदेखि भएको इतिहासले देखाउँछ । झन्डै तीन सय वर्षको लामो अभ्यासपछि बेलायतमा सशक्त रूपमा देखापरेका पुँजीवादी व्यवस्था बेलायतपछि युरोपका प्रायः सबै देशलाई प्रभाव पर्न सफल देखिन्छ ।

सम्पत्ति सङ्कलनलाई राजनीतिक दृष्टिकोणबाट मात्र नहेरी मानवीय स्वभावको कोणबाट हेर्ने हो भने मान्छेले बाँच्नका लागि धन, सम्पत्ति एवं बहुमूल्य सामान सङ्कलन गर्न खोज्छ र गरिरहेका पनि छन् । यो प्रकृति र मानवबीचको सन्तुलनको निम्ति स्थापित अवस्था वा मानवीय स्वभाव पनि हो । त्यसकारण अधिकतम धन सम्पत्ति सङ्कलन मानवीय स्वभाव र प्राकृतिक नियम जस्तै भएपछि पुँजीवाद झाँगिदै जानु स्वाभाविक हो ।

पुँजीवादको संस्थागत विकास बेलायतको औद्योगिक क्रान्तिसँगै भएको भए पनि सैद्धान्तिक मान्यताको प्रारम्भ भने आदम स्मिथले गरेका हुन् । पुँजीवाद अर्थशास्त्रीका रूपमा प्रख्यात स्मिथले नै धन, सम्पत्ति र पुँजीको आवश्यकता र महत्त्व दर्साएका हुन् । राज्यले पुँजी सङ्कलन, सञ्चिति र लगानीको अवसर व्यक्ति र समूहलाई प्रदान गर्नुपर्छ भन्ने मान्यता उनको थियो । राष्ट्रिय पुँजी निर्माण गर्नु पुँजीवाद सहायक हो भन्ने धारणा अनुरूप नै राज्यले आर्थिक नीति नियमहरू निर्माण गर्दै खुला आर्थिक क्रियाकलापको मार्गबाट राज्य हिँड्न थाल्यो । यही क्रममा पुँजीवाद र पुँजीवादी व्यवस्थाको संस्थागत विकास भयो ।

जस्तै पछिल्लो समयमा धनी राष्ट्रहरूको सङ्गठनहरूमध्ये जी ७, जी २०, विश्व बैङ्क, अन्तर्राष्ट्रिय आर्थिक सङ्गठन र अरू बहुराष्ट्रिय कम्पनीहरू पुँजीवाद धान्नका लागि निर्मित संस्थाहरू यसका उदाहरण हुन् । यसैगरी पूँजीवादले स्वरूप परिवर्तन गर्दै कहिले जलवायु परिवर्तन त कहिले मानवीय सङ्कट समाधानको रूपमा प्रस्तुत हुने गर्दछ । यी लगायत अरू धेरै नयाँ नयाँ रूपमा पूँजीवादले विश्वलाई फन्को लगाइरहेका छन् ।

औद्योगिक अराजकताले मजदुरको दमन र शोषण गर्याे । त्यसको विरुद्धमा मजदुर युनियन, औद्योगिक क्रान्तिसँगै विकसित मजदुर आन्दोलन, द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको व्यापक प्रचार, वर्ग सङ्घर्षको मानसिकताको विकास, अतिरिक्त मूल्यको सिद्धान्तको अव्यावहारिक प्रयोग, ठूलठूला उद्योग स्थापनामा बिक्री र पुँजीको भूमण्डलीकरणको कारण विश्वमा पुँजीवाद नयाँ–नयाँ स्वरूपमा प्रस्तुत भइरह्यो । साम्राज्यवादी मुलुकले पहिले भूगोल (देश) मजदुर र दास सङ्कलन गर्दै राजनीतिक साम्राज्य फैलाए झैँ आज शक्तिशाली, धनी र औद्योगिक राष्ट्रले विश्वका गरिब, विकासोन्मुख र कम विकसित मुलुकलाई नयाँ शैलीमा दासत्व स्वीकार गर्न बाध्य पार्दै पुँजीवादी साम्राज्य सञ्चालन गरिरहेका छन् ।

पुँजीवादको विरुद्धमा वर्गीय युद्धको घोषणा किन पटक पटक भइरहन्छ ? क्रान्तिकारीहरू दलाल पुँजीवादीहरूसँग किन सधैँ द्वन्द्वात्मक अवस्थामा खडा हुन्छन् ? क्रान्तिकारी भन्नेहरू पनि दलाल, अवसरवादी भ्रष्टीकरणको मार्गमा कसरी पुग्छन् ? भन्ने प्रसङ्गहरू कोट्याउँदै नेपाली समाजमा पुँजीवाद र पुँजीवादी व्यवस्था कसरी भित्रियो ? नेपालका पार्टीहरूको पुँजीवादसँगको सम्बन्धको बारेमा चर्चा गरौँला ।

मूलतः पुँजीवाद नेपालमा उदारीकरणका रूपमा २०४६ सालको परिवर्तनसँगै समाजवादको आधार संरचना निर्माणको उद्देश्यले नेपाली काँग्रेसको नेतृत्वमा गठित सरकारले ल्याएको हो । यो आर्थिक सुधारको कार्यक्रम हो । समाजवाद निर्माणको हेतुले विकास कार्यक्रमका रूपमा ल्याइएको भए पनि मिश्रित (पुँजीवादी र समाजवादी) व्यवस्था अराजक हुँदै समाजवादको आधार निर्माण गर्नुभन्दा समाजवादको आधार स्तम्भहरू जरैदेखि भत्काउने काममा तात्कालीन सरकारहरू व्यस्त भएको देखिन्छ । जस्तो–निःशुल्क शिक्षा, स्वास्थ्य र सहुलियत मूल्यमा प्रदान गरेको सार्वजनिक यातायातको व्यापार त्यसका उदाहरण हुन् ।

समाजवादी आधारको विरुद्ध गरिएका अराजक क्रियाकलापहरूले प्रजातान्त्रिक समाजवादलाई लात मार्ने काम मात्र भयो । सत्ता स्वार्थका कारण विजातीय पार्टीहरूसँग सरकार गठन (प्रजातन्त्रवादी, पञ्चे, जबज) का कारण पुँजीवाद मौलाउने अवसर पायो । तात्कालीन समयमा सबै पार्टी (काँग्रेस, एमाले, राप्रपा) लगायत साना कदका कम्युनिस्ट पार्टीहरूको कारण पुँजीवाद हुन्डरीझैँ आयो । सबै मिलेर पुँजीवादी व्यवस्थालाई भित्र्याए । पूँजीवादसँगै दलाल पुँजीवाद पनि सँगै आयो ।

दलाल पुँजीवादसँग वामपन्थीहरूको सम्बन्ध: मार्क्सवादलाई गतिशील विज्ञान मान्ने नेपालका कम्युनिस्ट पार्टी र वामपन्थीहरू सानोतिनो सङ्कट, बाधा व्यवधान, समस्या आउनासाथ आत्तिएर जङ्गल पस्ने, सशस्त्र क्रान्ति गर्ने, वर्ग सङ्घर्षलाई अझै सशक्त बनाउने भन्न थालिहाल्छन् । जनवादी क्रान्तिको पुरानो जोस पुनर्ताजगी गर्न थालिहाल्छन् । तर सङ्घर्षको बलले प्राप्त उपलब्धिलाई जनताको निम्ति जोगाइ राख्न सक्दैनन् । जनताको सेवामा समर्पित हुने बेलामा सानातिना अप्ठ्याराको सामना गर्न असफल हुन्छन् । किनभने कम्युनिस्टहरू कुनै कुनै बिन्दुमा दलाल पुँजीवादसँग ठोक्किँदै तालमेल र समर्पित हुन पुग्छन् ।

यो नेपालको कम्युनिस्टको मात्र रोग होइन, विश्वका कम्युनिस्ट आन्दोलनको व्यथा हो । ०४६ पछि एमालेको अवस्था त्यसको उदाहरण हो किनभने एमालेको कार्यदिशा जनताको बहुदलीय जनवाद न कम्युनिस्ट विचारधारा हो, न मार्क्सवादी आदर्शको उत्पादन नै हो । जबज त पुँजीवादी लिगमा चल्ने बुलेट ट्रेन थियो; जसले सिङ्गो एमालेलाई पुँजीवाद र दलाल पुँजीवादको स्टेसनमा पुर्यायो ।

अर्काेतिर माओवादीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संसदीय मैदानलाई पुँजीवादी क्रान्तिको तयारीका रूपमा प्रयोग गर्न खोज्दा दलाल पुँजीवादीहरूको घेराबाट निस्कन सकेन । मूलतः माओवादी पनि २१औँ शताब्दीको जनवाद भन्दै लोकतान्त्रिक व्यवस्थामा घुलित हुन पुग्यो । जनवादी क्रान्तिको लक्षबाट विमुख हुन पुग्यो । किनभने दलाल पुँजीवादको घेराबन्दीबाट जनवादी क्रान्तिकारीहरू उम्कन असफल भए ।

फलस्वरूप माओवादीहरू नै विभिन्न टुक्रामा टुक्रिए । संसदीय लोकतन्त्रमा आएर कम्युनिस्ट एकताको बृहत योजना र मार्गचित्र बनाए पनि त्यो एकता केही वर्ष पनि टिक्न सकेन । क्रान्तिकारी एकता पुँजीवाद क्रान्तिको प्रथम चरणमै क्षतविक्षत भयो ।

कुबेलामा पुँजीवादी क्रान्तिको उद्घोष गर्दा पार्टीभित्र उत्पन्न सैद्धान्तिक अन्तरविरोध अनियन्त्रित र व्यवस्थापन गर्न नसक्दा माओवादी पार्टी विभिन्न गुटमा विभाजित हुँदै दलाल पूँजीवादसँग आत्मसमर्पण गर्न पुगे । साना कदका क्रान्तिकारी कम्युनिस्टहरू जनवाद, वैज्ञानिक समाजवादको लक्ष्य फलाकिरहेका छन् । तर उनीहरू पनि दलाल पुँजीवादको घेराबाट उम्कन सक्छन् कि सक्दैनन्, हेर्न बाँकी छ । नयाँ कुरा नवगठित एकीकृत समाजवादी पार्टीको कुरा छ । यो दलाल पुँजीवादीहरूले नै निर्माण गरेको पार्टी भएको हुँदा त्यस पार्टीको दलाल पुँजीवादसँग सम्बन्धको बारेमा ज्यादा कोट्याउनु पर्दैन ।

लोकतन्त्रसँग दलाल पुँजीवादको सम्बन्ध लोकतन्त्र भन्ने बित्तिकै मान्छेको व्यक्तिगत स्वतन्त्रता र अरू विभिन्न क्रियाकलापसँग सम्बन्धित महत्त्वपूर्ण कुराहरूको समावेश भएको व्यवस्थालाई बोध गराउँछ । मान्छेको क्षमता र स्वतन्त्रताको उच्चतम प्रयोगले लोकतन्त्रको स्तर कस्तो भन्ने हेर्ने विश्वव्यापी मान्यता छ ।

जहाँ लोकतन्त्रसम्म आर्थिक क्रियाकलाप जस्तो महत्त्वपूर्ण पाटोलाई नियन्त्रण गर्न नमिल्ने हुनाले स्वतन्त्र आर्थिक क्रियाकलाप पुँजी र पुँजीको आदान प्रदानमा कुनै कठिनाइ हुने त कुरै भएन । लोकतान्त्रिक व्यवस्थाको संरक्षणमा दलाल पुँजीवाद हुर्किएको हुँदा लोकतान्त्रिक पार्टीहरूले दलाल पुँजीवादको गतिविधिलाई त्यतिसारो अमान्य, असहज र असजिलो महसुस गर्दैनन् ।

त्यसो भनिरहँदा लोकतन्त्र दलाल पुँजीवादको प्रवद्र्धन केन्द्र भन्न खोजेको होइन । लोकतन्त्रमा आर्थिक क्रियाकलाप खुकुलो हुन्छ भन्न खोजेको हो । जहाँसम्म नेपालको सन्दर्भमा लोकतान्त्रिक पार्टीको दलाल पूँजीवादसँग कस्तो सम्बन्ध हुन्छ भन्ने कुरामा केन्द्रित भइरहँदा पुँजीको भूमण्डलीकरण बिना देश विकास गर्न सकिँदैन भन्ने मान्यता नेपाली काँग्रेस, संशोधनवादी कम्युनिस्ट एमाले, पुँजीवादी क्रान्तिको तयारी गर्ने माओवादी केन्द्र पार्टी र अवसरवादी दक्षिणपन्थी पार्टीको एकै स्वर भएपछि दलाल पुँजीवाद र संसदीय लोकतान्त्रिक पार्टीहरूको सम्बन्धको बारेमा अरू धेरै बेलिबिस्तार लगाउनुपर्दैन । किनभने सबै पार्टीहरू दलाल पूँजीवादबिना गतिशील हुने अवस्थामा देखिँदैनन् ।

नेपाली समाजसँग दलाल पुँजीवादको सम्बन्ध स्वाधीन, सार्वभौम र स्वतन्त्र नेपाली जनता राजनीतिक रूपमा जति स्वतन्त्र, तन्दुरुस्त र आत्मिक छन् आर्थिक पक्षमा सबल, सक्षम र सशक्त छैनन् । जबसम्म आर्थिक रूपमा जनता सक्षम हुँदैनन् तबसम्म समाजमा आधारभूत अन्तरविरोध चर्किरहन्छ ।

त्यो अन्तरविरोधले कुनै न कुनै रूपमा समाजलाई एउटा ध्रुवमा ध्रुवीकृत बनाउँछ । यदि जनताको आकाङ्क्षा र राज्य सरकारको आर्थिक योजनामा मेल खायो भने जनता र सरकारबीच अन्तरविरोध कम हुन जान्छ । तर त्यसको ठीक उल्टो भयो भने अन्तरविरोध चर्किँदै जान्छ ।

नेपालको सन्दर्भमा सरकार पुँजीवादी क्रान्तिको चरणमा छ भने जनता पनि पुँजीप्रति आकर्षित भइहाल्छन् । पुँजीप्रति जनताको आकर्षण हुन्छ भने जनता स्वयं दलाल पूँजीवादलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्दै विभिन्न उपायहरू खोज्न थाल्छन् । राज्य सरकार कमजोर, पराधीन, परनिर्भर एवं आर्थिक रूपले जर्जर र धराशायी छ भने शक्तिशाली देशसँग लम्पसार पर्नुको विकल्प रहँदैन र दलाल पूँजीवादसँग विभिन्न खालको सम्झौता गर्न तयार हुन्छन् ।

जस्तो कि नेपालमा उत्पादन हुने जनशक्ति नेपाली बजारमा खपत गर्न नसक्दा त्यसको व्यवस्थापन गर्न अरू विदेशी मुलुकमा बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्था निर्माण हुनु त्यसको उदाहरण हो । यीबाहेक भौतिक पूर्वाधारहरू निर्माणको निम्ति बाह्य राष्ट्रहरूसँग गरिएका विभिन्न सम्झौताहरू पल्टाउने हो भने त नेपालको राज्य सरकार दलाली प्रवद्र्धन गर्ने महाशाखा जस्तै देखिएको छ । त्यसकारण जुन देशको सरकार दलाल, दलाल पुँजीवाद, पुँजीवादीहरूसँग लम्पसार हुन्छ भने त्यो देशका जनताको सम्बन्ध निश्चय नै कारुणिक र दयनीय हुन्छ नै ।

समग्रमा औद्योगिक क्रान्तिसँगै स्थापित पूँजीवादले पुँजीवाद र दलाल पुँजीवादी व्यवस्थालाई कायम गर्दै विश्वमा आर्थिक साम्राज्य फैलाउन सफल देखिन्छ । जनवाद र साम्यवादले पूँजीवादलाई सधैँ चुनौती दिए पनि नयाँ नयाँ तरिकाले सामना गरेकै कारण पुँजीवाद आजसम्म लोकप्रिय बनेको छ । त्यस कारण विश्व समुदाय, नेपालका पार्टीहरू र नेपाली समाज पुँजीवाद नतमस्तक छ । जय नेपाल ।

-लेखक काँग्रेसका नेता हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।