आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

ओलीले सार्वजनिक गरे दसैं, तिहार गीत

बुधबार, २० असोज २०७८, ०८ : २८
बुधबार, २० असोज २०७८

घनश्याम ओलीको रचनामा भर्खरै दसैं, तिहार गीतको म्युजिक भिडियो बजारमा आएको छ । एसपी म्युजिकको प्रस्तुति रहेको गीत ‘दसैं तिहार आयो’ सार्वजनिक भएको हो । दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा चर्चित गायक प्रताप दास र सुनीता दुलाल सन्जेलले स्वर भरेका छन् । राजेन्द्र बजगाईंको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए–वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गराएका हुन् ।

स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोको छायाँकन सुरेश श्रेष्ठले गरेका हुन् । भिडियोमा महेन्द्र गौतम र सुनीता दुलाल सन्जेलको प्रमुख अभिनय रहेको छ । भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेको हुन् । 

दशैं, तिहारलाई लिएर धेरै गीतहरु बजारमा आइरहेकै छन् । तर यस गीतमा गीतकार ओलीले आफ्ना परम्परा,  मूल्य, मान्यताका अहम भावहरुलाई उच्चतम महत्व दिएर आधुनिकताको सुनौलो आयाममा गीतका अभिव्यन्जनाहरुलाई अलि पृथक रुपमा पस्केका छ्न।आज डिजिटल दुनियाँ र नयाँ  पुस्तालाई दसैं, तिहारको महत्व दर्शाउन यी पर्वहरुको ऐतिहासिकता बुझाउँदै कृषिप्रधान देश  र दसैं महिमा गाएको यो गीतले तिहारमा देउसी भैलो, दिदी, भाइप्रतिको आपसी सम्मान, माया र प्रेमको कुरालाई पनि सुन्दर रुपमा  उजागर गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण ओली साहित्यमा गहिरो दिलचस्पी राख्ने एक कुशल सर्जक हुन् । 

ओलीले यसअघि तीजको गीत निकालेर सांगीतिक बजारमा तहल्का मच्चाइसकेका छन् । उनको तीजको गीत नेपाली सांगीतिक बजारमा चर्चित गीतको रुपमा स्थापित भैसकेको छ।  अत्यन्तै मेहनतका साथ तयार गरेको यस  गीतका हरेक हरफहरुमा आफ्नोपन, भिर, पाखा, पखेरा अनि गाम बेंसीको तस्बिर अनि नेपालीहरुको रहनसहन, परम्परा र हजारौं वर्षको सभ्यता झल्किएर आएको छ ।

आदरणीयजनहरुको आत्मीयता र आशिर्वचनको श्रृङखलाका मिठासहरु दसैंमा र दिदी भाइहरुको असिम माया, आत्मीयता र अनुराग तिहारमा झल्किएको छ । ओलीले गीतमा शब्दहरुको उठान गर्ने सिलसिलामा बाबुआमा, छोराछोरीको एक आपसमा प्रकट हुने प्रेमका लालित्य अत्यन्तै सुन्दर र मर्मस्पर्शी रुपमा प्रकट गरेका छन् ।

गीतमा भावुक हुँदै ओली आफ्ना भावहरु यसरी प्रकट गर्छन्–

बाबाआमा छोराछोरी कुर्दै बसेका छन् ।
छोराछोरी घर जान कम्मर कसेका छन् ।
रंगीचंगी फूलहरु फुले फूलबारीमा ।
लह लह धानका बाला झुले खेतबारीमा ।

गीतकार ओलीशब्दहरुको  छनौट अनि शब्दहरुमा कला भर्न अत्यन्तै सिपालु र माहिर छन् । सरल शब्दहरुद्वारा अत्यन्तै उच्च अभिव्यक्ति र सन्देश प्रवाह गर्ने क्षमता भएका ओली गाउँ बस्तीमा विचरण गर्न रुचाउँछन् । शब्दहरुको उचित चयनले व्यापक अर्थको मायामठ तयार गर्नु उनको कौशलता र इमानदारिता पनि होला ।
एकछिन यी हरफहरु हेरौं–
हर्ष, खुसी उमंग होस् अनि शान्ति मनको ।
आशीर्वाद मिलोस् हाम्लाई सबै मान्यजनको ।
सब्को शिरमा जमरा होस् निधारमा टीका ।
हाँसीखुसी बसौं सबै नहोस् दसैं  फिका ।

यसरी गीतकार ओली हाम्रा सामाजिक मूल्य, मान्यता, कर्तव्य, धर्म संस्कार र पूर्वजहरुको विरासतलाई आफ्ना लयहरुमा दिल खोलेर पस्किन सफल भएका छन् । हजारौं वर्षअघिदेखि चलिआएका यी चाडपर्वको गरिमा नयाँ  पुस्तामा छर्दै जान, सार्दै जान ओलीका यी सुन्दर गीति लयहरु काफी छ्न । त्यस्तै उनका शब्दहरुमा प्रकृति,मौसम, हरियाली अनि फूलको सौन्दर्यसँग मानव मनका अन्तरंग भावहरु झिल्मिलाएर आएका छन् । त्यसैले त तिहारको सुन्दर मौसम र चन्चल पवनको अपार मिठासभित्र देउसे र भैलेका लयहरु सुनिन्छन् जताततै जस्तो–

लक्ष्मीपूजा झिलीमिली बले दियो बाती ।
भाका पारी नाच्दै आए भैलेनीका ताँती ।
देउसे भैले देउसिरेका गाउँदै हिँड्छ्न गीत ।
भाइटीकाले दिदी भाइको बढाउँछ प्रीत ।

यसरी गीतकार ओलीका शब्दहरुमा दिदीभाइको आत्मीय पवित्र प्रेम अनि मायाको अनुपम सिलसिला पनि उत्तिकै सशक्त भएर आएको छ। गीतकारओलीले नेपालका दुई मुख्य चाडको गरिमा, महिमा, महत्व र यसको ऐतिहासिकतालाई गीतमा  कुँदेर आफ्नो विशिष्ट सृजनशिलतालाई यस गीतमा अवतरण गराएका छन् ।

नजिकिँदै गरेका चाडपर्वहरुलाई अत्यन्तै माया अनि सम्मान  गर्दै  विश्वका नेपालीहरुमाझ यति सुन्दर, मौलिक र अर्गानिक गीत पस्केर नेपाली वाङमयलाई धनी बनाउने घनश्याम ओलीको जिउँदोजाग्दो प्रयासको म तारिफ गर्न चाहन्छु । ओलीले नेपाली सांगीतिक आकासमा यो रचनामार्फत आफ्नो मौलिकता, परम्परा र राष्ट्रियताका भाकाहरुलाई मुखरित गर्न सफल भएका छन् भन्दै यो गीतको भव्य सफलताको कामना गर्दछु । सर्जक ओलीबाट नेपाली सांगीतिक जगतले यस्तै थुप्रै गीतहरुको अपेक्षा गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप